चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल पुग्छन्, दुई–तीन घण्टा समय दिएर फिल्म हेर्छन्। तर केही समयपछि त्यही फिल्मका महत्त्वपूर्ण दृश्य सामाजिक सञ्जालमा निःशुल्क घुमिरहेको भेटिन्छ। अझ केही सेकेन्ड वा एक–दुई मिनेट होइन, १५ देखि २० मिनेटसम्मका लामा दृश्य नै मोबाइलमा कैद गरेर टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा अपलोड हुन थालेका छन्।
भ्युज, लाइक र फलोअर्स बढाउने उद्देश्यले गरिने यस्तो गतिविधि पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका लागि टाउको दुखाइ बन्न थालेको छ। फिल्म हलमा प्रदर्शन भइरहेकै समयमा कथाका महत्त्वपूर्ण दृश्य सामाजिक सञ्जालमा सार्वजनिक हुँदा त्यसले निर्माताको लगानी र लामो मेहनतमा कस्तो असर पार्छ भन्ने प्रश्न पनि उठ्न थालेको छ।
यही समस्याको पछिल्लो उदाहरण बनेको छ अभिनेता तथा निर्देशक निखिल उप्रेतीको फिल्म ‘आचार्य’। प्रदर्शनमा रहेको फिल्मका लामा दृश्य टिकटक र फेसबुकमा व्यापक रूपमा फैलिन थालेपछि निखिल आफैँले सामाजिक सञ्जालमार्फत दर्शकसँग त्यस्ता क्लिप अपलोड नगर्न आग्रह गरेका छन्।
‘भ्युजका लागि निर्माताको सपनामाथि खेलबाड नगरौँ’
निखिलले सार्वजनिक गरेको भिडियोमा नेपाली चलचित्र निर्माणको कठिनाइदेखि निर्माताको आर्थिक लगानी र भावनात्मक सम्बन्धसम्मका विषय उठाएका छन्। फिल्म बनाउन ठूलो रकम खर्च हुने र त्यससँगै निर्माताको ठूलो सपना जोडिएको भन्दै उनले लामा क्लिप सामाजिक सञ्जालमा राख्दा त्यसले लगानीकर्तालाई प्रत्यक्ष असर पार्ने बताएका छन्।
फिल्म हलमा प्रदर्शन भइरहेकै समयमा कथाका महत्त्वपूर्ण दृश्य सामाजिक सञ्जालमा सार्वजनिक हुँदा त्यसले निर्माताको लगानी र लामो मेहनतमा कस्तो असर पार्छ भन्ने प्रश्न पनि उठ्न थालेको छ।
उनका अनुसार नेपाली चलचित्रले अझै पनि धेरै चुनौतीबीच आफ्नो यात्रा अघि बढाइरहेको छ। कतिपय ठाउँमा छायांकनका लागि अनुमति लिनेदेखि स्रोतसाधनको अभावसम्मका समस्या चलचित्रकर्मीले भोग्दै आएका छन्। यस्तो अवस्थामा विदेशी चलचित्रको प्रभाव कम गर्दै नेपाली फिल्मलाई स्थापित गर्न आफूहरू निरन्तर मेहनत गरिरहेको उनको भनाइ छ।
तर हलमा प्रदर्शन भइरहेको फिल्मका महत्त्वपूर्ण दृश्य नै मोबाइलमा खिचेर सामाजिक सञ्जालमा राख्ने प्रवृत्तिले भने त्यो मेहनतमाथि नै प्रश्न उठाउने अवस्था आएको निखिलको गुनासो छ।
सामाजिक सञ्जालमा एउटा भिडियोले केही घण्टामै लाखौँ भ्युज पाउन सक्छ। भिडियो अपलोड गर्ने व्यक्तिका लागि त्यो सामान्य सामग्रीजस्तो देखिए पनि त्यसको पछाडि करोडौँ रुपैयाँको लगानी, कलाकार र प्राविधिकको मेहनत तथा निर्माताको वर्षौँको सपना जोडिएको हुन सक्छ।
‘आचार्य’ मात्रै होइन, समस्या पुरानै
हलमा चलिरहेको फिल्मको दृश्य अनधिकृत रूपमा सामाजिक सञ्जालमा सार्वजनिक हुने समस्या नयाँ भने होइन। यसअघि पनि ‘लालीबजार’, ‘गौँथली’ र ‘आई एम जीतबहादुर’ लगायतका चलचित्रका दृश्य सामाजिक सञ्जालमा अनधिकृत रूपमा सार्वजनिक भएको गुनासा आएका थिए।
यसरी फिल्मका महत्त्वपूर्ण दृश्य बाहिरिँदा दर्शकले हलमा टिकट काटेर हेर्नुपर्ने सामग्रीको ठूलो हिस्सा घरमै मोबाइलमा निःशुल्क हेर्न पाउने अवस्था बन्न सक्छ। विशेषगरी फिल्मको कथा अगाडि बढाउने महत्त्वपूर्ण दृश्य वा ‘ट्विस्ट’ नै सार्वजनिक भएमा हलमा गएर फिल्म हेर्ने दर्शकको अनुभवसमेत प्रभावित हुन सक्छ।
हलमा चलिरहेको फिल्मको दृश्य अनधिकृत रूपमा सामाजिक सञ्जालमा सार्वजनिक हुने समस्या नयाँ भने होइन। यसअघि पनि ‘लालीबजार’, ‘गौँथली’ र ‘आई एम जीतबहादुर’ लगायतका चलचित्रका दृश्य सामाजिक सञ्जालमा अनधिकृत रूपमा सार्वजनिक भएको गुनासा आएका थिए।
यही कारण चलचित्र विकास बोर्डले समेत प्रदर्शनमा रहेका नेपाली फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा अनधिकृत रूपमा अपलोड नगर्न सार्वजनिक रूपमा सचेत गराइसकेको छ।
कानुनले के भन्छ ?
चलचित्र हलभित्र मोबाइल वा क्यामेराबाट फिल्म खिचेर सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यममा अपलोड गर्नु केवल ‘भ्युज’को विषय मात्र होइन, प्रतिलिपि अधिकारसँग जोडिएको कानुनी विषय पनि हो।
चलचित्र विकास बोर्डका अनुसार प्रदर्शनमा रहेको फिल्मका मुख्य अंश अनधिकृत रूपमा डिजिटल माध्यममा सार्वजनिक गर्दा निर्माताको लगानी र चलचित्रसँग सम्बन्धित व्यक्तिको मेहनतमा असर पर्न सक्छ। बोर्डले यस्तो कार्यलाई प्रतिलिपि अधिकारसम्बन्धी कानुनअन्तर्गत दण्डनीय हुन सक्ने जनाएको छ।
प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अनुसार यस्तो कार्यमा प्रयोग भएको उपकरण जफत हुनुका साथै दण्ड, जरिवाना तथा क्षतिपूर्तिको व्यवस्था हुन सक्ने बोर्डले चेतावनी दिएको छ।
फिल्म नचल्नुको कारण क्लिप मात्रै हो त?
सामाजिक सञ्जालमा लामा क्लिप सार्वजनिक हुनु चलचित्रका लागि चुनौती भए पनि कुनै फिल्मको व्यापार कमजोर हुनुको सम्पूर्ण कारण यही हो भन्न मिल्दैन।
प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अनुसार यस्तो कार्यमा प्रयोग भएको उपकरण जफत हुनुका साथै दण्ड, जरिवाना तथा क्षतिपूर्तिको व्यवस्था हुन सक्ने बोर्डले चेतावनी दिएको छ।
फिल्मको व्यापारमा कथा, कलाकारको लोकप्रियता, प्रचारप्रसार, रिलिजको समय, हलको उपलब्धता, शो संख्या, प्रतिस्पर्धी फिल्म, दर्शकको रुचि र ‘वर्ड अफ माउथ’लगायत धेरै पक्षले प्रभाव पार्छन्। त्यसैले सामाजिक सञ्जालमा फिल्मका दृश्य सार्वजनिक हुनु एउटा चुनौती भए पनि त्यसलाई मात्र फिल्मको व्यावसायिक असफलताको कारण मान्न सकिँदैन।
तर एउटा कुरा स्पष्ट छ-टिकट काटेर हेर्नुपर्ने फिल्मको १५–२० मिनेट लामो दृश्य नै निःशुल्क रूपमा वितरण हुनु चलचित्रको मौलिकता र प्रतिलिपि अधिकारका लागि गम्भीर विषय हो।
फिल्म निर्माणमा निर्माताले पैसा मात्र लगानी गरेका हुँदैनन्, त्यसमा कलाकारको अभिनय, प्राविधिकको श्रम, लेखकको सिर्जना र निर्देशकको दृष्टि पनि जोडिएको हुन्छ। त्यसैले केही भ्युज र लाइकका लागि हलभित्रै फिल्म रेकर्ड गरेर सार्वजनिक गर्ने प्रवृत्तिले कसैको लामो मेहनत र लगानीलाई जोखिममा पार्न सक्छ।
निखिल उप्रेतीको अपिल पनि यही प्रश्नमा केन्द्रित छ- भ्युजका लागि केही मिनेटको भिडियो सार्वजनिक गर्दा कसैको वर्षौँको मेहनत र करोडौँको लगानीमाथि असर नपरोस्।














प्रतिक्रिया