काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् । साहेबगञ्ज, कप्तानगञ्ज, देवानगञ्ज, राजगञ्ज, रामगञ्ज इत्यादी । भारतको सीमा कटेर त्यहाँबाट अझै दक्षिणतिर जाने हो भने त्यहाँ पनि भैरोगञ्ज, नरपतगञ्ज, दर्गाहिगञ्ज, फोरबिसगञ्जजस्ता ठाउँ भेटिन्छन् । सुनसरीका यिनै गञ्जमध्येको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जमा आइतबार अबेर राति दुई समुदायबीच उत्पन्न विवादले हिंसात्मक रुप लियो ।
आइतबार अबेर भएको घटनामा प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै ज्यान गएको छ । प्रहरी र सर्वसाधारणसहित अरू २२ जना घाइते भएका छन् । जसमा १० जनालाई गोली लागेको छ। घटनामा गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ ।
परिणमस्वरूप सोमबार सुनसरीको दक्षिणी बेल्ट अशान्त छ । प्रशासनले कर्फ्यू लगाएको छ । शान्ति स्थापनार्थ सर्वपक्षीय छलफल, छानबिन समिति गठनजस्ता औपचारिकता पनि पूरा हुँदैछन् । सेना पनि मैदानमा उत्रिएको छ । तर पनि अवस्था नियन्त्रणमा आइसकेको छैन ।
उत्तेजित भीडले स्थानीयबासीको घर, गोठ र पसल जलाइदिएका छन् भने बाटोमा गुडिरहेका सवारी साधनमा तोडफोड गर्दै बटुवामाथि कुटपिट समेत गरेका छन् । लौकही, भुटाहा, भोक्राहा, घुस्की, भाण्टाबारीजस्ता ठाउँ पनि अशान्त छन् । महेन्द्र राजमार्ग पनि ठाउँ ठाउँमा अवरुद्ध पारिएको छ । हिंसात्मक उत्तेजना जिल्ला सदरमुकामा इनरुवासम्मै पुगेको छ । इनरुवाको पहिचानस्वरुप चन्द्रिका मेडिकल अगाडि खडा गरिएको इनारको स्मारकको चारैतिर टायर बलेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कप्तानगञ्जमा भएको घटनाको विरोधमा तराई मधेसका अरू जिल्लाहरूमा पनि प्रदर्शन गरिएको छ । सिरहा, मोरङ, सप्तरी, बारा, पर्सा, धनुषाजस्ता जिल्लामा विभिन्न समूहले प्रदर्शनको आह्वान गरेका छन् । हिंसा र प्रदर्शन विस्तार भइरहँदा प्रशासन र सुरक्षा निकायलाई घटना र आक्रोश साम्य पार्न अझै केही समय लाग्ने देखिन्छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार कप्तानगञ्जको नयाँ हटिया क्षेत्रमा हिन्दु पक्षधर भनिने र मुस्लिम पक्षधर भनिनेबीच मेला लगाएको कुराले विवादको बिउ रोपेको थियो । साउनलाई हिन्दुहरूले शिवको महिनाका रूपमा पूजा गर्छन् । त्यही क्रममा कप्तानगञ्जका हिन्दुहरूले आइतबारदेखि नै सोमबारका लागि शिव भजन र कीर्तन राख्न नयाँ हटिया क्षेत्रमा धार्मिक मेला लगाएर ठूलो आवाजमा डिजे बजाउन थालेका थिए ।
घिमिरेले बताएअनुसार अर्को समुदाय अर्थात् त्यहाँका मुस्लिमहरूले आफ्नो टोलतिर फर्काएर ठूलो आवाजसहित डिजे बजाइदिएको भन्ने आरोप लगाएका थिए । साउन महिनालाई विशेष मान्दै त्यहाँ हिन्दुहरूले पहेँलो रंगका धार्मिक झण्डा र ध्वजापताका पनि राखेका थिए ।
चोकचोकदेखि हाईमास लाइटमासमेत हिन्दुहरूले धार्मिक झण्डा राखेका थिए । तर चोकचोकमा राखिएकामध्ये केही झण्डा भने हटाइएको थियो । झण्डा हटाएको र राखेको कुरालाई लिएर दुई पक्षीय युवाहरूबीच सुरूमा भनाभन चल्यो ।
त्यससँगै आइतबार राति सवा १० बजेतिर साउनमा हुने बोलबमका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका थिए । त्यसक्रममा डिजेको चर्को आवाजलाई लिएर अर्को समुदायका युवाले विरोध जनाए । त्यसक्रममा दुवै पक्षबीच सुरू भनाभन ठेलाठेलमा परिणत हुँदै झडप हुन थालेको घिमिरेले बताए ।
पछिल्ला समय तराईका विभिन्न जिल्लाहरुमा चाडपर्वका बेला यस्ता साम्प्रदायिक घटना हुन थालेको पाइन्छ । गत चैतमा ईद र चैते दशैँका बेला पश्चिम तराईको कपिलवस्तु जिल्लामा पनि दुई समुदायबीच हिंसा मच्चिँदा कर्फ्यू नै जारी गर्नुपरेको थियो । त्यसअघि फागुनमा जन्तीमाथि ढुङ्गा हानेको निहुँमा रौतहटको गौरमा पनि दुई समुदायबीच हिंसा मच्चिएको थियो । गत असोजमा दुर्गाको मुर्ति सेलाउने विषयमा विवाद हुँदा धनुषाको जनकपुरमा पनि दुई समुदाय आमनेसामने भएका थिए ।
तराईका अन्य स्थानजस्तै कप्तानगञ्ज हिन्दु बाहुल्यता भएपनि अलपसङ्ख्यक मुस्लिम समुदायकोे प्रभावशाली बसोबास भएको क्षेत्र हो । बढ्दो सामाजिक असहिष्णुता र विगतमा पनि विभिन्न स्थानमा यस्तै किसिमका घटना प्रवृत्ति दोहोरिने गरेकाले सुरक्षा विश्लेषणमा नै चुक भएको हो कि भन्ने प्रश्न उठेको छ । सुरक्षाका हिसाबले कप्तानगञ्ज लगायत सुनसरीका सीमावर्ती इलाका निकै संवेदनशील मानिन्छन् ।
लामो समयदेखि सुनसरीको दक्षिणी भेग पूर्वी पहाडमा उत्पादित अवैध लागूऔषध गाँजा भारततर्फ तस्करी हुने प्रमुख ट्रान्जिट समेत रहँदै आएको छ । तर, यस्तो संवेदनशील स्थानको सुरक्षा निकाय नै नेतृत्वविहीन भएको तथ्य खुलेसँगै थप प्रश्नहरु उठेका छन् । घटनाका बेला जिल्लाका दुवै सुरक्षा निकायका प्रमुख जिल्लामा अनुपस्थित थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी केशवकुमार थेबे चार दिनदेखि बिदामा थिए । उनी बुवा बिरामी भएपछि उपचार गराउन बिदा लिएर जिल्लाबाहिर पुगेका थिए । घटनाका बेला नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी विनोद घिमिरे समेत बिदा बसेको पाइएको छ । अर्कोतिर सशस्त्र प्रहरीका एसपीलाई गृहमन्त्री सुधन गुरूङकै निर्देशनमा असार अन्तिम साता हेडक्वाटर तानिएको थियो ।
गृहमन्त्री सुधन गुरुङ गत असार अन्तिम साता पूर्वी नेपाल पुगेका थिए । त्यसबेला तस्करी नियन्त्रणमा असफल भएको भन्दै उनले हलचोकलाई निर्देशन दिएर झपा र सुनसरीका सशस्त्रका एसपीलाई हेडक्वाटर तान्न निर्देशन दिएका थिए । गत असार ३० मा सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण इनरूवाका एसपी श्याम कार्कीलाई हेडक्वार तानिएपछि निमित्तको भरमा चलेको थियो ।
‘तानेपछि अर्को मान्छे पठाउनु पर्छ, कि छानबिन सकेर त्यही अधिकारी पठाउनु पर्छ’, सशस्त्रका एक अधिकारीले भने, ‘तर गृहले दुवै जिल्लामा कमान्डर पठाउन चासो दिएन । अन्ततः कमाण्ड नहुँदाको परिणाम सुनसरी घटना हामीसामु देखियो ।’
सुरक्षा कमजोरी लुकाउन सरकारले प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाउने निर्णय लिएको छ । सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सबै सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको हो । घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका प्रजिअ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ । त्यहाँ प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ।
साथै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ । समितिले एक साताभित्र प्रतिवेदन बुझाउने छ ।












प्रतिक्रिया