काठमाडौं- हालै सार्वजनिक सरकारी तथ्याङ्क अनुसार भारतको पूर्वाधार उत्पादनमा गत अगस्ट महिनामा वार्षिक आधारमा चार दशमलव आठ प्रतिशतले वृद्धि भएको छ। सिमेन्ट र विद्युत् क्षेत्रको बलियो उत्पादनले ऊर्जासम्बन्धी अन्य क्षेत्रको कमजोरीलाई सन्तुलनमा ल्याएपछि समग्र पूर्वाधार उत्पादनमा यो वृद्धि देखिएको हो ।
सन् २०२२–२३ लाई आधार वर्ष मानेर फलामको कच्चा पदार्थलाई समेत समेटेर तयार पारिएको नयाँ शृङ्खला अन्तर्गत यो तेस्रो तथ्याङ्क सार्वजनिक गरिएको हो। यसअघि गत जुलाई महिनामा पूर्वाधार उत्पादनमा संशोधित पाँच प्रतिशतले वृद्धि भएको थियो।
अगस्ट महिनामा विभिन्न क्षेत्रको उत्पादनमा मिश्रित नतिजा देखिएको छ। सिमेन्ट उत्पादन गत जुलाईको १२ दशमलव सात प्रतिशतबाट बढेर अगस्टमा १२ दशमलव पाँच प्रतिशत पुगेको छ । त्यस्तै, फलाम तथा स्टिल उत्पादन एक दशमलव ९ प्रतिशतबाट बढेर गत महिना तीन दशमलव चार प्रतिशतमा पुगेको छ ।
त्यस्तै, विद्युत् उत्पादन जुलाईको आठ दशमलव चार प्रतिशतबाट बढेर अगस्टमा ११ दशमलव छ प्रतिशत पुगेको छ भने फलामको कच्चा पदार्थ (आइसन ओर) को उत्पादन पाँच दशमलव पाँच प्रतिशतले बढेको छ । प्रशोधन गृह उत्पादन (रिफाइनरी प्रोडक्ट्स) दुई दशमलव छ प्रतिशतले बढेको छ।
यद्यपि, केही क्षेत्रमा भने गिरावट आएको छ। गत अगस्टमा कोइला उत्पादन तीन दशमलव आठ प्रतिशतले घटेको छ भने कच्चा तेलको उत्पादन तीन दशमलव छ प्रतिशतले घटेको छ। यसैगरी, मल उत्पादन १२ दशमलव चार प्रतिशतले घटेको छ भने प्राकृतिक ग्यासको उत्पादन चार दशमलव नौ प्रतिशतले खुम्चिएको छ।
यससँगै चालू आर्थिक वर्षको अप्रिलदेखि अगस्टसम्मको समग्र संचयी पूर्वाधार उत्पादन वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको दुई दशमलव चार प्रतिशतबाट बढेर चार दशमलव तीन प्रतिशत पुगेको छ।














प्रतिक्रिया