मास्टर्नी : ‘कपी’ फिल्म « Khabarhub

मास्टर्नी : ‘कपी’ फिल्म


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिल्म : मास्टर्नी
कलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी, ऋचा शर्मा, सिम्रन खड्का, रक्षा थापालगायत
कथा : प्रियंका कार्की
पटकथा : शान बस्नेत
संवाद : प्रियंका र शान
निर्माता : प्रियंका, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनिती कार्की
निर्देशक : सुवेन्दु घोष

डेब्यू निर्माणमा बनेको फिल्म ‘मास्टर्नी’ले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट (१६ वर्षभन्दा कम उमेरकाले हेर्न नमिल्ने) पाउँदा नायिका प्रियंका कार्कीले कन्फिडेन्टका साथ भनेकी थिइन्, ‘क्राइम थ्रिलर जनारमा बनेका फिल्मले एडल्ट सर्टिफिकेट नै पाउँछ । म सन्तुष्ट छु ।’

फिल्मले एडल्ट सर्टिफिकेट पाउनु भनेको एक तप्काको दर्शक स्वतः कटौतीमा पर्नु हो । त्यो सर्टिफिकेट पाउँदा उनले ‘सन्तुष्ट छु’ भन्दा धेरैलाई आशंका थियो, ‘एक खालको फिल्म बनाइन् कि क्या हो ?’

अहिले यथावत प्रश्न नै यही हो, ‘कस्तो छ त ?’

किशोरी छोरीको आपत्तिजनक भिडियो कैद भएको मोवाइल खोस्ने क्रममा एउटा हत्या हुन्छ । कर्तव्य ज्यान मुद्दाको सजायबाट छोरीलाई बचाउन अभिभावकले लास गायब पार्ने र त्यो घटना रहस्यमयी बनाउन नाटकीय उपाय रच्ने कथामा यो फिल्म बनेको छ ।

हो, तपाईंलाई लाग्यो होला– यो समीक्षकले किन भारतीय फिल्मको ‘दृश्यम’को चर्चा गरेको ?

हैन, मैले ‘मास्टर्नी’कै कथाबारे चर्चा गरेको हुँ । प्रियंकाले नै ‘दृश्यम’को हुबहु कपी गरेर फिल्म बनाएपछि कन्फ्युजन त हुने नै भो !

‘मास्टर्नी’को कथासार

यो फिल्मका प्रमुख पात्रहरू नायिका प्रियंका कार्की, अनुपविक्रम शाही, सिम्रन खड्का, आर्यन सिग्देल, प्रमोद अग्रहरी, ऋचा शर्मा र रक्षा थापा हुन् ।

प्रियंका एक स्कुलको विज्ञान शिक्षक हुन्छिन् । अनुप पोखरामा डाक्टर हुन्छन् । उनीहरूको छोरी हुन् सिम्रन । सिम्रनका अभिभावक छुटिएर बस्छन् तर डिभोर्स भएको छैन । सिम्रन आमासँग काठमाडौंमा बस्छिन् ।

आर्यन प्रहरी अफिसर हुन्छन् । प्रमोद नेता हुन्छन् उनी श्रीमतीको भूमिकामा ऋचा छन् । उनीहरूको छोरी हुन्– रक्षा ।

रक्षालाई केटीसँगै यौन आकर्षण हुन्छ । जसले गर्दा उनी सिम्रनसँग निकट बन्छिन् । यही यौन आकर्षणले गर्दा रक्षाले सिम्रनको आपत्तिजनक भिडियो कैद गर्छिन् । यही मोवाइल खोस्ने क्रममा सिम्रनबाट रक्षाको हत्या हुन्छ ।

सत्तारुढ दलका महत्वाकांक्षी नेताको छोरीको हत्या भएको छ । प्रहरी प्रशासनले उक्त घटनाको छानबिन जोलोज्यान दिएर गरिरहेको छ । नेताको पक्षमै प्रहरी प्रशासन छ ।

अब प्रियंका आफ्नो किशोरी छोरीलाई यो अपराधबाट उम्कन सिकाउछिन् । भनौं– मास्टर प्लान बनाउँछिन् ।

अब यी आमा-छोरीले कसरी हाई-प्रोफाइल केससँग सामान गर्छन् ? र कथाको ल्यान्ड कसरी हुन्छ ? यही प्रश्नको जवाफलाई फिल्मको थ्रिलिङ पाटोका रुपमा देखाइएको छ ।

यो कथासार पढेपछि ‘मास्टनी’ त हेरेको छैन तर यो त हेरिसकेको कथा हो जस्तो लागेन ? लागेको भए पक्कै तपाईंले ‘दृश्यम’ हेरिसक्नु भएको रहेछ ।

डोकोले छोपेर के लुक्थ्यो !

डोकोमा ठूलो प्वालहरू हुन्छन् जो भित्र रहेको वस्तु छर्लङ नै देखिन्छ । डोकोले छोपेको कुरा अरुले देख्दैनन् भन्ने ठान्नु मुर्खता हो ।

यही मुर्खता प्रियंकाले गरिन् ।

दृश्यमको कपी फिल्म ‘मास्टर्नी’ होइन भनेर उनले छोप्ने प्रयास राम्रै गरेकी छन् । तर, दर्शक ‘लाटा’ छैनन् है ।

दृश्यम र मास्टर्नीमा केही फरक भने अवश्य छन् ।

जस्तो–

– दृश्यममा किशोरीको आपत्तिजनक भिडियो पुलिस अफिसरको छोरा बनाएको हुन्छ । ‘मास्टर्नी’ नेताको छोरीले किशोरीको आपत्तिजनक भिडियो बनाएको हुन्छे ।

– दृश्यममा हत्याको घटना लुकाउन किशोरीको बुवा अजय देवगन हाबी हुन्छन् । ‘मास्टर्नी’मा किशोरीको आमा प्रियंका हाबी छिन् ।

– हत्या रहस्यमयी बनाउन दृश्यममा परिवार पूरा भ्रमणमा जान्छन् । यता प्रियंकाले छोरीलाई पोखरा भ्रमणमा पठाउँछिन् ।

– दृश्यममा अजयको चलाखीमा लास गायब हुन्छ । यहाँ प्रियंकाले विज्ञानको ज्ञानको साहारा लिन्छन् ।

नेपाली परिवेश र राजनीति फ्लेभर दिएर प्रियंकाले ‘मास्टर्नी’ अर्ग्यानिक कथा हो भनेर झुट बोल्ने प्रयास गरेकी छन् । केही कुरामा सामान्य ज्ञान पनि राखेको पाइदैन । जस्तो- नेपाली प्रहरी प्रशासनमा एफआईआर भन्ने शब्द प्रयोग हुँदैन । त्यो भारतमा प्रयोग हुन्छ । नेपालमा जाहेरी–उजुरी जस्ता शब्द प्रयोग हुन्छन् ।

त्यसै त ‘मास्टर्नी’ हेरिरहदाँ दृश्यमको याद आउँछ । एफआईआर शब्द प्रयोग गरेपछि त ‘ए’ भन्ने भइहाल्छ ।

दृश्यम र मास्टर्नी दुवै फिल्मको हत्या हाइप्रोफाइल केस हो । त्यसकारण मिडियाको चासो रहन्छ । दुवै फिल्ममा मिडियाले प्रोटागोनिस्टको योजनालाई मलजल पुग्ने गरी साथ दिएका छन् ।

कमजोर पक्ष

यो फिल्म मर्डर मिस्ट्री/क्राइम थ्रिलर जनारमा बनेको हो ।

यस्ता फिल्मले ‘अब के हुन्छ ?’ भन्ने प्रश्नको जवाफ खोज्न दर्शकको आँखा पर्दाबाट हट्न नदिने सामर्थ्य राख्नुपर्छ।

‘अब घटनाको रहस्य खुल्यो’ भनेर डर दर्शकमा पैदा भइरहेका बेला एन्टागोनिस्टको चलाखीले फिल्मलाई थप रोचक बनाउनसक्नु पर्छ ।

यो फिल्मको थ्रिलिङ पाटो भनेकै सिम्रन पोखरा गएको अंश हो । कथाको मुख्य आकर्षण नै यही पाटोमा छ । तर, यो पाटो नै पूर्वअनुमान गर्न सकिन्छ । दर्शकले क्लु थाहा पाइहाल्छन् ।

हत्या भएको पात्रप्रति दर्शकमा एन्टागोनिस्ट भाव नै कमजोर हुन्छ । दर्शकको सहानुभूति भएकै पात्रको हत्या भएको हुन्छ ।

यही क्रमममा लास लुकाउने प्रोटागोनिस्टको मुख्य कार्यमै दर्शक असन्तुष्ट हुने स्थान छ ।

अर्को कमजोरी- एन्टागोनिस्ट पात्रहरू प्रति दर्शकको रिस र क्रोध नै कमजोररुपमा विकास हुने स्थान छ ।

यो जनराको फिल्ममा स्ट्रङ लजिक हुनुपर्छ । अनि दर्शकलाई कथा विश्वसनीय लाग्छ । ‘मास्टर्नी’मा धेरै स्थानमा ‘बकवास लजिक’ छन् । कथा खुल्ने डरले ती बकवास लजिकबारे यहाँ चर्चा गर्न असम्भव छ ।

यो फिल्मको कथाले मध्यान्तरअघिबाट मात्रै गति लिन्छ । सुरुको ४० मिनेट जति कथा अगाडि नबढ्दा दिक्क लाग्छ ।

लाजमर्दो कुरा त– ट्रेलरमा देखाइएको दृश्य नै फिल्ममा छैन । यो भनेको दर्शकसँग स्पष्ट झुट बोल्नु हो । ट्रेलरमा एउटा कुरा देखाइएर कुरा फिल्ममा नदेखाउनु भनेको दर्शकलाई अन्याय गर्नु हो ।

सकारात्मक पक्ष

फिल्ममा नेताको भूमिकामा देखिएका प्रमोदको अभिनय गज्जब छ । सिम्रनलाई छाडेर अन्य कलाकारको अभिनयमा खोट लगाउने स्थान कमै छ ।

हरेक पात्र र स्थानको नाम दर्शकले सजिलै स्मरण गर्न सक्छन् । प्रहरीमाथि ‘मास्टर्नी’ हाबी हुन्छिन् । यो प्रियंकाको अभिनयको क्षमताको दम हो । तर, प्रहरीलाई कमजोर देखाउनुलाई लेखकको अध्यननको कमी पनि मान्न सकिन्छ ।

क्लाइमेक्समा दीपकराज गिरीको गेस्ट अपिरिएन्स छ । क्लाइमेक्सको शक्तिशाली पात्र नै उनै हुन् । यहाँ क्लाइमेक्स लेखनमा सबैभन्दा कमजोर मानिने कथानक उपकरण ‘डिअस एक्स माकिना’ प्रयोग भएको छ । अर्थात्, प्रोटागोनिस्टलाई बलियो बनाउन गेस्ट अपिरिएन्सको साहारा लिनुलाई कमजाेर लेखन मानिन्छ ।

संवादहरू सटिक छन् । सम्पादन चुस्त छ । केही दृश्यले सिनेम्याटिक भाइव दिन्छ ।

०००

भारतीय फिल्मको कथा हुबहु नक्कल गर्दै नेपालमा फिल्म बनाउने प्रवृति पुरानै हो । त्यसैको निरन्तरता ‘मास्टर्नी’ हो । प्रियंकाले मेकिङमा आएर केही नयाँपन देखाउन सकिनन् । कपी गर्ने पुरानै रोगलाई झन् फैल्याउने काम गरिन् ।

यसरी कथा कपी गरेर फिल्म बनाउँदा समग्र फिल्म क्षेत्र नै बदनाम हुनसक्छ । कि रिमेक हो भनेर दर्शकलाई भन्नुपर्छ ।

‘दृश्यम’को कमसल कपी ‘मास्टर्नी’ हो भन्दा प्रियंकाले खण्डन गर्न सक्ने आधार छैनन् ।

प्रेम कथाका फिल्ममा ‘नायक–नायिकाको लभ पर्छ, विछोड हुन्छ, निधन हुन्छ । त्यसो भए सबै लभस्टोरी फिल्मलाई कपी भन्ने’ जस्ता लजिक मास्टर्नी र दृश्यममा लागु हुँदैन ।

दृश्यम र मास्टर्नीमा कथाको विकास, उतारचढाव र क्लाइमेक्स समान प्रकृतिको छ । मास्टर्नीले फरक स्वाद पनि दिन सकेको छैन ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ८ : ०९ बजे

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री