पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति « Khabarhub

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । चीनको जनमुक्ति सेना (पीएलए) स्थापना भएको ९९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले आज आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले नेपाली सेना र पीएलएबीचको सम्बन्ध सुदृढ रहेको तथा निरन्तर प्रगाढ बन्दै गएको बताए ।

प्रधानसेनापति सिग्देलले दुई सेनाबीच हुने नियमित उच्चस्तरीय भ्रमण तथा आदानप्रदानले द्विपक्षीय सैनिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै संयुक्त सैनिक अभ्यासले आपसी विश्वास, समझदारी र सहकार्यलाई थप गहिरो बनाएको बताए । उनले आगामी दिनमा पनि नेपाली सेना र पीएलएबीचको सहकार्य अझ विस्तार भई नेपाल–चीनमैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विगत ९९ वर्षमा पीएलएले चीनको राष्ट्रिय स्वतन्त्रता, मुक्ति, सार्वभौमसत्ता, सुरक्षा तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै पीएलएको आधुनिकीकरण उल्लेखनीय रूपमा अघि बढेको उल्लेख गर्दै उहाँले त्यसले विश्व शान्तिमा समेत सकारात्मक योगदान पुर्याएको बताए ।

राजदूत चाङले मानवीय सहायता, विपद् उद्धार तथा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा चीनले सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गरे । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरूमध्ये चीन शान्ति सैनिक योगदान गर्ने सबैभन्दा ठूलो मुलुक रहेको तथा नेपाल विश्वका प्रमुख शान्ति सैनिक योगदानकर्ता मुलुकहरूमध्ये एक रहेको बताए ।

नेपाल र चीनबीचको मैत्री सम्बन्ध दीर्घकालीन, पारस्परिक सम्मान र समानतामा आधारित रहेको उल्लेख गर्दै उनले दुवै देशबीचको व्यावहारिक सहयोग तथा मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

समारोहमा चिनियाँ जनमुक्ति सेनाका वरिष्ठ कर्णेल चौ जुनले नयाँ युगको आवश्यकताअनुसार पीएलए निरन्तर आधुनिकीकरण हुँदै गएको तथा राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासका हितहरूको संरक्षणमा प्रतिबद्ध रहेको बताए । उनले चीनले नेपालसँगको सैनिक सम्बन्धलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै उच्चस्तरीय भ्रमण, संयुक्त अभ्यास तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे ।

समारोहमा सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १० : ४४ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक