काठमाडौं- पाकिस्तानको बलुचिस्तान विश्वविद्यालयको मस्तुङ क्याम्पसका विद्यार्थीहरूले ल्यापटप वितरणमा ढिलाई भएको भन्दै प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले प्रधानमन्त्री युवा ल्यापटप योजनामा भएको ढिलाइ र क्षेत्रमा लामो समयदेखि इन्टरनेट सेवा बन्द गरिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
रिपोर्ट अनुसार डिग्री कलेज मस्तुङबाहिर ठुलो संख्यामा जम्मा भएका विद्यार्थीहरूले राष्ट्रिय राजमार्ग पूर्ण रूपमा बन्द गराएका थिए। राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन लागेको थियो भने यात्रुहरूले ठुलो सास्ती भोग्नुपरेको थियो ।
प्रदर्शनकारी विद्यार्थीहरूका अनुसार उनीहरूले केही महिना अगाडि नै आवश्यक दर्ता र कागजी प्रक्रिया पूरा गरिसकेका थिए । तर पनि सरकारको युवा ल्यापटप योजना अन्तर्गत अहिलेसम्म उनीहरूले ल्यापटप पाएका छैनन् ।
सम्बन्धित निकायले विभिन्न बहाना बनाएर काममा ढिलाइ गरिरहेको र यसले गर्दा आफ्नो शैक्षिक गतिविधिमा नकारात्मक असर परेको आरोप विद्यार्थीहरूले लगाएका छन् । यसका साथै प्रदर्शनकारीहरूले मस्तुङ र आसपासका क्षेत्रमा लामो समयदेखि इन्टरनेट बन्द गरिएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।
इन्टरनेट नहुँदा अनलाइन कक्षाहरू, अनुसन्धान कार्य, असाइनमेन्ट र अन्य शैक्षिक गतिविधिहरू ठप्प भएको उनीहरूको भनाइ छ। आधुनिक युगमा शिक्षाका लागि इन्टरनेट एउटा आधारभूत आवश्यकता बनिसकेको भए पनि अधिकारीहरूले यस समस्यालाई गम्भीरतापूर्वक समाधान गर्न चासो नदेखाएको विद्यार्थीहरूले बताए।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकार र सम्बन्धित निकायविरुद्ध नाराबाजी गर्दै तत्काल ल्यापटप वितरण गर्न र मस्तुङमा इन्टरनेट सेवा सुचारु गर्न माग गरे। आफ्ना मागहरू चाँडै पूरा नगरिए आन्दोलनलाई थप सशक्त र व्यापक बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले विद्यार्थीहरूसँग वार्ता गरिरहँदा राष्ट्रिय राजमार्गमा घण्टौंसम्म यातायात सेवा अवरुद्ध बनेको थियो।













प्रतिक्रिया