असम्भव सपना बाँडेर मतदाता झुक्याउने काम मबाट हुँदैन : डाक्टर अजयक्रान्ति शाक्य (अन्तर्वार्ता) « Khabarhub

असम्भव सपना बाँडेर मतदाता झुक्याउने काम मबाट हुँदैन : डाक्टर अजयक्रान्ति शाक्य (अन्तर्वार्ता)


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देश निर्वाचनमय भएको छ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको परिणाम प्रतिनिधिसभा साढे ३ वर्षमै विघटन भएपछि देश मध्यावधि निर्वाचनमा होमिएको हो । २०७९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित पाँच दलको चुनौती चिरेको नेकपा एमालेलाई यो पटक पनि तनाव छ। जेन-जी आन्दोलनमा दमन गरेको आरोप खप्दै एमाले चुनाव गएको छ । काठमाडौं उपत्यकासहित देशका १६४ क्षेत्र उम्मेवारी खडा गरेको एमालेले चुनाव प्रचारलााई तीव्र पारेको छ। यता काठमाडौं क्षेत्र नम्बर ९ मा पनि एमालेभित्र बौद्धिक नेताका रुपमा परिचित डा. अजयक्रान्ति शाक्य मैदानमा छन् । उनको मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालसँग हुँदैछ । बागमतीका निवर्तमान सांसदसमेत रहेका शाक्य एक पटक मन्त्री पनि भएका छन्। शाक्य मैदानमा रहेको काठमाडौंमा नेवार समुदायको भोट निर्णायक छ । तर नयाँको लहरका कारण एमाले केही दबाबमा छ । यो दबाबबीच शाक्यले चुनावी प्रचार तीव्र बनाएका छन् । चुनावी प्रचारकै बीचमा शाक्यसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ राखिएको छ ।

कातठमाडौं क्षेत्र नम्बर–९ मा एमालेको तर्फबाट तपाईंको चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ?

अहिलेको युग सूचना प्रविधिको हो । त्यसैले यस पटकको निर्वाचनमा हामीले परम्परागत शैलीसँगै ‘प्रविधिमैत्री चुनावी प्रचार’लाई विशेष प्राथमिकता दिएका छौँ । सूचना प्रविधिको उच्चतम् उपयोग गर्दै हामीले हाम्रा एजेन्डाहरू मतदाताबीच पुर्‍याइरहेका छौँ ।

यसका साथै, म पनि मतदाताका घरदैलोमा पुगेर उहाँहरूका गुनासा र सुझाव सुनिरहेको छु । विगतमा जनप्रतिनिधि हुँदा मैले गरेका कामको समीक्षा गर्ने, आगामी योजनाबारे छलफल गर्ने र टोल तथा वडा तहका साथीहरूले तयार पार्नुभएको कार्ययोजना अनुसार जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यलाई नै मैले मुख्य अभियान बनाएको छु ।

चुनावी घरदैलोका क्रममा मतदाता र शुभेच्छुकहरूबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

मतदाताहरूमा निकै ठूलो उत्साह र भरोसा पाएको छु । विशेषगरी, काठमाडौं क्षेत्र नम्बर–९ का बुद्धिजीवी र आमनागरिकले एकजना प्राज्ञिक, विकासको स्पष्ट खाका बुझेको र कार्यान्वयन गर्न सक्ने विज्ञ व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाउनु यस क्षेत्रकै गौरवको विषय भएको प्रतिक्रिया दिनुभएको छ । उहाँहरूले देखाउनुभएको यो अगाध माया र सम्मानले मलाई थप जिम्मेवार बनाएको छ ।

म सस्तो लोकप्रियताका लागि असम्भव सपना बाँड्ने र ठूला भाषण गर्ने कुरामा विश्वास गर्दिनँ र त्यो गर्न जान्दिनँ पनि । म जे गर्न सक्छु, त्यो मात्रै बोल्छु । जनप्रतिनिधि रहँदा वा नरहँदा, सधैँ समाजसेवा र अध्ययन–अनुसन्धानमै मेरो समय बित्ने गरेको छ । मेरो एउटै संकल्प छ– ‘बहुजन हिताय, बहुजन सुखाय, सर्वप्रकारेण जगत हिताय’ यही भावनाका साथ म राष्ट्र र जनताको सेवामा समर्पित छु ।

मतदाताहरूको यो साथ र समर्थनले पनि मलाई जित आधार तयार गरेको छ । मेरो जित भनेको यो क्षेत्रको विकासका लागि बलियो आधारसमेत हो भन्ने जनताको भावना पाएको छु ।

तपाईं यहीँ काठमाडौंको माटोमा जन्मिनुभयो, हुर्किनुभयो । यहाँको विकास र समृद्धिको सपनालाई कसरी हेर्नुभएको छ ?

मेरा लागि राजनीति पेशा होइन विशुद्ध सेवा हो । म यही काठमाडौंको माटोमा जन्मिएँ । यहीँको हावापानीमा हुर्किएँ । त्यसैले यस क्षेत्रप्रतिको मेरो दायित्व अगाध छ । 

मेरो मूल ध्येय भनेकै यस क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्नु हो । विशेषगरी काठमाडौंको मुटु मानिने यस क्षेत्रको मौलिक संस्कृति र सम्पदाको संरक्षण तथा सम्वर्द्धन मेरो पहिलो प्राथमिकता हो । म यहाँका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई के विश्वास दिलाउन चाहन्छु भने- म जे बोल्छु, त्यो पूरा गर्छु र मेरो बाँकी जीवन यहीँको माटोको सेवामा समर्पित रहनेछ । 

२०७४ सालको निर्वाचनपछि तपाईंले यस क्षेत्र ९ (क) को जनप्रतिनिधि र छोटो समय मन्त्रीका रूपमा काम गर्नुभयो । त्यसअवधिका मुख्य उपलब्धि के–के हुन् ?

काठमाडौं क्षेत्र नम्बर–९ (क) अन्तर्गतका वडाहरू ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छन् । म प्रदेश सभा सदस्य र मन्त्री रहँदा यी सम्पदाहरूको पुनरुत्थानमा अहोरात्र खटिएँ । मेरा काम आज जनतासामु छर्लङ्ग छन् । केही मुख्य उपलब्धि यहाँ उल्लेख गर्न चाहन्छु ।

सम्पदा पुनरुत्थान : श्वेत भैरव फल्चा, श्वेत भैरव नारायण मन्दिर, टेबहाल नास द्यः, वटुचिँकअट नारायण मन्दिर, र पचली भैरवका दुईवटा फल्चाहरूको सफल पुनर्निर्माण । त्यस्तै, बासुकी दह नजिकैको मिन्डोल लिंग बल्खु गुम्बा तथा  विभिन्न ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन । साथै यस क्षेत्रमा रहेका अमूर्त सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष योगदान । 

शैक्षिक सुधार : सरस्वती निकेतनमा कम्प्युटर ल्याब, कुलेश्वर आवासीय मावि र जनपथ मावि कलंकीमा सभाहल निर्माण, तथा जनमैत्री क्याम्पसको भवन तथा कम्प्युटर ल्याब, निर्माणमा विशेष बजेट व्यवस्था, सरकारी विद्यालयहरूमा शैक्षिक सुधारकालागि विविध कार्यक्रमहरूका सञ्चालन । 

पूर्वाधार र वातावरण : कामपा १२ वडाको खोल्चापाखामा आकर्षक पार्क निर्माण, खड्का गाउँमा खानेपानीका लागि ३ लाख लिटरको पानी टंयाकी निर्माण, डिप बोरिङ, फिल्टरेशन प्लान्ट जडान तथा पम्प हाउस तथा बस्तीभरी घर घरमा पाइपलाइन विस्तार, ज्ञानतीर्थ सडक ढलान लगायत क्षेत्रभरी अधिकांश ठाउँमा कालोपत्र सम्पन्न र विभिन्न क्लब तथा विद्यालयहरूमा खानेपानी फिल्टर प्लान्ट जडान, मयलबारी लगायत क्षेत्रभित्रका धेरै ठाउँमा खाने पानीको समस्या समाधान लगायतका धेरै पूर्वाधारहरूका काम सम्पन्न भएका छन् ।

यस्तै कानून निर्माण, कानून एप्प निर्माण, हार्जट म्यापिगं तथा अलर्टको एप्प निर्माणको काम अघि बढाएको, सूचना प्रविधि सम्बन्धी एप्पहरु निर्माण तथा मन्त्रालयका अधिकांश कार्यक्रमहरू छोटो अवधिमै सम्पन्न भएका छन् ।

मैले गरेका यी कामहरू केवल तथ्याङ्क मात्र होइनन्, यस क्षेत्रको विकासप्रतिको मेरो इमानदार प्रयासका प्रमाणहरू हुन् । आज जनताको घरदैलोमा पुग्दा यही कामहरूको सूचि लिएर गएको छु । उहाँले पनि मैले पहिलो जनप्रतिनिधि हुँदा गरेको काम सम्झेर मलाई गरेको माया र समर्थनले मलाई थप हौसला मिलेको छ । 

अहिले काठमाडौं क्षेत्र नम्बर–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस जस्ता बलिया प्रतिस्पर्धी पार्टी हुनुहुन्छ । यसले गर्दा तपाईंको जित चुनौतीपूर्ण देखिन्छ नि, कसरी लिनुभएको छ ? 

लोकतन्त्रमा निर्वाचन भनेको विचार, एजेन्डा र कार्यक्षमताको स्वस्थ प्रतिस्पर्धा हो । म निर्वाचनलाई जनताको सर्वोच्च अदालत मान्छु । कुनै पनि उम्मेदवारका लागि निर्वाचन कहिल्यै ‘सजिलो’ हुँदैन र यसलाई हल्का रूपमा लिनु पनि हुँदैन । यदि हार–जित पहिले नै निश्चित हुन्थ्यो भने त निर्वाचनको यो महान् लोकतान्त्रिक अभ्यास र राज्यको यति ठूलो लगानीको औचित्य नै रहँदैनथ्यो । म प्रतिस्पर्धी साथीहरू र उहाँहरूको उम्मेदवारीलाई सम्मान गर्छु ।

म काठमाडौं–९ का मतदाताहरूको चेतना र विवेकमाथि पूर्ण विश्वास गर्छु । अहिले घरदैलोका क्रममा मैले जुन स्तरको स्नेह, माया र समर्थन पाइरहेको छु, त्यसले के पुष्टि गर्छ भने- यहाँका जनता ‘परीक्षण भइसकेको’ र ‘काम गरेर देखाएको’ नेतृत्वको पक्षमा हुनुहुन्छ । 

मेरा प्रतिस्पर्धी साथीहरूका आफ्नै एजेन्डा होलान्, तर यस क्षेत्रको विकासको निरन्तरता र समृद्धिका लागि मेरो अनुभव र कार्यक्षमताको विकल्प अर्को हुन सक्दैन । म चुनौतीलाई अवसरमा बदल्न अभ्यस्त छु र यस पटक पनि क्षेत्र नम्बर–९ का सचेत मतदाताहरूले विकास र स्थिरताको पक्षमा मतदान गर्नुहुनेछ भन्नेमा म ढुक्क छु ।

बजारमा एमालेभित्र अन्तर्घातको डर छ । कतिपय नेताहरू  तपाईंको पक्षमा खुलेका छैनन् भन्ने चर्चा छ नि, वास्तविकता के हो ?

यो निराधार हल्ला र योजनाबद्ध भ्रम मात्र हो । नेकपा (एमाले) एक ढिक्का भएर निर्वाचनमा होमिएको छ । म काठमाडौं महानगरपालिका वडा नम्बर २१, लगनटोलको स्थायी बासिन्दा हुँ । जुन क्षेत्र एमालेको ‘लालकिल्ला’ मानिन्छ । हाम्रा आदरणीय नेता तथा पूर्वमेयर विद्यासुन्दर शाक्य यहीँको हुनुहुन्छ । उहाँले यही वडाबाट दुई पटक वडाध्यक्ष  तथा मेयरमा समेत निर्वाचित हुनु भएर महानगरको नेतृत्व गर्नुभएको इतिहास छ । 

त्यति मात्रै होइन, पूर्वमन्त्री तथा नेता कृष्णगोपाल श्रेष्ठ अभिभावकका रूपमा उहाँको पूर्ण साथ मलाई छ । उहाँ स्वयं मेरो निर्वाचनमा अहोरात्र खटिरहनुभएको छ । समानुपातिक सांसद कुलभक्त शाक्य, प्रदेश सभा सदस्य केशव पोखरेल तथा समानुपातिक उम्मेदवार डा. सानुमैया खड्का (सविता) लगायतका सम्पूर्ण नेतृत्व तह मेरो विजय सुनिश्चित गर्न टोल–टोलमा पुगिरहनुभएको छ । 

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनीता डंगोलको पदीय मर्यादाका कारण चुनावी प्रचारमा प्रत्यक्ष देखिन नमिल्ने कानुनी पाटो बेग्लै हो, तर उहाँको पूर्ण नैतिक समर्थन र शुभेच्छा मसँगै छ । त्यसैले, पार्टीभित्र कुनै पनि प्रकारको मतभेद छैन । हामी एउटा चट्टानी एकताका साथ मैदानमा छौँ । 

तपाईंको चुनावी एजेण्डा के–के छ ?

मेरो लागि राजनीति पद र प्रतिष्ठा प्राप्तिको सिँढी मात्र होइन, यो त समाज रूपान्तरणको एउटा लामो साधना र पवित्र सङ्कल्प हो ।  २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि आजसम्मको मेरो अनवरत यात्रा केवल पदका लागि थिएन, बरु लोकतन्त्रको सुदृढीकरण र जनसेवाका लागि थियो ।

म विगत तीन दशकदेखि अविचलित रूपमा यही माटो र यहाँका जनताको सुखदुःखमा एकाकार छु । मेरो यस पटकको उम्मेदवारी केवल संसद्को एक सिटका लागि मात्र नभई, अनुभव, विज्ञता र विकासको त्रिवेणीमार्फत यस क्षेत्रको मुहार फेर्नका लागि हो । 

म आश्वासनको खेती गर्ने र असम्भव सपना बाँड्ने राजनीतिमा विश्वास गर्दिनँ । मेरो पहिलो र मुख्य एजेण्डा भनेको मेरो वर्षौँको राजनीतिक अनुभव र मैले हासिल गरेको ‘प्राज्ञिक ज्ञान’ को उच्चतम संयोजनमार्फत राज्यको नीति निर्माण तहमा अर्थपूर्ण र बौद्धिक योगदान गर्नु हो । हामीलाई अब गफ गर्ने होइन, योजनाबद्ध विकासको वैज्ञानिक खाका कोर्न सक्ने नेतृत्व चाहिएको छ । 

काठमाडौं क्षेत्र नम्बर–९ को मौलिक कला, जीवन्त संस्कृति र हाम्रा ऐतिहासिक धरोहरहरूको संरक्षण गर्दै यस क्षेत्रलाई विश्वकै आकर्षक सांस्कृतिक पर्यटन हब बनाउनु मेरो सर्वोच्च प्राथमिकता हुनेछ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई टेवा पुर्‍याउन म शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रविधिमैत्री बनाउँदै पूर्ण निष्ठाका साथ समर्पित रहनेछु।

मेरा चुनावी एजेण्डा

१) विज्ञता र विवेकमा आधारित राजनीति 

म संसद्मा केवल ताली बजाउन वा नारा लगाउन मात्र जाने छैन। मेरो तीन दशक लामो राजनीतिक अनुभव र प्राज्ञिक दक्षतालाई देशको ऐनकानुन निर्माणमा केन्द्रित गर्नेछु । राज्यका नीतिहरू वैज्ञानिक र जनमुखी हुनुपर्छ भन्ने मेरो मान्यता छ। विकासका योजनाहरू तर्जुमा गर्दा विज्ञहरूको राय र तथ्यलाई आधार बनाएर काम गर्ने पद्धतिको विकास गर्नेछु ।

२. वैज्ञानिक र व्यवस्थित शहरी विकास 

काठमाडौंको अव्यवस्थित शहरीकरण आजको मुख्य चुनौती हो । मैले यस क्षेत्रका लागि एक वैज्ञानिक गुरुयोजना’ तयार गरेको छु । अव्यवस्थित ढल, खानेपानी र सडकको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्दै काठमाडौं क्षेत्र नम्बर–९ लाई सुन्दर, स्वच्छ र बस्नयोग्य बनाउन म नेतृत्वदायी भूमिका खेल्नेछु । खुला क्षेत्रको संरक्षण र ग्रीन सिटीको अवधारणा मेरो विशेष प्राथमिकतामा रहनेछ ।

३. सांस्कृतिक पुनर्जागरण र सम्पदा संरक्षण 

हाम्रो पहिचान नै हाम्रो संस्कृति हो। यस क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर, फल्चा, बहाः र चैत्यहरूको मौलिक स्वरूप नबिग्रने गरी पुनरुत्थान र जीर्णोद्धार गरिनेछ । यहाँको मूर्त–अमूर्त संस्कृतिलाई पर्यटनसँग जोडेर स्थानीयको आर्थिक स्तर उकास्ने र हाम्रा सम्पदाहरूलाई विश्वमाझ चिनाउन सांस्कृतिक कोरिडोरको अवधारणा अघि बढाइनेछ 

४. मौलिक अधिकारका रूपमा गुणस्तरीय शिक्षा र स्वास्थ्य 

शिक्षा र स्वास्थ्य व्यापार होइन, नागरिकको मौलिक अधिकार हुनुपर्छ। मेरा प्रयासहरू सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर सुधार गर्नमा केन्द्रित हुनेछन् । प्रत्येक वडामा अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने, ज्येष्ठ नागरिकका लागि विशेष स्वास्थ्य योजना र विपन्नका लागि सर्वसुलभ उपचार सुनिश्चित गर्न म नीतिगत र व्यावहारिक दुवै तहमा सक्रिय रहनेछु ।

५. युवा स्वरोजगार र डिजिटल रूपान्तरण 

अहिलेको युग सूचना प्रविधिको हो । सूचना प्रविधिको उच्चतम प्रयोग गरी सरकारी सेवालाई भ्रष्टाचारमुक्त र बनाउन म पहल गर्नेछु। युवाहरूलाई प्रविधिसँग जोडेर स्थानीय स्तरमै स्टार्टअप र उद्यमशीलताका अवसरहरू सिर्जना गरिनेछ । विदेशिन बाध्य युवा जनशक्तिलाई स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्न डिजिटल इकोनोमीको अवधारणालाई यस क्षेत्रमा नमुनाका रूपमा लागू गरिनेछ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : ४० बजे

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

एजेन्सी– रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै

सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत रहेका एलजी, सीजी, माइडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको,