अफगान-पाक सीमामा फेरि तनाव « Khabarhub

अफगान-पाक सीमामा फेरि तनाव


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगानिस्तानको सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको बताएका छन् । अफगानिस्तानले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दाबी गरेको छ । पाकिस्तानी अधिकारीहरूका अनुसार पाकिस्तानी सेनाले आतङ्कवादी समूहको सीमापार घुसपैठ प्रयास विफल पारेपछि अफगान तालिबान सेनाले सीमा चौकीलाई लक्षित गरी गोलाबारी गरेको हो ।

पाकिस्तानी सेनाले जवाफी कारबाहीमा अफगानिस्तानमा शासन चलाइरहेको तालिबानको सेनाका सीमा चौकी, मोर्टार प्रहार गर्ने स्थान र अन्य रक्षात्मक संरचनालाई तोपखानाबाट निशाना बनाएको दाबी गरेको छ । चार जना स्थानीय अधिकारीका अनुसार पक्टिया र नङ्गरहार प्रान्तमा अफगान सीमाबाट आतङ्कवादीहरूले पाकिस्तान प्रवेश गर्ने प्रयास गरेका थिए । पाकिस्तानले पाकिस्तानी तालिबानका लागि प्रयोग गर्ने ‘फितना–उल–खवारीज’ नामले उनीहरूलाई सम्बोधन गर्दै आएको छ ।

पाकिस्तानी अधिकारीहरूले अफगान तालिबान सरकारमाथि आफ्नो भूमिबाट आतङ्कवादी गतिविधि सञ्चालन गर्न दिएको आरोप लगाउँदै आएका छन् भने अफगान पक्षले यसलाई अस्वीकार गर्दै आएको छ । अधिकारीहरूले पाकिस्तानी सेनाले घुसपैठ विफल पारेपछि अफगान तालिबान सेनाले गोलाबारी गरेको र जवाफी कारबाहीपछि उसका केही सुरक्षाकर्मीले स्थान छाडेको तथा हताहत भएको दाबी गरेका छन् ।

उनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा पछिल्लो घटनाबारे जानकारी दिएका हुन् । यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । यसअघि पाकिस्तानी लडाकू विमानले पूर्वी अफगानिस्तानमा आतङ्कवादीका आश्रयस्थल भन्दै केही स्थानमा हवाई आक्रमण गरेको थियो । सोमबारको उक्त आक्रमणमा पाकिस्तानको सूचना मन्त्रालयले २८ जना आतङ्कवादी मारिएको दाबी गरेको थियो भने अफगान अधिकारीहरूले कम्तीमा तीन सर्वसाधारणको मृत्यु र चारजना घाइते भएको बताएका थिए ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले पनि नागरिक हताहत भएको पुष्टि गर्दै आएको छ । पछिल्लो घटनाक्रमले पाकिस्तान र अफगानिस्तानबीच स्थायी शान्ति कायम गर्न चीन, टर्की, कतार र साउदी अरेबियाले गरिरहेका मध्यस्थता प्रयास प्रभावित हुनसक्ने चिन्ता बढाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा न्युयोर्कमा आयोजित एक कार्यक्रममा पाकिस्तानी विदेशमन्त्री इशाक दारले अफगानिस्तानमा दुई दर्जनभन्दा बढी पाकिस्तान विरोधी आतङ्कवादी समूहको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका थिए ।

यसैबीच, पाकिस्तानी अधिकारीहरूले उत्तरपश्चिमी पाकिस्तानको कोहाटतर्फ प्रवेश गर्नुअघि अफगान तालिबान शासनद्वारा प्रक्षेपित भनिएका दुईवटा ड्रोन निष्क्रिय पारेको बताएका छन् । यसले अफगानिस्तानबाट उत्पन्न हुनसक्ने हवाई खतराविरुद्ध पाकिस्तानी सुरक्षा बल उच्च सतर्कतामा रहेको देखाएको उनीहरूको भनाइ छ । पछिल्ला हवाई आक्रमणले सीमापार लामो समयदेखि जारी शत्रुतापछि देखिएको केही साताको तुलनात्मक शान्तिसमेत अन्त्य गरेको छ ।

यसै महिनाको सुरुआतमा पाकिस्तानी सुरक्षा बलले अफगानिस्तानबाट प्रवेश गर्ने प्रयास गरिरहेका १५ जना आतङ्कवादीलाई मारेको जनाएको थियो । सोमबारको हवाई आक्रमण खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा आतङ्कवादीसँग भएको गोली हानाहानपछि भएको थियो । उक्त घटनामा छजना पाकिस्तानी सुरक्षाकर्मी मारिएका थिए ।

त्यसको केही दिनअघि नजिकैको कोहाट सहरस्थित प्रहरी परिसरभित्र रहेको मस्जिदमा आत्मघाती बम विस्फोट भएको थियो । त्यसपछि आठ जना बन्दुकधारीले परिसरमा आक्रमण गर्दा करिब २० घण्टासम्म गोली हानाहान भएको र कम्तीमा २१ जनाको मृत्यु भएको थियो । मृतकमध्ये अधिकांश प्रहरी अधिकारी थिए ।

उक्त आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । पाकिस्तानी अधिकारीहरूले पछिल्ला हिंसात्मक घटनामा तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) तथा सम्बद्ध समूहलाई जिम्मेवार ठहराउँदै आएका छन् । अफगान तालिबान सन् २०२१ मा अफगानिस्तानको सत्तामा फर्किएपछि टीटीपीले पाकिस्तानी सुरक्षा बलमाथि आक्रमण बढाएको पाकिस्तानको दाबी छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ५ : ०२ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी