घोडाघोडी– आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेतबारी जोत्न प्रयोग गरिने गोरु यतिखेर किसानका लागि अभिशाप बन्दै गएको छ ।
खनजोत गर्न थरीथरीका कृषि औजार भित्रिएसँगै गोरु र दूध दिन छोडेका थारा गाई किसानका लागि आर्थिक भार बन्न थालेको हो । एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसान हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी बन्थे ।
खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो ।
पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले । यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा छाडाचौपाया समस्या गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ ।
धेरैजसो सडक दुर्घटना छाडाचौपायकै कारण हुने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, कैलालीको अध्ययनअनुसार कैलाली र कञ्चनपुरका सडकमा करिब तीन हजार छाडा चौपाया रहेको सीतारामले बताए। छाडाचौपायाको सबैभन्दा ठूलो असर किसानको खेतबारीमा देखिएको छ । मिहिनेत गरेर लगाइएको बाली रातारात गाईगोरुले खाइदिँदा किसानहरू चिन्तित बन्न थालेका छन् ।
जेठ महिना धानको बीउ छर्ने समय हो । तर छाडाचौपायका कारण धानका बीउ जोगाउनै मुस्किल पर्ने गरेको किसान डम्बर विष्ट बताउँछन्। छाडाचौपायबाट बाली जोगन किसानले खेत वरिपरि काँडेतार लगाउने र राति पालैपालो खेतबारीमा कुरुवा बस्ने गरेका छन् ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले घोडाघोडी, लम्कीचुहा, भजनी, जोशीपुर र गोदावरी क्षेत्रमा निर्माण गरिएका गौशाला तथा कान्जी हाउसमा आहारा, पानी र उचित हेरचाहको अभाव देखिएकाले कतिपय स्थानमा गाईगोरु भोकभोकै मर्ने अवस्था आएको बताउँछन्।
कैलालीको टीकापुरमा सञ्चालन भइरहेको व्यवस्थित गौशालाले धेरैको ध्यान तानेको छ । टीकापुरस्थित गौशालामा छाडा गाईगोरुको संरक्षणसँगै उनीहरूबाट आर्थिक आम्दानी गर्ने अभ्यास सुरु गरिएको छ ।
गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहका अनुसार पहिले किसानलाई मल लैजान आग्रह गर्नुपर्ने अवस्था थियो । अहिले धमाधम प्रतिट्रली रु ६ हजार ५०० मा गोबर मल बिक्री हुने गरेको छ ।
गौशालामा हाल १० जना कर्मचारी कार्यरत छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन् । जसले कर्मचारीको तलब तथा अन्य व्यवस्थापनमा सहयोग पुगेको छ ।
गौशालामा गोबर ग्यास प्लान्ट निर्माण गरिएको छ । प्लान्टबाट स्थानीय ४० घरधुरीलाई प्रतियुनिट ४५ का दरले ग्यास वितरण गरिएको छ । डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले खुला र अव्यवस्थित चरिचरनका कारण वनको प्राकृतिक संरचना गम्भीर रूपमा प्रभावित बन्न पुगेको बताउँछन्।
वन क्षेत्रमा अनियन्त्रित चरिचरनले केवल वनस्पति मात्र होइन, माटोको संरचना र गुणस्तरमा समेत असर पारिरहेको संरक्षणकर्मी विजयराज श्रेष्ठको भनाइ छ ।














प्रतिक्रिया