नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी दुई देशबीचको प्रगाढ सैन्य सम्बन्ध पनि हो। नेपाल र भारतले एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदबाट सम्मानित गर्ने निकै पुरानो परम्परा रही आएको छ । हालै राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।
नेपाल र भारतबीच सन् १९५० देखि एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । सोही अनुसार धीरज सेठलाई उक्त सम्मान गरिएको हो । नेपालका प्रधानसेनापति अशोकराज सिग्देलको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउनुभएका भारतका स्थल सेनाध्यक्षको यस नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्धलाई अझ प्रगाढ बनाउने र आपसी विश्वासलाई बढाउने माध्यमका रूपमा लिन सकिन्छ । भारतका सेनाध्यक्षले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसित पनि भेटवार्ता गर्नुभयो । यस भेटवार्ताले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनेछ ।
नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देल भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन् । २७ मङ्सिर २०८१ मा नयाँ दिल्लीस्थित भारतको राष्ट्रपति भवनमा एक विशेष समारोहबीच उनलाई भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् । ३० जुन २०२६ मा भारतीय सेनाध्यक्ष बनेका धीरज सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन् । ६ मङ्सिर २०८१ मा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जायानी चिह्न प्रदान गरेका थिए ।
वि.सं. २००७ सालमा भारतीय सेनाका तत्कालीन फिल्ड मार्सल के.एम. करिअप्पालाई नेपाली सेनाको मानार्थ सेनापति र वि.सं. २०२६ सालमा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई भारतीय सेनाको मानार्थ स्थल सेनाध्यक्षको दर्जा प्रदानसँगै यो परम्परा सुरु भएको थियो । दुवै देशका नवनियुक्त सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ सेनापतिको सम्मान गर्ने परम्परा निरन्तर रहँदै आएको छ । विश्वका सीमित मुलुकहरूबीच पाइने यस्तो परम्पराले दुई देशबीचको सम्बन्धलाई विशिष्ट पहिचान दिएको छ । यसले विश्वासको वातावरण निर्माण गर्नुका साथै प्रत्यक्ष संवादलाई पनि सहज बनाउँछ । सैनिक सम्बन्ध र सुरक्षा आयाम अत्यन्त संवेदनशील हुने गर्दछ । विगतमा समस्या तथा सङ्कट उत्पन्न हुँदा यो सम्बन्धले ठूलो सहयोग पुर्याएकोले यस सम्बन्धलाई राष्ट्रिय हितमा अझ बढी उपयोग गर्नेतर्फ हाम्रो ध्यान जानुपर्ने निष्कर्ष देशका अवकाशप्राप्त रणनीतिक सुरक्षाविद्हरूको रहेको छ ।
विपत् व्यवस्थापन, सैनिक तालिम, संयुक्त अभ्यास र क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा दुई देशका सेनाबीच निरन्तर सहकार्य हुँदै आएको छ । २०७२ सालको विनाशकारी भूकम्पका बेला भारतीय सेनाले नेपालमा उद्धार तथा राहत कार्यमा महत्त्वपूर्ण सहयोग गरेको थियो । भारतीय सेनामा कार्यरत गोर्खा सैनिकले भारतको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षामा लामो समयदेखि योगदान दिँदै आएका छन् ।
दुवै देशका सैनिकले एक अर्काको अनुभव, सिप र दक्षताको उपयोग गर्दै आएका छन् । भारतीय सेनाका विभिन्न प्रतिष्ठित सैनिक शिक्षण संस्थामा नेपाली सैनिक अधिकारीले तालिम तथा अध्ययन गर्दै आएका छन् । नेपाली सेनाले पनि उच्च हिमाली क्षेत्रमा सैनिक सञ्चालन तथा ‘हाई अल्टिच्युड एन्ड माउन्टेन वारफेयर’ मा आफ्नो अनुभव भारतीय सैनिकलाई प्रदान गर्दै आएको छ ।
आपसी सहमतिमा नेपाली सेनालाई क्षमता अभिवृद्धिका लागि तालिम र भौतिक सामग्री बेग्लै विधिद्वारा उपलब्ध गराइँदै आइएको छ । नेपाली सेनालाई आवश्यक पर्ने सैन्य रणकौशल, अपरेसन र रणनीतिक तहका व्यावसायिक तालिममध्ये राष्ट्रिय प्रतिरक्षा तालिममा भारतले उपलब्ध गराउने कोटामा नेपाललाई प्राथमिकता दिँदै आएको छ । नेपाली–भारतीय सेनाबीचको सहकार्यलाई अघि बढाउने सन्दर्भमा दुवै मुलुकबीच नियमित बैठक हुँदै आएका छन् । नियमित रूपमा एक अर्का देशमा हुँदै आएको “अभ्यास सूर्य किरण” ले पछिल्ला वर्षमा सैनिक सङ्गठनबीचको सम्बन्ध सुदृढ बनाउनमा कोसेढुङ्गा साबित भएको छ । दुवै देशका सैनिक सम्मिलित “माउन्ट एभरेस्ट” आरोहण पनि विगतमा भएको हो । दुई देशका सैनिक निरन्तर सम्पर्क, भ्रमणको आदानप्रदान र सहकार्यले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने गरेको छ ।
२०७२ सालमा नेपालमा आएको महाभूकम्पपश्चात् खोजी, उद्धार र राहतका लागि हेलिकोप्टरसहितको जनसहयोग भारतबाट आएको थियो । भूकम्पका कारण क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा भारत सरकारले ठूलो सहयोग गरेको हो । राजनीतिक क्षेत्रबाट कुनै प्रश्नको जवाफ उठेमा सैनिक कूटनीतिका माध्यमबाट पनि सम्बोधन गर्न सकिने अवस्था छ ।
सन् १९४७ मा जब भारतबाट ब्रिटिस शासकहरू फर्किए, त्यतिखेर भएको त्रिपक्षीय सम्झौताअन्तर्गत गोर्खा पल्टनको माग ल्याइएको थियो । गोर्खा रेजिमेन्टमध्ये नौ वटा स्वतन्त्र भारतकै सैनिक अङ्गका रूपमा र चार रेजिमेन्ट ब्रिटिस सेनामा सहभागी भए । अहिले पनि भारतीय सेनामा ७ वटा गोर्खा रेजिमेन्ट र ३९ वटा बटालियन रहेका छन् । त्यसमध्ये ६० प्रतिशत जति नेपाल र ४० प्रतिशत भारतका गोर्खा तथा पहाडी समुदायका छन् । अहिले भारतीय सेनामा गोर्खा सैनिकहरूको सङ्ख्या सम्मानजनक रूपमा नै रहेको छ ।
भारतीय सेनामा काम गरेबापत नेपालीहरूले पाउने तलब र पेन्सन सुविधाबापत वर्षेनि ८० अर्बभन्दा बढी रुपैयाँ नेपाल भित्रिने गरेको छ । गोर्खा भर्तीबाट आउने यो रेमिट्यान्स पनि कम होइन । आफ्नो देशको सुरक्षाका लागि राखिएको अति संवेदनशील सेनाको एउटा अङ्गका रूपमा नेपाली गोर्खामाथि भारतले विश्वास गर्नु प्रत्येक नेपालीका लागि गर्वको विषय हो । भारतीय गोर्खाहरू त विगत लामो समयदेखि गोर्खा भर्तीमा केवल भारतीय गोर्खाहरूको मात्रै भर्ती हुनुपर्ने माग गर्दै आएका छन् । नेपालमा पनि केही खास राजनीतिक विचारधाराका र केवल विरोध गर्न मात्रै जानेकाहरू गोर्खा भर्तीको विरोध गर्दै आएका छन् । नेपाल–भारत सम्बन्ध प्रगाढ भएको हेर्न नचाहने केही पनि यसको विरोध गर्दै आएका छन् । तर ती देशहरू आफ्नो देशको सेनामा नेपाली गोर्खा भर्ती गर्न मानिरहेका छैनन् ।
लाखौँ रुपैयाँ म्यानपावर कम्पनी र तिनका दलाललाई बुझाएर पनि राम्रो काम नपाइएमा नारकीय जीवन बिताउनु, ज्यान जोखिममा पार्नु र घरपरिवारको संरचनालाई तहसनहस पार्नुको सट्टा सम्मानसहित घरनजिक नै पैसा कमाउनु गर्वको विषय हो । नेपालका केही राजनीतिक दलहरूले दुष्प्रचार नगरेका भए तथा विगतका सरकारले दूरदर्शी नीति लिएका भए विगत ५ वर्षमा ५–६ हजार जति नेपाली युवाहरू गोर्खा भर्तीमा सामेल भइसकेका हुने थिए । भारतीय सेनामा गोर्खा भर्तीको विरोध गर्नेहरूले युक्रेन, रुस, इरान, इराक, अफगानिस्तान र सिरियामा भाडाका सैनिकका रूपमा अवैध तरिकाले सहभागी भएका नेपाली युवाहरू मारिँदा तिनका शवको सद्गति पनि नेपालभित्र हुन सकेन ।
अनुदान राशि पाउनु त टाढाको कुरा, बिचरा युवाको बलिदानको मूल्याङ्कन न त स्वदेशमा, न त विदेशमा नै हुन सक्यो । भारत र नेपालका गोर्खा सैनिकबीचको तलब सुविधा, बढुवा र पेन्सनलगायत सबै सुविधामा एकसमान व्यवहार गरिन्छ । तीन जना गोर्खा सैनिक भारतीय सेनामा लेफ्टिनेन्ट जनरल भएका छन् । मेजर जनरल र ब्रिगेडियर पनि भएका छन् । कर्नेल त कति छन् कति ! दक्षिणी छिमेकी भारतमा केहीअघि लागू गरिएको “अग्निपथ” नामक नयाँ सैनिक भर्ना अभियान, देशका सबै नयाँ सैनिकहरूको निम्ति हो । चार वर्षको सेवा अवधि र त्यसपछि २०–२० लाख जति नेपाली रुपैयाँसहित बिदाइ गर्ने व्यवस्था यो नियममा लागू छ।
यसमध्ये केहीलाई सेनामा निरन्तरता दिइने, केहीलाई सुरक्षाका अन्य क्षेत्रमा काम गर्ने अवसर हुने र केहीलाई प्रादेशिक सुरक्षामा पनि भर्ना भएर काम गर्ने विकल्प खुला रहनेछ । विश्वका अधिकांश ठूला र शक्तिशाली देशहरूमा सेना भर्तीको प्रावधान यस्तै खालको रहेको छ । नेपालले यस सम्बन्धमा सकारात्मक निर्णय गरेमा देशका युवाहरूको हकमा रोजगारीको एउटा विकल्प खुला हुनेछ । भारतीय सेनाको प्राथमिकतामा ठूला तथा शक्तिशाली देश भए पनि नेपाललाई यसले प्राथमिकतामा राखेको छ ।
दक्षिण एसियाको पुरानो सङ्गठन नेपाली सेना अन्तर्राष्ट्रिय स्तरमा जानकार, साहसिक, व्यावसायिक, अनुशासित रहेको छ भन्ने बुझाइ भारतको रही आएको छ । भारत हरेक किसिमले नेपाली सेनालाई सहयोग गर्न तयार छ । साइबर सुरक्षा, अन्तरदेशीय अपराध, आतङ्कवाद, जलवायुजन्य विपद्, मानवीय सङ्कट तथा सूचना सुरक्षा जस्ता साझा चुनौतीहरूको सामना गर्न पनि दुवै देशका सैनिकहरूको एकजुट प्रयास आवश्यक छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमण तथा मानार्थ महारथीको सम्मान हाम्रो दीर्घकालीन मित्रता, संस्थागत विकास र रणनीतिक सहकार्यको निरन्तरताको प्रतीक हो । भारतीय सेनाध्यक्षले पोखरामा पूर्व गोर्खा सैनिकहरूद्वारा आयोजित कार्यक्रममा सहभागी भई तिनको अवस्था र समस्याबाट अवगत भयो । उनले नेपाली गोर्खाहरूको त्याग, बलिदान, वीरता र समर्पणको ठूलो प्रशंसा गर्नुभयो । नेपाल–भारत सैन्य सम्बन्ध थप सुदृढ हुनुपर्छ ।












प्रतिक्रिया