इस्टर बमकाण्डमा पूर्व गुप्तचर प्रमुख पक्राउ « Khabarhub

इस्टर बमकाण्डमा पूर्व गुप्तचर प्रमुख पक्राउ


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– श्रीलंकाले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट प्रकरणमा देशका पूर्व गुप्तचर प्रमुखलाई पक्राउ गरेसँगै सात वर्षदेखि विवाद र शंकामा रहेको घटनाले नयाँ मोड लिएको छ । 

पैँतालिस विदेशी नागरिकसहित २७९ जनाको ज्यान लिएको उक्त आक्रमणसँग सम्बन्धित षड्यन्त्र र सहयोगको आरोपमा सेवानिवृत्त मेजर जनरल सुरेश सल्लेलाई बुधबार राजधानी कोलम्बोको उपनगरबाट हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

अनुसन्धान अधिकारीका अनुसार सल्लेमाथि इस्टर हमलाको योजनामा संलग्न व्यक्तिहरूसँग सम्पर्क राखेको र षड्यन्त्रमा सहयोग गरेको आरोप लगाइएको छ । उनले यसअघि आत्मघाती आक्रमणको आयोजना गरेको आरोप अस्वीकार गर्दै आएका थिए। 

अप्रिल २१ मा आक्रमणको सातौँ वार्षिकोत्सव नजिकिँदै गर्दा गरिएको यो गिरफ्तारीलाई दीर्घकालदेखि प्रतीक्षित कदमका रूपमा हेरिएको छ ।

समन्वित आत्मघाती विस्फोटहरूले कोलम्बोका तीन उच्चस्तरीय होटल, दुई रोमन क्याथोलिक चर्च र राजधानी बाहिरको एक इभान्जेलिकल चर्चलाई लक्षित गरेका थिए । 

स्वदेशी जिहादी समूहलाई दोषी ठहर गरिए पनि घटनाको पृष्ठभूमिबारे निरन्तर प्रश्न उठ्दै आएका छन् । लगभग चार दशक लामो तमिल पृथकतावादी युद्ध सन् २००९ मा अन्त्य भएपछि नागरिकविरुद्धको यो सबैभन्दा घातक आक्रमण बनेको थियो ।

गोटाबाया राजापाक्ष राष्ट्रपति बनेपछि सन् २०१९ मै सल्लेलाई राज्य गुप्तचर सेवा (एसआइएस) प्रमुखमा पदोन्नति गरिएको थियो । तर सन् २०२४ मा अनुरा कुमार दिसानायक राष्ट्रपति निर्वाचित भएपछि उनलाई पदमुक्त गरिएको थियो । देशको रोमन क्याथोलिक चर्चले पटक–पटक सरकारले वास्तविक योजनाकार पहिचान गर्न असफल भएको आरोप लगाउँदै आएको छ ।

बेलायती प्रसारणकर्ता च्यानल ४ ले सन् २०२३ मा सल्ले इस्लामवादी हमलाकर्तासँग जोडिएको र आक्रमणअघि उनीहरूलाई भेटेको दाबी गरेको थियो । एक ह्विसलब्लोअर ९ गोप्य जानकारी सार्वजनिक गर्ने व्यक्ति० ले राष्ट्रपति चुनावलाई प्रभावित पार्ने उद्देश्यले आक्रमण हुन दिइएको आरोपसमेत लगाएका थिए । आक्रमणको दुई दिनपछि गोटाबाया राजापाक्षले उम्मेदवारी घोषणा गरेका थिए र इस्लामवादी चरमपन्थ उन्मूलन गर्ने प्रतिबद्धतासहित चुनाव जितेका थिए ।

यसैबीच, एक पूर्व जिहादी सदस्यले समूहलाई प्रारम्भिक चरणमा सैन्य गुप्तचर एकाइबाट आर्थिक सहयोग प्राप्त भएको दाबी गरेका थिए । त्यस समय सरकारले कट्टरपन्थी समूहको पछाडि सेनाको संलग्नता स्वीकार गरेको थियो । तथापि, बम विस्फोटपछि इस्लामिक स्टेट (आइएसआइएस) ले जिम्मेवारी लिएको भए पनि प्रत्यक्ष विदेशी सम्बन्ध पुष्टि गर्ने प्रमाण फेला नपरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

आक्रमणमा ५०० भन्दा बढी घाइते भएका थिए र पर्यटन उद्योगमा गम्भीर असर परेको थियो । सन् २०२१ मा अमेरिकी अधिकारीहरूले पाँच अमेरिकी नागरिकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा तीन श्रीलंकालीमाथि मुद्दा दायर गरेका थिए । श्रीलंकाको उच्च अदालतले दोषी ठहर गरेका २५ संदिग्धमध्ये तीन जना त्यही प्रकरणसँग सम्बन्धित छन् ।

सर्वोच्च अदालतले तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेना र चार वरिष्ठ अधिकारीलाई आक्रमण रोक्न असफल भएको ठहर गर्दै १० लाख तीन हजार डलर जरिवाना गरेको थियो । संयुक्त राष्ट्रसङ्घले पनि घटनासम्बन्धी अघिल्लो अनुसन्धानका केही गोप्य अंश सार्वजनिक गर्न आग्रह गरेको छ ।

पूर्व गुप्तचर प्रमुखको पक्राउसँगै श्रीलंकामा इस्टर बमकाण्डको सत्य बाहिर ल्याउने माग पुनः तीव्र भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १ : ५९ बजे

अमेरिकाको मिसौरीमा गोली हानाहान : दुई प्रहरीको मृत्यु, तीन घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा

एन्फा राष्ट्रिय लिग : लालीगुराँस शीर्षस्थानमा

काठमाडौं– लालीगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्षस्थानमा उक्लिएको छ । 

तेहरान हिरासतमा रहेका आफ्ना नागरिकलाई रिहा गर्न जापानको माग

टोकियो– जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई

चुनावी घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई कांग्रेसको विशेष, अन्य दलको औसत सम्बोधन

काठमाडौं– फागुन २१ गते हुने निर्वाचन लक्षित गरी राजनीतिक दलहरूले

कार्यकाल सकिए पनि पुनः एमालेमा क्रियाशील हुन्छु : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा हुने प्रतिनिधित्व निकै उत्तम