काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करार सेवामा सरकारी जागिर खाएको आरोपमा एक कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको अख्तियारको आरोप छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले उक्त प्रमाणपत्रका आधारमा सुरुमा रुम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर पदमा करार सेवामा काम गरेका थिए ।
नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ तथा सुविधा लिएको देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले उक्त कसुरमा सोही कानुनी व्यवस्थाबमोजिम कैद र जरिवाना सजाय गर्न मागदाबी गरेको छ ।













प्रतिक्रिया