काठमाडौँ– अमेरिकाले नेपालका बाढी प्रभावित समुदायलाई जीवनरक्षक सहायता उपलब्ध गराउने र नेपालको स्वास्थ्य सुरक्षा सुदृढ बनाउने कार्यलाई निरन्तरता दिइरहेको छ ।
अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरिन् ।
उनीहरूले गत भदौमा भोटेकोसीमा आएको बाढीपछिको पुनर्लाभका प्राथमिकता र मानवीय सहायता समन्वयका साथै स्वास्थ्य तथा पोषणसम्बन्धी व्यापक सहयोगका विषयमा छलफल गरे ।
अमेरिकाले नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यसअन्तर्गत बालबालिका तथा अन्य जोखिममा रहेका समूहलाई प्राथमिकतामा राख्दै आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता र बाल संरक्षण सेवाका लागि अमेरिकी विदेश मन्त्रालयको विपद् तथा मानवीय प्रतिकार्य कोषबाट युनिसेफलाई २५ लाख अमेरिकी डलर उपलब्ध गराइएको छ ।
अमेरिकाले बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा खोप सेवा तथा खोप भण्डारण व्यवस्था पुनर्स्थापना गर्न १ लाख ७६ हजार अमेरिकी डलरसमेत उपलब्ध गराएको छ ।
यसका अतिरिक्त, ‘अमेरिका फर्स्ट’ विश्वव्यापी स्वास्थ्य रणनीतिअन्तर्गत अमेरिकाले मातृ तथा बाल स्वास्थ्य र पोषणमा सुधार ल्याउन युनिसेफमार्फत १ करोड २० लाख अमेरिकी डलर लगानी गरिरहेको छ ।
अमेरिकी आर्थिक सहयोगले स्तनपान प्रवर्द्धन तथा शिशु आहारसम्बन्धी सहायता उपलब्ध गराउने स्वास्थ्य संस्थाहरूको प्रयासलाई सुदृढ बनाउनुका साथै नेपालमा आवश्यक भिटामिन तथा खनिजयुक्त पूरक आहारको प्रयोग सुरु गर्न सहयोग पुर्याइरहेको छ ।
साथै, अमेरिकी सहयोगले भिटामिन तथा खनिज तत्त्वको कमीको अवस्था पहिचान गर्न र नेपालका पोषण कार्यक्रमहरूलाई मार्गनिर्देशन गर्न राष्ट्रिय सूक्ष्म पोषकतत्त्व सर्वेक्षण सञ्चालन गर्न सम्भव बनाइरहेको छ ।
कार्यवाहक राजदूत बोल्डिनले बाढीपछिको तत्काल परिचालन, प्रभावित समुदायसम्म सहायता पुर्याउन गरेको प्रयास तथा नेपालमा पोषणका क्षेत्रमा लामो समयदेखि कायम साझेदारीका लागि युनिसेफलाई धन्यवाद दिइन् ।














प्रतिक्रिया