काठमाडौँ- विश्व दिगो यातायात दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । दिवसका अवसरमा दिगो विकासका लक्ष्य हासिल गर्न यातायात क्षेत्रको भूमिका र वातावरणमैत्री यातायात प्रणालीको आवश्यकतामा जोड दिइएको छ ।
दिगो यातायातले मानिस तथा वस्तुको आवागमनलाई सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणमैत्री बनाउने लक्ष्य राखेको छ । यसले आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउनुका साथै वातावरण संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यातायात क्षेत्रले मानिसबीचको सम्पर्क विस्तार, व्यापार प्रवर्द्धन, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । तर, यस क्षेत्रबाट हुने हरितगृह ग्यास उत्सर्जन र वातावरणीय प्रदूषण चुनौतीका रूपमा देखिएका छन् । त्यसैले आर्थिक विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु दिगो यातायातको प्रमुख आवश्यकता मानिएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार दिगो यातायात दिगो विकासका लक्ष्य हासिल गर्ने महत्त्वपूर्ण माध्यम हो । यसले गरिबी न्यूनीकरण, असमानता घटाउने, महिला सशक्तीकरण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत सहयोग पुर्याउँछ ।
दिगो यातायातको अवधारणाले सबै नागरिकका लागि समान पहुँच, सडक सुरक्षा, वातावरणीय तथा जलवायुसम्बन्धी असर न्यूनीकरण, विपद् प्रतिरोधी क्षमता अभिवृद्धि र यातायात प्रणालीको कार्यक्षमता सुधारलाई प्राथमिकता दिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवको उच्चस्तरीय सल्लाहकार समूहले सन् २०१६ मा सार्वजनिक गरेको प्रतिवेदनमा दिगो यातायातलाई वर्तमान र भावी पुस्ताको हित हुने गरी मानिस तथा वस्तुको आवागमनका लागि सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणीय असर कम गर्ने सेवा तथा पूर्वाधारको व्यवस्थाका रूपमा परिभाषित गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घले दिगो यातायातलाई दिगो विकासका अन्य लक्ष्य हासिल गर्न सहयोग पुर्याउने महत्त्वपूर्ण आधारका रूपमा लिँदै आएको छ ।














प्रतिक्रिया