नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा « Khabarhub

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२-८३ को असार मसान्तसम्मको मासिक प्रतिवेदन अनुसार देशको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७४ अर्ब ९० करोड १५ लाख रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०८२-८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा एक वर्षको अवधिमा विनिमय दरमा भएको नोक्सानी समेत गरी कुल ३ खर्ब ८५ करोड रुपैयाँ थप वृद्धि भएको हो । यो कुल ऋण रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४५.०७ प्रतिशत हुन आउँछ ।

कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३.७७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत रहेको छ । तथ्यांक अनुसार असार मसान्तसम्ममा बाह्य ऋण दायित्व १५ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण दायित्व १३ खर्ब ७५ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

सरकारले आर्थिक वर्ष २०८२-८३ मा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, असार मसान्तसम्ममा ४ खर्ब ४७ अर्ब १८ करोड रुपैयाँ मात्र ऋण प्राप्ति भएको छ, जुन वार्षिक लक्ष्यको ७५.०७ प्रतिशत मात्र हो ।

प्राप्त कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८०.२१ प्रतिशत (३ खर्ब ५८ अर्ब ६६ करोड) र बाह्य ऋणको हिस्सा १९.७९ प्रतिशत (८८ अर्ब ५० करोड) रहेको छ । आन्तरिक ऋण परिचालन लक्ष्यको तुलनामा ९९.०८ प्रतिशत सफल देखिए पनि बाह्य ऋण प्राप्ति भने लक्ष्यको ३७.८८ प्रतिशतमा मात्र खुम्चिएको छ ।

सरकारले ऋणको साँवा र व्याज भुक्तानीमा ठूलो रकम खर्चिएको छ । प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको छ । यो कुल विनियोजित बजेटको ९३.९७ प्रतिशत हो ।

कुल भुक्तानी भएको रकममध्ये आन्तरिक ऋण भुक्तानी ३ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ जसमा साँवा २ खर्ब ५० अर्ब ५६ करोड र व्याज ६१ अर्ब ३७ करोड भुक्तानी भएको छ । त्यस्तै, बाह्य ऋण भुक्तानी ७४ अर्ब २८ करोड रुपैयाँ जसमा साँवा ६१ अर्ब ८४ करोड र व्याज १२ अर्ब ४४ करोड भुक्तानी भएको छ ।

सरकारले एक वर्षमा ३ खर्ब १२ अर्ब ४० करोड साँवा र ७३ अर्ब ८२ करोड रुपैयाँ व्याज भुक्तानीमा खर्च गरेको छ । ऋण सेवामा भएको यो खर्च कुल गार्हस्थ्य उत्पादनको ५.८५ प्रतिशत हुन आउँछ ।

वैदेशिक विनिमय दरमा भएको परिवर्तनले पनि सार्वजनिक ऋणको भार बढाएको छ । प्रतिवेदन अनुसार वैदेशिक विनिमय घाटाका कारण आर्थिक वर्षको प्रारम्भमा रहेको सार्वजनिक ऋणमा ६.२४ प्रतिशतले वृद्धि भएको देखिएको छ । कुल ऋण वृद्धिमा वैदेशिक विनिमय घाटाको हिस्सा ५५.५१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ११ : २८ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका