एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अत्यन्तै संकटको अवस्थामा पुगेका छन् भनेर सबैलाई लागेको छ । तर उनलाई भने यो विषयले कतै छोएको छैन । मनको कुनै कुनामा पनि पोलेको वा दुखेको छैन । अरु कसैले समस्या छ भनेर भनिदिए पनि भोग्नेले नभोगेपछि अरुले सहानुभूति दिनुको कुनै अर्थ छैन । यो चरित्र ओलीको जीवनमा भने सधैँ लागू हुने गरेको छ ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा एमालेको लज्जास्पद हार भएको धेरैले बुझेका छन् । तर ‘बुझ्नेले कुरा नबुझेपछि मनमा कुरा नलिएपछि’ गीतले भनेझैँ त्यस्तै अवस्था आएको छ । हुन त ओलीले मेरो कारणले पार्टी हारेको होइन भनेर अरु धेरै कारण दिन सक्छन् । शब्दको धनी र वाककलाका प्रखर व्यक्तित्व के भन्छन् भन्ने अनुमान लगाउन कठिन छैन ।
राम्रो काम भए ‘सबै मैले गर्दा’ र गलत भए अरुलाई दोष दिने हाम्रो चलन कुनै नौलो होइन । अझ राजनीतिमा यो शैली आम प्रवृत्ति नै हो । के अब ओलीले ‘एमालेको अध्यक्ष हुँ’ भनेर हिजोको जस्तै छाती फुलाएर हिँड्ने अवस्था छ त ? त्यस्तो अवस्था पक्कै छैन । हुन त पार्टी भनेको सबैको साझा हो । गाउँमा बसेर आफ्नो पेट काटेर लेबी तिर्ने ठूलो तप्काको पार्टीमा धेरै अग्राधिकार रहन्छ । गाउँमा बसेर अरु नै काम गरेर पनि ‘म एमालेको मान्छे हुँ’ भनेर भन्नेको पनि पार्टी हो ।
पार्टीमा कसले के पद लियो त्यो बेग्लै विषय हो तर जसले त्यो जिम्मेवारी लिएको छ, त्यो जिम्मेवारी वहन गर्न सकेन भने उसलाई अयोग्यको दर्जा दिए फरक पर्दैन । आफूलाई अप्ठ्यारो परेपछि देशी– विदेशीको नाम लिँदै सबै दोष उनीहरुको थाप्लोमा खन्याइदिएर आफू चोखो हुन पनि हामीले जानेकै छौँ । ओलीलाई यो कुरा थाहा नहोला भन्ने लाग्दैन । जब आफ्नो नेतृत्व कमजोर भयो भन्ने लाग्छ, उसले कहाँ कहाँ के बिग्रिएछ भनेर समीक्षा गर्नुपर्छ ।
एमालेको नामबाट नै उनी प्रधानमन्त्री भए– पटक पटक । संसदमा अल्पमतमा पर्दा सरकार मेरै पक्षमा छ, सांसदले विश्वास गरेकै छन् भनेर सरकारको आयु लम्ब्याउन सक्ने क्षमताका ओलीको विवेक र चलाख्याइँकाे जति व्याख्या गरे पनि अपुग हुन्छ । पद हो फेरि आउँछ कि आउँदैन ? परिस्थिति के हुन्छ ? भन्न नसकिने भएकाले पाएसम्म खाइरहने र त्यस्तो अप्ठ्यारो नपर्दा अरुलाई कुनै अवसर दिनु हुँदैन भन्ने उनको चरित्र हेर्दा स्वाभाविक नै लाग्छ । तर विश्व समुदायले मेरो कामलाई कसरी हेरेको छ भन्ने कुरा सोच्नुपर्ने हो, यद्यपि त्यतातिर गएर आफूलाई कमजोर पार्ने चेष्टा कसले गरोस् ?
गुण्डुमा खुम्चिएको ओली आयतन
एमालेको सचिवालय बैठक आइतबार सकिएको छ । बैठकमा उनी बसेको गुण्डुका छिमेकी महेश बस्नेतले मात्र उनलाई काँध हालेका छन् । अरु सबै ओलीको विपक्षमा उभिएका छन् । ओलीबाट पार्टी चल्दैन, अब रुपान्तरण र पुस्तान्तरण गरिनु पर्छ भनेर सबैजसोले भने पनि ओलीले सुनेका छैनन् । अर्को पार्टीबाट आएर केही समयअघि एमाले भएका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ओलीलाई साथ दिएका छन् । हुन त बादललाई ओलीले लगाएको गुन यो जुनीका लागि पर्याप्त छ ।
गत मंसिरमा भएको पार्टी महाधिवेशनमा आफ्नो प्यानलमा पारेर पार्टीे उपाध्यक्ष जिताए । पछि फेरि समानुपातिक सांसदमा नाम राखे अनि छानिदिए । यति दिँदा पनि उनलाई ‘पुगिसरी’ भएको थियो । त्यसमाथि अझ एमाले संसदीय दलको नेता बनाएर अवसरको खात लगाइदिएका छन् । थापाले पाएजस्तो अवसर प्रायः कमैले पाउँछन् । ओलीकै कारण पार्टीमा पदैपद पाएका थापाले ओलीको विरोध गर्दा ती पद नै संकटमा पर्ने भएपछि ओली राम्रो भन्नुको विकल्प छैन । महेश वस्नेतको त कुरै गर्नु परेन, उनी आवश्यक परे बैठकमा नै दोहोरो भिडन्तमा उत्रन सक्छन् । महेशको ढाडस ओलीका लागि यतिबेला अन्तिम सञ्जिवनी बनेको छ । ठूलो ज्यानका उनी चानचुने क्षमताका होइनन् भन्ने नबुझ्ने प्रायः कमै छन् ।
त्यसो भए एमालेको गाँठो फुकाउने अबको निकास के त ? भन्ने विषयमा एमालेमा गम्भीर रुपले समीक्षा गर्नुपर्ने बेला भएको छ । सबैले पार्टी अध्यक्ष छोडेर आराम गर्न ओलीलाई सन्देश दिएका छन् । तर ओलीका लागि त्यो प्रस्ताव चिराइतो जस्तै भएको छ । बरु प्रश्न उठाउनेलाई उनको प्रतिप्रश्न छ– ‘मलाई के भएको छ र ? मैले गर्दां के बिग्रिएको छ ? किन आराम गर्नु ? म सक्रिय भइन भनें पार्टी कसरी चल्छ ?’ वर्षौँदेखि ओली आत्मविश्वासी तर रोगी शरीर लिएर धानिएका छन् । पथपरहेज चलेकै कारण उनले क्रियाशील जीवन पाएका हुन् । ओलीमा देखिएको अदम्य साहस र आत्मविश्वास चिकित्सा विज्ञानका लागि पनि चमत्कार भएको छ ।
सम्झिएर पनि सम्झिन नचाहने ओली
ओलीले सचिवालय बैठकमा आफूलाई सम्झाउनु नपर्ने भनेका छन् । हुन त सम्झाएर पनि केही लाग्ने छैन । सम्झाउनेको शब्द नै खेर जान्छ, जति घुमाउरो ढंगले भने पनि शब्दचयनको कलाले नै ग्लानी महसूस गर्छ । ओलीले अनेक तिक्डमबाजी गरेर तेस्रो पटक पनि अध्यक्ष जितेका छन् । आखिर पूर्वअध्यक्ष भनिन मात्रै उनले फेरि पनि मेहनत गरेका भने पक्कै होइन । अध्यक्ष भएपछि केही होला भन्ने सोच पलाउनु पनि अचम्म होइन ।
राजनीति भनेको व्यापारजस्तै भएको छ । सानो व्यापार गर्नेले थोरै कमाउँछ, ठूलो र होलसेल गर्नेले त्यस्तै कमाउँछ । एमालेको दोकान ठूलो छ । कहिलेकाहीँ सामान्य प्रकारका पैसा धेरै भएका र बुद्धि थोरै भएका सोझा ग्राहक आए भने कति फाइदा हुन्छ अनुमान नै लगाउन सकिँदैन । किन एउटै व्यक्ति पटक पटक अध्यक्ष, मुलुकको कार्यकारी पदमा भइरहन्छ ? यो खोजीको विषय बनेको छ । हिजोको दिनमा त नियुक्ति, सरुवा, ठेक्कापट्टा वा दायाँबायाँ कति हो कति ? अहिले त यी सबै कुरा कल्पनामै सीमित भएका छन् । तर पनि भोलिको दिनमा पालो आउला भनेर कुरेर बस्नुपर्ने बाध्यता छ ।
भनिन्छ– सास हुन्जेल आश हुन्छ । यो ५ वर्ष कसरी जाला भन्ने चिन्ता ओलीलाई छ । केही कारणले बीचैमा निर्वाचन भयो भने आउने आफू र एमाले नै हो भन्ने ओलीलाई नलाग्ने कुरै भएन । एमालेले दिएको अवसर के सबैलाई समान छ ? योग्यताका आधारमा नै कार्यकर्ताले काम र नाम पाएका छन् त ? पक्कै पनि छैन । चाकरीचाप्लुसी नै योग्यताको मुख्य आधार बनिरहेको यो समयमा नेतृत्वको वरिपरि घुमेर उसलाई नै खुशी पारेपछि अरु कोही नचाहिने भएकाले नै मानिसले त्यही बाटो पक्रिने गरेका छन् ।
अस्तिको निर्वाचनमा एकजना भन्दै थिए ‘म तीन महिना भइसक्यो पार्टीमा लागेको, मैले अब पनि टिकट नपाए कहिले पाउने ?’ तीन त होइन तेत्तीसै वर्ष भए पनि मापदण्डको घेरामा नपरेकाले टिकट त के, कहिल्यै केही पनि पाउँदैन । निर्वाचनमा टिकटको व्यापार हुन्छ भन्दा कसैलाई ‘सुनिसक्नु’ नहुन सक्छ तर यति र उति बुझाएर टिकट लिएको भन्ने सुन्नमा आउने गरेको छ ।
चन्दाले पार्टी चलाउने कि व्यक्ति ?
भन्न चाहिँ पार्टी चलाउन सहयोग भन्ने गरिन्छ तर त्यो रकम पार्टीको खातामा जान्छ वा व्यक्तिको त्यो भने बुझ्नु जरुरी छ । हामीलाई भन्न जति सजिलो छ, नेतालाई पनि त्योभन्दा बढी अप्ठ्यारो छ । कतिपय कुरा सीधै जोसुकैसँग गर्न नमिल्ने भएकाले बाहिर ‘एजेन्ट’ राख्नुपर्ने बाध्यता छ । एजेन्ट आफ्नो विश्वासपात्र नै हुनुपर्याे । त्यसैले पनि प्रमुख नेताका वरिपरि र सचिवालयमा बस्ने मान्छे कहिले पनि नफेरिने कारण त्यही हो । जसले सबै ‘सेटिङ’ मिलाउन सक्छ उ नै नेताको ‘भित्रिया’ हुन्छ । नयाँ मान्छेलाई नियुक्ति दिँदा चलखेलमा अवरोध हुन्छ भनेर नै उनीहरुले सचिवालयमा एउटैलाई मौका दिएका छन् । नेताले सीधै कुरा गर्नुभन्दा पनि ‘दले’ मार्फत जानु र आफ्ना पार्टीका कार्यकर्ता र नेतालाई पार्टीका प्रमुख नेताले भेटेर प्रष्ट कुरा नगर्नु पनि यस्तै संकेतको वरिपरि घुमेको मुख्य चुरो हो ।
अझ कतिपय अवस्थामा त आफ्ना पार्टीका मान्छेलाई भन्दा पनि ‘मोलमोलाई’ का आधारमा फरक पार्टीकालाई नियुक्ति र अवसर पनि दिएको देखिएको छ । यसो हुँदा झट्ट बाहिरबाट हेर्दा राजनीतिकरण नभएजस्तो पनि देखियो, घुमाउरो कुरा त ‘चलखेल’सँगै सम्बन्धित छ । योग्यता र क्षमताले मान्छेले अवसर पाउने भए बिहान बेलुका कसैले पनि नेताको घरको दैलो ढुक्ने थिएन तर परिपाटी नै त्यस्तै बनाइदिएर आफ्नो ‘टाउकाको मूल्य’ आफैँ बढाइरहेका थिए हिजोसम्म । तर आज नयाँ सरकार आएको छ, नयाँ सरकार र नयाँ पार्टी आइसकेपछि पुराना पार्टी र तिनका नेताहरु कामविहीन भएका छन् ।
‘मरेपछि जुम्राले पनि छोड्छ ।’ यो प्रचलित आहान हो । मृत्यु भइसकेका मानिसबाट रक्तसञ्चार नहुने भएकाले जुम्रा पनि बिना स्वार्थ बसिरहन सक्दैन । राजनीति त जुम्राको कथाभन्दा पनि ठूलो कुरा हो । अस्तिको प्रतिनिधिसभाको निर्वाचनमा केपी शर्मा ओलीको पनि अवस्था त्यस्तै भयो । झापा–५ बाट उम्मेदवार भएका उनले फोटो खिच्नका लागि मान्छे बोलाउनु नै पर्ने अवस्था आयो । हिजोको दिनमा ओलीसँग फोटो खिच्न र सेल्फी खिच्न तँछाडमछाड हुने त्यो अवस्था किन बदलियो त ? यसको प्रमुख कारण हो ओली चुनावमा पराजित हुने लगभग पहिले नै निश्चित थियो । यतिमात्रै होइन घण्टीलाई मतदान गर्ने सोच बनाइसकेकाले ओलीले ‘फोटो खिच्न आओ न’ भन्दा पनि समय दिएनन् । ठूलाले नपत्याएपछि कहिले केटाकेटीलाई बोलाएर त कहिले कोसँग भए पनि फोटो खिचेर ओलीले चित्त बुझाउनुपरेको थियो ।
विद्याको सदस्यता र गणतन्त्रको खतरा
एमालेको केही दिनअघि बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपतिसमेत रहेकी पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । गत मंसिरमा भएको महाधिवेशनअघि नै सदस्यता माग्दै पटकपटक हारगुहार गर्दा पनि ओलीले उनलाई सदस्यता दिएनन् । आफूविरुद्ध पार्टीमा जनमत बलियो भएको बुझेका ओलीले प्रतिस्पर्धीलाई पाल्ने कुरा पनि हुने थिएन । कतै आफूविरुद्धको असन्तुष्टि मत गएर विद्याले अध्यक्ष जित्छिन् कि भन्ने लाग्नु नै ओलीको हार थियो ।
एमाले कार्यकर्ताले विकल्पको रुपमा विद्यालाई देखेका थिए, उनी भूमिकामा रहन सकिनन् । उठ्नको लागि ओलीसँग इश्वर पोखरेल उठिदिए, प्रतिस्पर्धी भए तर नामको मात्रै मतमा प्रतिस्पर्धा हुन सकेन । हिजोको दिनमा राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा फर्किँदा गणतन्त्र खतरामा पर्छ भन्ने ओलीलाई आज गणतन्त्रमाथिको खतरा टरेजस्तो लाग्यो, विद्यालाई सदस्यता दिए ।
यो नीति, नियम र पार्टीको भन्दा माथि गएर ओलीको आफ्नै कानुन हो । तर हिजो र आजको अवस्थामा भने कुनै फरक छैन । फागुनमा चुनाव भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्यधिक मत ल्यायो । एमाले कतै बाँकी छ कि भनेर खोज्नुपर्ने अवस्था आयो, योचाहिँ सत्य हो ।
अब पनि एमालेभित्र वृहत समीक्षा गरेर नजाने हो भने एमाले पार्टी त रहला तर त्यसको अस्तित्व भने मेटिँदै जाने छ । निर्वाचनमा परिणाम नआएपछि, हुनुपर्ने ठाउँमा प्रतिनिधित्व नभएपछि र बोलिनुपर्ने ठाउँमा आवाज नसुनिने अवस्था आएपछि हामी पुरानो पार्टी भनेर कसैकसैको नाम लिएर आजीवन त्यसैको ब्याज खाइरहने र भएको साँवा पनि गुमाउने अवस्थामा एमाले पुगेको छ । सिद्धान्त र विचार राम्रै भए पनि जनताले नपत्याएपछि र परिस्थिति आफ्नो पक्षमा नभएपछि म यो पद, त्यो पद भनेर गीत गाउनु भनेको औँसीको रातमा पूर्णिमाको बखान गर्नु बराबर हो ।














प्रतिक्रिया