रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले’ « Khabarhub

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले’


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पारसमणि गेलाल पछिल्लो समय आफ्ना अभिव्यक्ति र सामाजिक सञ्जालका पोस्टका कारण विवाद र चर्चामा छन्।

निर्वाचित भएको केही महिनामै उनी मतदातामाझ विवाद र आलोचनाका पात्र भएका छन् । गत साउन ९ गते जिल्लाका मतदातासँग उनको तितो मिठो भयो । उनलाई मतदाताले चाउचाउको कुपनमा परेर सांसद भएको संज्ञासमेत दिए ।

तर उनैलै आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो जिल्लाका मतदातालाई सम्बोधन गर्दै विगतमा ‘चिया, बिस्कुट, मासु, भात र खाममा पैसा’ लिनेहरू भनिदिएका छन् । त्यसरी विगतमा बिकेकाहरू अहिले चार महिनामै आफूविरुद्ध विरोधमा उत्रिएको टिप्पणी उनले गरेका छन् । उनको यो टिप्पणीपछि मतदाताले सामाजिक सञ्जालमै प्रश्न र आलोचना गरेका छन्।

गेलालले आइतबार फेसबुकमा लेख्दै आफूलाई विश्वास गरेर निर्वाचित गराउने मतदाताको शिर झुक्ने काम नगर्ने दाबी गरेका छन्। उदयपुरको भौतिक, शैक्षिक तथा पर्यटकीय विकासका लागि कनेक्टिभिटी विस्तारमा आफूहरू लागिपर्ने उनको भनाइ छ।

उनले लेखेका छन्, ‘आदरणीय मतदाताज्यूहरूको विश्वासको मतले हजुरहरूको शिर झुकाउने दिन कदापि आउन्न, बरू हिजो विश्वास गर्न नसक्नु भएका इमान्दार र बौद्धिक मतदाताहरूले विश्वास गर्ने दिन आउनेछ।’

गेलालले आफूविरुद्धको आलोचनालाई ‘डाहा’को संज्ञा दिँदै उदयपुरको विकास गरेरै छाड्ने दाबी गरेका छन्। उनले लेखेका छन्, ‘डाहा गरेर छाती भतभत पोले पनि उदयपुरको भौतिक, शैक्षिक, पर्यटकीय विकासको लागि कनेक्टिभिटीको उच्च विकास गरेरै छाड्छौँ।’

त्यसपछि उनले विगतमा राज्यको दोहन गरेर भ्रष्टाचार गर्ने र निर्वाचनका बेला विभिन्न किसिमका प्रलोभनमा पर्नेहरू अहिले आफूविरुद्ध लागेको आरोप लगाएका छन्।

‘हिजोको दिनमा राज्यको दोहन गरेर भ्रष्टाचार गरी चिया, बिस्कुट, मासु, भात र खाममा पैसा पाएकाहरू आज ४ महिना नबित्दै विरोधमा उत्रन्छन्, ढुक्क हुनुस् अब ती दिन गए, बरू आफ्नो कर्ममा लाग्नुस्,’ उनले लेखेका छन्।

गेलालले आफूहरू ‘विकासवादी नेताको पहिचान बदल्न’ आएको भन्दै भविष्यमा विकासको हिसाब दिने बताएका छन्।

तर, उनको यही स्टाटसमा आएका प्रतिक्रियाले भने सांसद गेलाललाई थप असहज बनाएको देखिन्छ। कतिपय मतदाताले उनलाई सामाजिक सञ्जालमा स्टाटस लेखिरहनुभन्दा विकासका काम गरेर देखाउन सुझाव दिएका छन् । कतिपयले सांसदको मर्यादा र जिम्मेवारी सम्झाएका छन्।

‘फेसबुकमा लेखेर विकास हुँदैन’

गेलालको स्टाटसमा प्रतिक्रिया दिँदै लिलबहादुर बस्नेतले अर्को नेता गाउँघर हिँडेको वा विकास तथा समस्या समाधानको कुरा गरेको देखेर हरेक दिन स्टाटस हाल्न आवश्यक नरहेको बताएका छन्।

उनले सांसद गेलाललाई काममा लागेर परिणाम देखाउन आग्रह गरेका छन्।‘माननीयजी, अर्को नेता गाउँघर हिँडेको देखेर, अर्कोले विकास/समस्या समाधानको कुरा गरेको देखेर हरेक दिन स्टाटस हाल्नु पर्दैन। तपाईं विकासका काममा लाग्नु र परिणाम देखिने गरी निकाल्नु,’ बस्नेतले लेखेका छन्।

उनले गेलालका सामाजिक सञ्जाल पोस्टमा गरिएका दाबी पूरा भए जनताले त्यसको मूल्यांकन गर्ने भन्दै अरूलाई पैसा, मासुभात र बिस्कुटको आरोप लगाउँदा आफूलाई समेत विगतमा ‘चाउचाउ’सँग जोडेर टिप्पणी गरिएको स्मरण गराएका छन्।

‘अरूलाई पैसा, मासुभात, बिस्कुटभन्दा तपाईंलाई पनि चाउचाउ भने अस्ति, फेरि भन्छन्। त्यसैले कम्तीमा सांसदको मर्यादा र ओजमा बस्नुस्,’ उनले लेखेका छन्। गीता बस्नेतले पनि गेलाललाई स्टाटस लेख्नुभन्दा काम गरेर देखाउन सुझाव दिएकी छन्।

उनले लेखेकी छन्, ‘स्टाटस मात्र पोस्ट नगर्नुस्, माननीयज्यू ! विकास र काम देखाउनु अनि मात्र पोस्ट गर्नुस्। कामले देखाउँछ कसले के गर्‍यो, गरेन भन्ने कुरा अनि जनताको हाईहाई हुनुहुनेछ।’

त्यस्तै, बृष राईले गेलालको दाबीप्रति व्यंग्य गर्दै लेखेका छन्, ‘नपत्याऊँ, खुट्टी हेरेरै थाहा भइसकेको छ नेताज्यू । साझा बसलाई पेन्टिङ गरेर निलो क्रान्ति भयो भन्दिएको भरमा ताली बजाउनेहरूले चाहिँ पत्याउलान् कि !’

लङ्गाली नारा हाफले भने उदयपुरको चौदण्डीगढी नगरपालिका–८ लगायतका वडाको सडक स्तरोन्नतिका लागि सांसदको पहल के भइरहेको छ भनेर प्रश्न गरेका छन्।

उनले विगतमा उदयपुरबाट निर्वाचित सांसदहरू दिग्गज भए पनि भौतिक विकासमा पर्याप्त ध्यान नदिएको भन्दै गेलालको कार्यकालमा जनताले परिवर्तन महसुस गर्न पाउने अपेक्षा व्यक्त गरेका छन्।

‘चौदण्डी नगरपालिका–८ र अन्य वडाको सडक स्तरोन्नतिको लागि पहल के छ माननीयज्यू ? राजमार्गसँग जोडिएको वडाको हालत मूल्यांकन गरी तपाईंको पालामा जनतालाई परिवर्तनको महसुस गराइदिनु होला,’ उनले लेखेका छन्।

ओमकुमार जम्मकट्टेलले पनि सामाजिक सञ्जालमा लेख्दैमा विकास नहुने भन्दै आलोचनालाई स्वीकार गरेर कामबाट जवाफ दिन सुझाएका छन्। ‘माननीयज्यू, फेसबुकको भित्तामा लेखेर विकास हुँदैन, काम गरेर देखाउनुपर्छ। विकास गर्नुभयो भने परिणाम आफैँ बोल्छ, तपाईंले बोलिरहनु पर्दैन,’ उनले लेखेका छन्।

उनले रचनात्मक विरोध लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै ‘आलोचनाबाट नभाग्न’ र ‘विरोधको जवाफ कामले दिन’ गेलाललाई सुझाव दिएका छन्।

राजन कार्कीले पनि ‘काम गरेर देखाउन’ आग्रह गरेका छन्। ‘काम गरेर देखाउनु, फेसबुकमा स्टन्टबाजी गरेर हुँदैन सांसदज्यू। जनताले मूल्यांकन गर्नेछन् अवश्य !’ उनले लेखेका छन्।

यसरी गेलालले आफ्नो स्टाटसमार्फत विगतको राजनीतिक शैली र आफूविरुद्ध भइरहेको आलोचनालाई लक्षित गरे पनि कमेन्टमा भने मतदाताले उनलाई विकास, काम र परिणामका विषयमा प्रश्न गरेका छन्।

चार महिना नबित्दै विवाद ?

गेलाल निर्वाचित भएको लामो समय नबित्दै आफ्ना अभिव्यक्तिका कारण पटकपटक चर्चामा आएका छन्। गत साउन ९ गते उदयपुरमै रहेका बेला पनि उनलाई स्थानीय नागरिकले विगतका अभिव्यक्तिलाई लिएर प्रश्न गरेका थिए।

त्यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो। भिडियोमा नागरिकहरूले उनलाई ‘चिठ्ठामा परेको माननीय’ भन्दै प्रश्न गरेका थिए।

एक युवकले गेलालतर्फ लक्षित गर्दै भनेका थिए, ‘चिठ्ठामा परेको माननीय हो तपाईं । चाउचाउको कुपनमा परेको हो।’

उक्त टिप्पणी सुनेपछि गेलाल हाँसेका थिए। त्यसपछि अर्का युवकले ‘तपाईं भ्युजका लागि कुद्नुभएको हो, हामीलाई भ्युजका लागि भन्ने ?’ भन्दै प्रश्न गरेका थिए।

गेलालले जवाफमा ‘भ्युजकै लागि हो भाइ तिमी’ भनेका थिए। त्यसपछि उनी अर्का व्यक्तिलाई लिएर त्यहाँबाट हिँडेका थिए।

यो घटना हुनुअघि पनि गेलालको एउटा अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चामा आएको थियो।

उदयपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गेलालले गत असारको तेस्रो साता सार्वजनिक कार्यक्रममा काम नगर्ने मेयरलाई सरुवा गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए। उनको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको पक्ष र विपक्षमा बहस भएको थियो।

गेलालले स्थायी कर्मचारी वा अधिकृतले काम नगरे उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गरेर सुधार्न सकिने र काम नगर्ने मेयरलाई पनि सुधार्ने एउटा उपाय सरुवा हुन सक्ने आशय व्यक्त गरेका थिए।

पछि उनले स्पष्टीकरण दिँदै आफ्नो अभिव्यक्तिको आशय तोडमोड गरिएको बताएका थिए।

व्यवसायबाट राजनीतिमा

गेलाल व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। विद्युतीय सवारीसाधन तथा अटोमोबाइल क्षेत्रको विस्तारमा उनको भूमिका रहेको बताइन्छ।

स्नातकोत्तरसम्म औपचारिक शिक्षा हासिल गरेका गेलालले शिक्षा र सामाजिक चेतनाका साथै निजी क्षेत्रको व्यावसायिक नेतृत्वमा समेत आफ्नो पहिचान बनाएका छन्। असल शासन अभियानमार्फत कोशी प्रदेशमा सुशासनका पक्षमा काम गरेको अनुभव पनि उनीसँग छ। उनले केही समय पत्रकारितासमेत गरेका थिए।

तर राजनीतिमा प्रवेश गरेपछि भने उनको परिचय कामभन्दा बढी अभिव्यक्तिका कारण चर्चामा आउने क्रम बढेको छ।

पछिल्लो घटनामा पनि उनले ‘मासु, भात, बिस्कुट र खाममा पैसा’ खानेहरूको दिन गएको भन्दै आलोचकलाई जवाफ दिएका छन्। तर, उनकै फेसबुक कमेन्टमा आएका मतदाताका प्रतिक्रियाले भने सांसदसँग अब भाषण र स्टाटस होइन, प्रत्यक्ष देखिने विकासको परिणाम मागिरहेको संकेत गर्छ।

गेलालले ‘भविष्यमा विकासको हिसाब दिने’ बताएका छन्। अब उनका लागि मुख्य चुनौती पनि त्यही देखिन्छ, सामाजिक सञ्जालमा गरिएका दाबीलाई उदयपुरका सडक, शिक्षा, पर्यटन र कनेक्टिभिटीका क्षेत्रमा देखिने परिणाममा बदल्नु।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  २ : १५ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी