नयाँ दिल्ली- भारतीय वस्तुमा १७ प्रतिशतसम्म कर लगाउने अमेरिकी प्रस्तावप्रति असन्तुष्टि जनाउँदै भारतले व्यापारसम्बन्धी विवाद द्विपक्षीय वार्तामार्फत समाधान गर्न अमेरिकासँग आग्रह गरेको छ ।
भारतको वाणिज्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै दुवै देशबीच द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता जारी रहेको र त्यसलाई यथाशीघ्र निष्कर्षमा पुर्याउन प्रयास भइरहेको जनाएको छ ।
‘व्यापारसम्बन्धी कुनै पनि चिन्ताको विषय वार्ताकै माध्यमबाट समाधान गरिनुपर्छ भन्ने भारतको अडान रहँदै आएको छ,’ मन्त्रालयले भनेको छ ।
गत फेब्रुअरीमा भारत र अमेरिकाबीच अमेरिकी कर घटाउने उद्देश्यसहित अन्तरिम व्यापार सम्झौताका लागि सहमति भएको थियो । तर, केही दिनपछि अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका व्यापक करसम्बन्धी निर्णय खारेज गरेपछि उक्त सम्झौता कार्यान्वयन हुने विषय अन्योलमा परेको थियो ।
त्यसयता दुवै देश व्यापार सम्झौताका विषयमा निरन्तर वार्तामा छन् । यसैबीच अमेरिकाले भारतमा कथित अतिरिक्त उत्पादन क्षमताबारे गरिएको अनुसन्धानपछि बुधबार भारतीय वस्तुमा १७ प्रतिशत कर लगाउने प्रस्ताव अघि सारेको हो ।
भारतले उक्त अनुसन्धान प्रक्रियामा आफूले रचनात्मक सहयोग गरेको जनाएको छ । साथै, भारतीय अर्थतन्त्रमा कुनै पनि क्षेत्रमा संरचनात्मक अतिरिक्त उत्पादन क्षमता नरहेको उसको दाबी छ ।
अमेरिकाको प्रस्तावित कर कार्यान्वयनअघि सार्वजनिक टिप्पणीका लागि निश्चित अवधि उपलब्ध गराउनुपर्नेछ ।
यसअघि अक्टोबरमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले दुई देशबीचको व्यापार वार्ता स्थिर बिन्दुमा पुगेको बताएका थिए । उनले थप सहमति जुटाउन दुवै पक्षलाई कठिन भइरहेको सङ्केत गरेका थिए ।
त्यसको केही समयपछि भारत भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने व्यापार सम्झौता कार्यान्वयनको अवस्थामा पुग्न दुवै देश निकै नजिक रहेको बताएका थिए ।














प्रतिक्रिया