ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा ६ वर्षको अवधिमा दुईपटक ठूलो आगलागी भएको छ ।
पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी विस्तारै आफ्नो व्यापार–व्यवसाय र दैनिकीलाई लयमा फर्काउँदै गर्दा बिहीबार भएको आगलागीले पुनः बिचल्लीमा पारेको छ ।
बिहीबार भएको आगलागीमा परी १० घर र १७ वटा पसल जलेका छन् । आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा छन् । केही पीडित भने जलेका घर तथा पसलका भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र पुनर्निर्माणको तयारीमा जुटेका छन् ।
छोराहरूसँग बस्दै आएका ८६ वर्षीय स्यामलाल खरेलका लागि यो आगलागी विगतको पीडा दोहोरिएजस्तै भएको छ । ‘पटकपटकको आगलागीले ठूलो पीडा दियो । व्यापार व्यवसायमा लगानी गरेर बसियो, सबै सखाप भयो, अब बसौँ कसरी बस्ने, जाउँ कता जाने ?’ उनले भने ।
अर्का अग्निपीडित चन्द्र पौडेल पनि छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा पर्दा पुनःस्थापनाको चिन्तामा छन् । ‘छोटो अवधिमा दुईपटक आगलागीको चपेटामा परियो, यसो तङ्ग्रिँदै गर्दा पुनः आगलागीले सखाप पार्यो’, उनले भने, ‘अब सरकारले दिने सामान्य राहतले हाम्रो समस्या समाधान हुँदैन । सरकारले बिनाब्याज ऋणको व्यवस्था गरिदियोस्, हामी पुनःस्थापित भएर साँवा रकम सरकारलाई फिर्ता गर्छौँ । नत्र आफैँले गर्न सक्ने अब कुनै उपाय छैन ।’
उद्योग वाणिज्य सङ्घ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले बजारका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट समेत सहज रूपमा ऋण पाउन नसकेको बताए । नदी तथा खोलाकिनारमा बजार रहेकाले बैंकले लगानी डुब्ने जोखिम देखाउँदै ऋण दिन आनाकानी गर्ने गरेको उनको गुनासो छ ।
‘दोभान बजारवासीलाई बैंकबाट ऋण पाउन पनि सहज छैन, नदी तथा खोला किनारमा बसेको बजार भएकाले लगानी डुब्ने जोखिम देखाएर बैंकहरूले ऋण दिन सकिरहेका छैनन्’, काफ्लेले भने ।
आगलागीपीडित परिवार तत्कालका लागि आफन्त तथा छरछिमेकीको घरमा आश्रय लिएर बसेका छन् । उनीहरू अहिले जलेका सामान तथा भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र सम्भव भएका संरचनाको पुनर्निर्माण तथा व्यवस्थापनमा जुटेका छन् । शनिबार दिउँसोबाट मौसममा केही सुधार भएकाले जलेका सामान तथा भग्नावशेष पन्छाउने कार्य भइरहेको पीडित चन्द्र पौडेलले बताए ।
जिल्ला विपद् व्यवस्थापन समिति, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, मेरिङ्देन गाउँपालिकालगायत सरकारी तथा गैरसरकारी निकायले तत्कालका लागि पीडितपरिवारलाई राहत रकम तथा विभिन्न सामग्री उपलब्ध गराएका छन् । पीडितले भने तत्कालको राहतभन्दा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारको विशेष सहयोग आवश्यक रहेको बताएका छन् ।
बिहीबार दिउँसो भएको आगलागीमा आठ परिवारका १० घर तथा १७ वटा पसल जलेको प्रारम्भिक विवरण छ । आगलागीबाट करिब १४ करोड ५० लाखबराबरको क्षति भएको बताइएको छ । सदरमुकाम फुङ्लिङबाट दुईवटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो ।
सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो बढी कारोबार हुने व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा करिब ८० वटा घर तथा पसल रहेको उद्योग वाणिज्य सङ्घ दोभानले जनाएको छ ।
बजारमा यसअघि २०७७ साल फागुनमा ठूलो आगलागी भएको थियो । उक्त आगलागीले ४९ घर जलेका थिए भने करिब ४० करोडभन्दा बढीको क्षति भएको थियो । त्यसबेला सर्वस्व गुमाएका कतिपय व्यवसायी तथा परिवार विस्तारै आफ्नो व्यवसाय पुनःस्थापित हुँदै थिए । छ वर्ष नपुग्दै फेरि आगलागी दोहोरिएपछि उनीहरू आर्थिकसँगै मानसिक र पारिवारिक रूपमा ठूलो सङ्कटमा परेका छन् ।
स्थानीयका अनुसार दोभान बजारमा बारम्बार हुने आगलागी नियन्त्रण तथा सम्भावित क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक छ । पछिल्लो समय बिजुलीका कारण धेरै आगलागीका घटना हुने गरेकाले घरमा प्रयोग हुने विद्युतीय सामान र जडानका बारेमा पनि सचेतना फैलाउनुपर्ने स्थानीय गुरु पौडेलले बताए ।
यस्तै विपद्को समयमा तत्काल प्रयोगमा आउने विपद् प्रतिकार्य सामग्रीको सहज उपलब्धता बारेमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने स्थानीयले बताए । पछिल्लो समय यस जिल्लामा विद्युत्का कारण आगलागीका घटना बढ्दै गएका छन् । विद्युत्का कारण हुने आगजनी नियन्त्रणका लागि नागरिकस्तरमा व्यापक सचेतना जरुरी रहेको आवश्यकता औँल्याइएको छ । (रासस)














प्रतिक्रिया