काठमाडौं– बलिउड अभिनेता आमिर खान फेरि क्रिकेटको मैदानमा उत्रिएका छन्। तर यसपटक उनी खेलाडीका रूपमा होइन, भारतीय क्रिकेटका एक ऐतिहासिक व्यक्तित्वको भूमिका पर्दामा जीवन्त बनाउन क्रिकेट सिकिरहेका छन् ।
निर्देशक आशुतोष गोवारीकरको आगामी फिल्म ‘ललकारा’मा आमिरले भारतीय क्रिकेटका दिग्गज लाला अमरनाथको भूमिका निर्वाह गर्दैछन् । यही भूमिकाका लागि उनी दक्षिण मुम्बईस्थित एक क्रिकेट क्लबमा नियमित प्रशिक्षण लिइरहेका छन् ।
फिल्ममा आमिरसँगै विक्रान्त मेसी, जितेन्द्र कुमार र धैर्य करवा पनि मुख्य भूमिकामा देखिनेछन् । उनीहरू पनि क्रिकेटको अभ्यासमा जुटेका छन् । कलाकारहरूलाई भारतीय क्रिकेटका दुई पूर्वखेलाडीले प्रशिक्षण दिइरहेका छन् यी प्रशिक्षक यसअघि सन् २०२१ मा प्रदर्शन भएको क्रिकेटमा आधारित फिल्म ‘८३’का कलाकारलाई प्रशिक्षण दिने टोलीमा पनि थिए ।
सन् १९५२ मा भारत र पाकिस्तानबीच भएको ऐतिहासिक टेस्ट शृंखलाको पृष्ठभूमिमा बन्न लागेको ‘ललकारा’ खेल र इतिहासको संगम हुने अपेक्षा गरिएको छ । क्रिकेट अभ्याससँगै कलाकारहरूले पटकथा पढ्ने र लेखकहरूसँग दृश्य तथा पात्रबारे छलफल गर्ने काम पनि गरिरहेका छन् ।
फिल्मको छायांकन सन् २०२७ जनवरी ४ देखि सुरु गर्ने तयारी छ । यो मिति आमिर र गोवारीकरका लागि विशेष छ । उनीहरूको चर्चित फिल्म ‘लगान’को छायांकन पनि सन् २००० जनवरी ४ मै सुरु भएको थियो । ‘लगान’ र ‘मंगल पाण्डेः द राइजिङ’पछि आमिर र गोवारीकर तेस्रोपटक सहकार्य गर्दैछन् ।














प्रतिक्रिया