बेइजिङ- गत ३१ वैशाखदेखि जेठ १ गतेसम्म दुई दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गरे ।
इरान युद्का कारण तनावमा रहेका उनी उच्च अपेक्षासहित बेइजिङ उत्रिएका थिए । बेइजिङ भ्रमणका क्रममा ट्रम्पले राष्ट्रपति सी चिनफिङले यो द्वन्द्व चाँडै अन्त्य भएको देख्न चाहेका बताएका थिए । तर दुई देशबीच ठोस सम्झौता नभए पनि वर्तमान तनाव यो भ्रमणले घटाउन केही मद्दत गरेको छ।
यसैबीच बेइजिङमा भएको चीन-अमेरिका शिखर वार्ता र साझा समझदारीबारे चिनियाँ विदेशमन्त्री वाङ यीले लामो ब्रिफिङ गरेका छन् । उनले उक्त ब्रिफिङका क्रममा दुई ठूला राष्ट्रबीच सहकार्यको सही बाटो खोज्ने प्रयास गरेका पनि बताएका छन् ।
ट्रम्पको भ्रमणबारे विदेशमन्त्री यीसँग पत्रकारले गरेको सवाल-जवाफ
चीन-अमेरिका शिखर वार्तालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
राष्ट्रपति सी चीनफीङ र र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चीन-अमेरिका सम्बन्ध तथा विश्व शान्ति र विकाससँग सम्बन्धित महत्वपूर्ण विषयमा खुला, गहिरो, रचनात्मक तथा रणनीतिक छलफल भएको थियो। दुवै नेताले दुई ठूला राष्ट्रबीच सहकार्यको सही बाटो खोज्ने प्रयास गरेका र विभिन्न महत्वपूर्ण समझदारीमा पुगेका थिए। धेरै सञ्चारमाध्यमले यसलाई ‘ऐतिहासिक भेट’ भन्न सकिन्छ ।
चीन र अमेरिका दुवै आफ्नो विकासको महत्वपूर्ण चरणमा छन्। चीनले आफ्नो १५औँ पञ्चवर्षीय योजना सुरु गरिरहेको छ भने अमेरिकाले स्वतन्त्रताको २५०औँ वर्ष मनाइरहेको छ। यस्तो विशेष समयमा बेइजिङमा भएको भेटवार्ताले चीनको पुनर्जागरण र ‘अमेरिकालाई फेरि महान बनाउने’ अभियान एकअर्काको विरोधी नभई सहअस्तित्वमा अघि बढ्न सक्ने सन्देश दिएको छ ।
चीन-अमेरिका सम्बन्ध नयाँ सुरुआती बिन्दुमा पुगेको छ । २०२५ अक्टोबरमा बुसानमा भएको भेटपछि दुई नेताबीचको पहिलो प्रत्यक्ष भेट र नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको चीन भ्रमण भएको हो ।
सबैभन्दा महत्वपूर्ण राजनीतिक समझदारी ‘रणनीतिक स्थायित्वसहितको रचनात्मक चीन-अमेरिका सम्बन्ध’ निर्माण गर्ने सहमति हो। यसका साथै विदेश नीति, सेना-सेना सम्बन्ध, व्यापार, सार्वजनिक स्वास्थ्य, कृषि, पर्यटन, जनस्तरीय सम्बन्ध र कानुन कार्यान्वयनमा थप सहकार्य गर्ने समझदारी भएको छ ।

‘रणनीतिक स्थायित्वसहितको रचनात्मक सम्बन्ध’ भन्नाले के बुझिन्छ?
यो नयाँ दृष्टिकोणले आगामी तीन वर्ष र त्यसपछिको चीन-अमेरिका सम्बन्धलाई मार्गदर्शन गर्नेछ।
सकारात्मक स्थायित्व : सहकार्यलाई मुख्य आधार बनाउने र आदानप्रदानमार्फत सम्बन्धलाई बलियो बनाउने।
स्वस्थ स्थायित्व : प्रतिस्पर्धालाई शून्य-योग खेलमा नबदल्ने र नियमअनुसार निष्पक्ष प्रतिस्पर्धा गर्ने।
निरन्तर स्थायित्व : सम्बन्धलाई उतारचढावयुक्त ‘रोलर कोस्टर’ जस्तो नबनाई नीतिगत स्थिरता कायम गर्ने।
दीर्घकालीन स्थायित्व : शान्तिपूर्ण सहअस्तित्वलाई प्राथमिकता दिने र द्वन्द्व तथा युद्ध अस्वीकार्य मान्ने।
चीन र अमेरिकाले एकअर्काको राजनीतिक व्यवस्था, विकास मार्ग, मुख्य चासो र विकासको अधिकारलाई सम्मान गर्नुपर्ने दिशामा छलफल भएको छ।
नेतृत्व तहमा कस्ता सहमति भए ?
चीन-अमेरिका सम्बन्धको केन्द्रमा राष्ट्रपतिस्तरको सम्पर्क छ। राष्ट्रपति ट्रम्प पदमा आएपछि दुई नेताबीच दुई पटक भेट, पाँच पटक टेलिफोन संवाद र धेरै पत्राचार भइसकेको छ।
यस भ्रमणका क्रममा दुवै नेताले भेटघाट, फोन र पत्रमार्फत निरन्तर सम्पर्कमा रहने सहमति गरेका छन्। ट्रम्पको निमन्त्रणामा राष्ट्रपति सीले यस वर्षको शरद ऋतुमा अमेरिकाको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
विदेश नीति तथा व्यापारसम्बन्धी संवाद संयन्त्र सक्रिय राख्ने, मतभेद व्यवस्थापन गर्ने र सहयोगका क्षेत्र विस्तार गर्ने समझदारी पनि भएको छ ।
यसले जनस्तरको आदानप्रदानमा कस्तो प्रभाव पार्छ ?
राष्ट्रपति सीले चीन-अमेरिका सम्बन्धको आधार जनस्तरको सम्बन्ध र युवापुस्तामा रहेको बताएका छन्। यस क्रममा सीले पाँच वर्षभित्र ५० हजार अमेरिकी युवालाई चीनमा अध्ययन तथा आदानप्रदान कार्यक्रममा आमन्त्रण गर्ने पहल अघि सारेका थिए, जसलाई व्यापक स्वागत मिलेको छ ।
भेटका क्रममा राष्ट्रपति ट्रम्पले पनि चिनियाँ विद्यार्थीलाई अमेरिकामा स्वागत गर्ने बताएका थिए। यस्तो दुईतर्फी आदानप्रदानले दुवै देशका युवाको दृष्टिकोण फराकिलो बनाउने र सम्बन्धको भविष्य बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
भ्रमणका क्रममा दुवै नेताले टेम्पल अफ हेभनको भ्रमण गरे। यसले आपसी समझदारी र मित्रता गहिर्याउने सन्देश दिएको छ।

ताइवान मुद्दामा के छलफल भयो ?
ताइवान प्रश्न शिखर वार्ताको महत्वपूर्ण विषय थियो। चीनको धारणा स्पष्ट रहेको छ । ताइवान चीनको आन्तरिक मामिला भएको हो। ‘एक चीन’ सिद्धान्त र चीन-अमेरिका संयुक्त विज्ञप्तिको पालना गर्न आग्रह गरिएको छ।
ताइवान मुद्दा चीन-अमेरिका सम्बन्धकै सबैभन्दा संवेदनशील विषय भएको छ । ‘ताइवान स्वतन्त्रता’र ताइवान जलडमरूमध्यको शान्ति एकअर्कासँग मेल खाँदैन। अमेरिकी पक्षले चीनको चासोलाई गम्भीरतापूर्वक बुझेको र ताइवान स्वतन्त्रताको समर्थन नगर्ने संकेत दिएको छ।
व्यापार र अर्थतन्त्रमा के सहमति भयो ?
दुई शीर्ष नेताबीच आर्थिक तथा व्यापारिक सम्बन्धमा गहिरो छलफल भएको थियो। दुवै पक्षले अघिल्ला सहमतिहरू कार्यान्वयन जारी राख्ने, व्यापार र लगानी बोर्ड स्थापना गर्ने, कृषि उत्पादनको बजार पहुँचसम्बन्धी चासो सम्बोधन गर्ने तथा पारस्परिक शुल्क कटौतीको ढाँचाभित्र व्यापार विस्तार गर्ने सहमति गरेका छन्। सम्झौताका प्राविधिक पक्षबारे दुवै टोलीबीच अझै परामर्श भइरहेको छ।
७. अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा के छलफल भयो?
मध्यपूर्व
भेटमा राष्ट्रपति सीले बल प्रयोगले समस्या समाधान नहुने र संवाद नै सही विकल्प भएको ट्रम्पलाई बताएका थिए।
उक्त वार्तामा चीनले अमेरिका र इरानलाई वार्तामार्फत मतभेद समाधान गर्न आग्रह गरेको छ। यसका साथै युद्धविराम कायम राख्दै स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्नुपर्ने धारणा चीनले बलियोसँग राखेको छ ।

युक्रेन संकट
चीन र अमेरिका दुवैले युक्रेन युद्ध चाँडै अन्त्य होस् भन्ने चाहना राखेका छन्। यति जटिल समस्याको सरल समाधान नहुने भएकाले राजनीतिक समाधानका लागि दुवै देशले संवाद जारी राख्ने छन् ।
चीन-अमेरिका सम्बन्धले दुवै देशका १ अर्ब ७० करोडभन्दा बढी जनताको हितसँगै विश्वका ८ अर्बभन्दा बढी मानिसको भविष्यलाई असर गर्नेछ । बेइजिङमा दुई राष्ट्रपतिबीच भएका समझदारी कार्यान्वयन गर्न चीन अब अमेरिकासँग सहकार्य गर्न तयार रहेको छ।















प्रतिक्रिया