बिग्रेको गाडी धकेल्दै कहाँ पुग्लान् ओली ? « Khabarhub

बिग्रेको गाडी धकेल्दै कहाँ पुग्लान् ओली ?


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अत्यन्तै संकटको अवस्थामा पुगेका छन् भनेर सबैलाई लागेको छ । तर उनलाई भने यो विषयले कतै छोएको छैन । मनको कुनै कुनामा पनि पोलेको वा दुखेको छैन । अरु कसैले समस्या छ भनेर भनिदिए पनि भोग्नेले नभोगेपछि अरुले सहानुभूति दिनुको कुनै अर्थ छैन । यो चरित्र ओलीको जीवनमा भने सधैँ लागू हुने गरेको छ ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा एमालेको लज्जास्पद हार भएको धेरैले बुझेका छन् । तर ‘बुझ्नेले कुरा नबुझेपछि मनमा कुरा नलिएपछि’ गीतले भनेझैँ त्यस्तै अवस्था आएको छ । हुन त ओलीले मेरो कारणले पार्टी हारेको होइन भनेर अरु धेरै कारण दिन सक्छन् । शब्दको धनी र वाककलाका प्रखर व्यक्तित्व के भन्छन् भन्ने अनुमान लगाउन कठिन छैन ।

राम्रो काम भए ‘सबै मैले गर्दा’ र गलत भए अरुलाई दोष दिने हाम्रो चलन कुनै नौलो होइन । अझ राजनीतिमा यो शैली आम प्रवृत्ति नै हो । के अब ओलीले ‘एमालेको अध्यक्ष हुँ’ भनेर हिजोको जस्तै छाती फुलाएर हिँड्ने अवस्था छ त ? त्यस्तो अवस्था पक्कै छैन । हुन त पार्टी भनेको सबैको साझा हो । गाउँमा बसेर आफ्नो पेट काटेर लेबी तिर्ने ठूलो तप्काको पार्टीमा धेरै अग्राधिकार रहन्छ ।  गाउँमा बसेर अरु नै काम गरेर पनि ‘म एमालेको मान्छे हुँ’ भनेर भन्नेको पनि पार्टी हो ।

पार्टीमा कसले के पद लियो त्यो बेग्लै विषय हो तर जसले त्यो जिम्मेवारी लिएको छ, त्यो जिम्मेवारी वहन गर्न सकेन भने उसलाई अयोग्यको दर्जा दिए फरक पर्दैन । आफूलाई अप्ठ्यारो परेपछि देशी– विदेशीको नाम लिँदै सबै दोष उनीहरुको थाप्लोमा खन्याइदिएर आफू चोखो हुन पनि हामीले जानेकै छौँ । ओलीलाई यो कुरा थाहा नहोला भन्ने लाग्दैन । जब आफ्नो नेतृत्व कमजोर भयो भन्ने लाग्छ, उसले कहाँ कहाँ के बिग्रिएछ भनेर समीक्षा गर्नुपर्छ ।

एमालेको नामबाट नै उनी प्रधानमन्त्री भए– पटक पटक । संसदमा अल्पमतमा पर्दा सरकार मेरै पक्षमा छ, सांसदले विश्वास गरेकै छन् भनेर सरकारको आयु लम्ब्याउन सक्ने क्षमताका ओलीको विवेक र चलाख्याइँकाे जति व्याख्या गरे पनि अपुग हुन्छ ।  पद हो फेरि आउँछ कि आउँदैन ? परिस्थिति के हुन्छ ? भन्न नसकिने भएकाले पाएसम्म खाइरहने र त्यस्तो अप्ठ्यारो नपर्दा अरुलाई कुनै अवसर दिनु हुँदैन भन्ने उनको चरित्र हेर्दा स्वाभाविक नै लाग्छ । तर विश्व समुदायले मेरो कामलाई कसरी हेरेको छ भन्ने कुरा सोच्नुपर्ने हो, यद्यपि त्यतातिर गएर आफूलाई कमजोर पार्ने चेष्टा कसले गरोस् ?

गुण्डुमा खुम्चिएको ओली आयतन
एमालेको सचिवालय बैठक आइतबार सकिएको छ । बैठकमा उनी बसेको गुण्डुका छिमेकी महेश बस्नेतले मात्र उनलाई काँध हालेका छन् । अरु सबै ओलीको विपक्षमा उभिएका छन् । ओलीबाट पार्टी चल्दैन, अब रुपान्तरण र पुस्तान्तरण गरिनु पर्छ भनेर सबैजसोले भने पनि ओलीले सुनेका छैनन् । अर्को पार्टीबाट आएर केही समयअघि एमाले भएका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ओलीलाई साथ दिएका छन् । हुन त बादललाई ओलीले लगाएको गुन यो जुनीका लागि पर्याप्त छ ।

गत मंसिरमा भएको पार्टी महाधिवेशनमा आफ्नो प्यानलमा पारेर पार्टीे उपाध्यक्ष जिताए । पछि फेरि समानुपातिक सांसदमा नाम राखे अनि छानिदिए । यति दिँदा पनि उनलाई ‘पुगिसरी’ भएको थियो । त्यसमाथि अझ एमाले संसदीय दलको नेता बनाएर अवसरको खात लगाइदिएका छन् । थापाले पाएजस्तो अवसर प्रायः कमैले पाउँछन् । ओलीकै कारण पार्टीमा पदैपद पाएका थापाले ओलीको विरोध गर्दा ती पद नै संकटमा पर्ने भएपछि ओली राम्रो भन्नुको विकल्प छैन । महेश वस्नेतको त कुरै गर्नु परेन, उनी आवश्यक परे बैठकमा नै दोहोरो भिडन्तमा उत्रन सक्छन् । महेशको ढाडस ओलीका लागि यतिबेला अन्तिम सञ्जिवनी बनेको छ । ठूलो ज्यानका उनी चानचुने क्षमताका होइनन् भन्ने नबुझ्ने प्रायः कमै छन् ।

त्यसो भए एमालेको गाँठो फुकाउने अबको निकास के त ? भन्ने विषयमा एमालेमा गम्भीर रुपले समीक्षा गर्नुपर्ने बेला भएको छ । सबैले पार्टी अध्यक्ष छोडेर आराम गर्न ओलीलाई सन्देश दिएका छन् । तर ओलीका लागि त्यो प्रस्ताव चिराइतो जस्तै भएको छ । बरु प्रश्न उठाउनेलाई उनको प्रतिप्रश्न छ– ‘मलाई के भएको छ र ? मैले गर्दां के बिग्रिएको छ ? किन आराम गर्नु ? म सक्रिय भइन भनें पार्टी कसरी चल्छ ?’ वर्षौँदेखि ओली आत्मविश्वासी तर रोगी शरीर लिएर धानिएका छन् । पथपरहेज चलेकै कारण उनले क्रियाशील जीवन पाएका हुन् । ओलीमा देखिएको अदम्य साहस र आत्मविश्वास चिकित्सा विज्ञानका लागि पनि चमत्कार भएको छ ।

सम्झिएर पनि सम्झिन नचाहने ओली
ओलीले सचिवालय बैठकमा आफूलाई सम्झाउनु नपर्ने भनेका छन् । हुन त सम्झाएर पनि केही लाग्ने छैन । सम्झाउनेको शब्द नै खेर जान्छ, जति घुमाउरो ढंगले भने पनि शब्दचयनको कलाले नै ग्लानी महसूस गर्छ । ओलीले अनेक तिक्डमबाजी गरेर तेस्रो पटक पनि अध्यक्ष जितेका छन् । आखिर पूर्वअध्यक्ष भनिन मात्रै उनले फेरि पनि मेहनत गरेका भने पक्कै होइन । अध्यक्ष भएपछि केही होला भन्ने सोच पलाउनु पनि अचम्म होइन ।

राजनीति भनेको व्यापारजस्तै भएको छ । सानो व्यापार गर्नेले थोरै कमाउँछ, ठूलो र होलसेल गर्नेले त्यस्तै कमाउँछ । एमालेको दोकान ठूलो छ । कहिलेकाहीँ सामान्य प्रकारका पैसा धेरै भएका र बुद्धि थोरै भएका सोझा ग्राहक आए भने कति फाइदा हुन्छ अनुमान नै लगाउन सकिँदैन । किन एउटै व्यक्ति पटक पटक अध्यक्ष, मुलुकको कार्यकारी पदमा भइरहन्छ ? यो खोजीको विषय बनेको छ । हिजोको दिनमा त नियुक्ति, सरुवा, ठेक्कापट्टा वा दायाँबायाँ कति हो कति ? अहिले त यी सबै कुरा कल्पनामै सीमित भएका छन् । तर पनि भोलिको दिनमा पालो आउला भनेर कुरेर बस्नुपर्ने बाध्यता छ ।

भनिन्छ– सास हुन्जेल आश हुन्छ । यो ५ वर्ष कसरी जाला भन्ने चिन्ता ओलीलाई छ । केही कारणले बीचैमा निर्वाचन भयो भने आउने आफू र एमाले नै हो भन्ने ओलीलाई नलाग्ने कुरै भएन । एमालेले दिएको अवसर के सबैलाई समान छ ? योग्यताका आधारमा नै कार्यकर्ताले काम र नाम पाएका छन् त ? पक्कै पनि छैन । चाकरीचाप्लुसी नै योग्यताको मुख्य आधार बनिरहेको यो समयमा नेतृत्वको वरिपरि घुमेर उसलाई नै खुशी पारेपछि अरु कोही नचाहिने भएकाले नै मानिसले त्यही बाटो पक्रिने गरेका छन् । 
अस्तिको निर्वाचनमा एकजना भन्दै थिए ‘म तीन महिना भइसक्यो पार्टीमा लागेको, मैले अब पनि टिकट नपाए कहिले पाउने ?’ तीन त होइन तेत्तीसै वर्ष भए पनि मापदण्डको घेरामा नपरेकाले टिकट त के, कहिल्यै केही पनि पाउँदैन । निर्वाचनमा टिकटको व्यापार हुन्छ भन्दा कसैलाई ‘सुनिसक्नु’ नहुन सक्छ तर यति र उति बुझाएर टिकट लिएको भन्ने सुन्नमा आउने गरेको छ ।

चन्दाले पार्टी चलाउने कि व्यक्ति ?
भन्न चाहिँ पार्टी चलाउन सहयोग भन्ने गरिन्छ तर त्यो रकम पार्टीको खातामा जान्छ वा व्यक्तिको त्यो भने बुझ्नु जरुरी छ । हामीलाई भन्न जति सजिलो छ, नेतालाई पनि त्योभन्दा बढी अप्ठ्यारो छ । कतिपय कुरा सीधै जोसुकैसँग गर्न नमिल्ने भएकाले बाहिर ‘एजेन्ट’ राख्नुपर्ने बाध्यता छ । एजेन्ट आफ्नो विश्वासपात्र नै हुनुपर्‍याे । त्यसैले पनि प्रमुख नेताका वरिपरि र सचिवालयमा बस्ने मान्छे कहिले पनि नफेरिने कारण त्यही हो । जसले सबै ‘सेटिङ’ मिलाउन सक्छ उ नै नेताको ‘भित्रिया’ हुन्छ । नयाँ मान्छेलाई नियुक्ति दिँदा चलखेलमा अवरोध हुन्छ भनेर नै उनीहरुले सचिवालयमा एउटैलाई मौका दिएका छन् । नेताले सीधै कुरा गर्नुभन्दा पनि ‘दले’ मार्फत जानु र आफ्ना पार्टीका कार्यकर्ता र नेतालाई पार्टीका प्रमुख नेताले भेटेर प्रष्ट कुरा नगर्नु पनि यस्तै संकेतको वरिपरि घुमेको मुख्य चुरो हो ।

अझ कतिपय अवस्थामा त आफ्ना पार्टीका मान्छेलाई भन्दा पनि ‘मोलमोलाई’ का आधारमा फरक पार्टीकालाई नियुक्ति र अवसर पनि दिएको देखिएको छ । यसो हुँदा झट्ट बाहिरबाट हेर्दा राजनीतिकरण नभएजस्तो पनि देखियो, घुमाउरो कुरा त ‘चलखेल’सँगै सम्बन्धित छ । योग्यता र क्षमताले मान्छेले अवसर पाउने भए बिहान बेलुका कसैले पनि नेताको घरको दैलो ढुक्ने थिएन तर परिपाटी नै त्यस्तै बनाइदिएर आफ्नो ‘टाउकाको मूल्य’ आफैँ बढाइरहेका थिए हिजोसम्म । तर आज नयाँ सरकार आएको छ, नयाँ सरकार र नयाँ पार्टी आइसकेपछि पुराना पार्टी र तिनका नेताहरु कामविहीन भएका छन् ।

‘मरेपछि जुम्राले पनि छोड्छ ।’ यो प्रचलित आहान हो ।  मृत्यु भइसकेका मानिसबाट रक्तसञ्चार नहुने भएकाले जुम्रा पनि बिना स्वार्थ बसिरहन सक्दैन । राजनीति त जुम्राको कथाभन्दा पनि ठूलो कुरा हो । अस्तिको प्रतिनिधिसभाको निर्वाचनमा केपी शर्मा ओलीको पनि अवस्था त्यस्तै भयो । झापा–५ बाट उम्मेदवार भएका उनले फोटो खिच्नका लागि मान्छे बोलाउनु नै पर्ने अवस्था आयो । हिजोको दिनमा ओलीसँग फोटो खिच्न र सेल्फी खिच्न तँछाडमछाड हुने त्यो अवस्था किन बदलियो त ? यसको प्रमुख कारण हो ओली चुनावमा पराजित हुने लगभग पहिले नै निश्चित थियो । यतिमात्रै होइन घण्टीलाई मतदान गर्ने सोच बनाइसकेकाले ओलीले ‘फोटो खिच्न आओ न’ भन्दा पनि समय दिएनन् । ठूलाले नपत्याएपछि कहिले केटाकेटीलाई बोलाएर त कहिले कोसँग भए पनि फोटो खिचेर ओलीले चित्त बुझाउनुपरेको थियो ।

विद्याको सदस्यता र गणतन्त्रको खतरा
एमालेको केही दिनअघि बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपतिसमेत रहेकी पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । गत मंसिरमा भएको महाधिवेशनअघि नै सदस्यता माग्दै पटकपटक हारगुहार गर्दा पनि ओलीले उनलाई सदस्यता दिएनन् । आफूविरुद्ध पार्टीमा जनमत बलियो भएको बुझेका ओलीले प्रतिस्पर्धीलाई पाल्ने कुरा पनि हुने थिएन । कतै आफूविरुद्धको असन्तुष्टि मत गएर विद्याले अध्यक्ष जित्छिन् कि भन्ने लाग्नु नै ओलीको हार थियो ।

एमाले कार्यकर्ताले विकल्पको रुपमा विद्यालाई देखेका थिए, उनी भूमिकामा रहन सकिनन् । उठ्नको लागि ओलीसँग इश्वर पोखरेल उठिदिए, प्रतिस्पर्धी भए तर नामको मात्रै मतमा प्रतिस्पर्धा हुन सकेन । हिजोको दिनमा राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा फर्किँदा गणतन्त्र खतरामा पर्छ भन्ने ओलीलाई आज गणतन्त्रमाथिको खतरा टरेजस्तो लाग्यो, विद्यालाई सदस्यता दिए ।

यो नीति, नियम र पार्टीको भन्दा माथि गएर ओलीको आफ्नै कानुन हो । तर हिजो र आजको अवस्थामा भने कुनै फरक छैन । फागुनमा चुनाव भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्यधिक मत ल्यायो । एमाले कतै बाँकी छ कि भनेर खोज्नुपर्ने अवस्था आयो, योचाहिँ सत्य हो ।

अब पनि एमालेभित्र वृहत समीक्षा गरेर नजाने हो भने एमाले पार्टी त रहला तर त्यसको अस्तित्व भने मेटिँदै जाने छ । निर्वाचनमा परिणाम नआएपछि, हुनुपर्ने ठाउँमा प्रतिनिधित्व नभएपछि र बोलिनुपर्ने ठाउँमा आवाज नसुनिने अवस्था आएपछि हामी पुरानो पार्टी भनेर कसैकसैको नाम लिएर आजीवन त्यसैको ब्याज खाइरहने र भएको साँवा पनि गुमाउने अवस्थामा एमाले पुगेको छ । सिद्धान्त र विचार राम्रै भए पनि जनताले नपत्याएपछि र परिस्थिति आफ्नो पक्षमा नभएपछि म यो पद, त्यो पद भनेर गीत गाउनु भनेको औँसीको रातमा पूर्णिमाको बखान गर्नु बराबर हो । 
 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १० : ५१ बजे

गुप्तेश्वर गुफामा पर्यटकको भीड : एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी– ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा

पूर्वप्रधानमन्त्री देउवाको पक्राउ पुर्जीविरुद्ध रिटको पेसी न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्ध दायर रिटको पेसी न्यायाधीशद्वय

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार

बिग्रेको गाडी धकेल्दै कहाँ पुग्लान् ओली ?

एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अत्यन्तै संकटको अवस्थामा पुगेका

ट्राफिक कारबाहीमा एकै दिन ११ लाख ५१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिनमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन