काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ । तर अर्कोतर्फ पूर्वसभापति शेरबहादुर देउवादेखि कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाश शरण महत, एनपी साउद लगायतका नेताहरूले छुट्टै महाधिवेशनको तयारी गरिरहेका छन् ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रभावशाली नेता डा. शेखर कोइराला दुवै महाधिवेशनमा सहभागी नहुने बताइरहेका छन् । अहिले महाधिवेशनको तयारी अनुरूप कांग्रेसले क्षेत्रीय अधिवेशन सक्न लागेको छ । अब देउवा पक्ष र शेखरसँगै पूर्ण खड्का लगायतका नेताहरुलाई समेटिने सम्भावना पनि लगभग सकिएको छ ।
कांग्रेसका महामन्त्री गुरु घिमिरे प्रक्रियागत रूपले नेताहरू १५औँ महाधिवेशनमा सहभागी हुन छुटेपनि सम्मानपूर्वक उद्घाटन सत्रमा आइदिए त्यसपछि पनि छलफल गर्न सकिने बताउँछन् ।
तर, इच्छा जाहेर गरेको अवस्थामा लोकतान्त्रिक प्रक्रियालाई पनि अपनाएर जाने उनको भनाइ छ । यसै सन्दर्भमा खबरहबले नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-
तपाईँहरूको एकताको महाधिवेशन नहुने भयो होइन अब ?
हामी त उहाँहरूका लागि सबै ढोका खुल्ला राखेर पुस १० सम्म नवीकरण भएका सदस्यका लागि निर्वाचनको प्रक्रियामा भाग लिन दिनेबारे खुला थियौँ । अद्यावधिकको बाध्यकारी व्यवस्थालाई पनि खुकुलो गर्यौँ । अद्यावधिकको विषयमा महाधिवेशन सकिएपछि पनि कन्टिन्यू गर्ने र संयन्त्रमार्फत महाधिवेशनलाई अघि बढाएर अधिवेशनमा केही दुविधा संशय शङ्का छन् भने त्यसलाई निवारण गर्ने पनि भनेका हौँ । त्यसपछि सबै एकताबद्ध भएर महाधिवेशन गर्ने भनेकै हो नि हामीले । हामीले सबै ढोका खुल्ला राख्दा राख्दै पनि उहाँहरु तयार हुनुभएन । अहिले आउनुभएका सबै नेताहरू महाधिवेशन प्रक्रियामा सहभागी नै हुनुहुन्छ ।
तर, कृष्ण सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत लगायतका नेताहरु त गगन थापाले पूर्वसभापति शेरबहादुर देउवासँग नै संवाद गर्न चाहनुभएन भेट्नै चाहनुभएन भन्नुहुन्छ नि ?
यसबारे मैले थाहा पाएको दुई वटा कुरा छ हेर्नुहोस् । एउटा चाहिँ पूर्वसभापति देउवा सिंगापुर र हङकङबाट फर्किएपछि पनि सभापति गगन थापाले भेट्न चाहनुभएको, निकै जोडबलका साथ भेट्ने जमर्को पनि भएको हो । तर, त्यतिखेर निवर्तमान सभापतिले भेट्न चाहनुभएन । उहाँलाई भेट्न नचाहनुभएको हो कि भेट्न नदिएको हो भन्ने विषय चाहिँ महत्वपूर्ण छ । त्यसपछि पनि भेटका प्रयासहरू भएका हुन् तर भेटघाट भएजस्तो लागेन ।
अहिले चाहिँ यो कुरा आ-आफ्नो अनुकूल अनुसार बजारमा प्रचार गरिएको छ । सत्य कुरा के हो भने सभापति गगन थापाले धेरै पटक भेट्ने कोसिस गर्दा उहाँहरुले भेटदिनुभएन । भेटघाट गर्ने भनियो तर उहाँहरु उपलब्ध हुनुभएन । घरी के बहाना बनाउने, घरी के बहाना बनाउने प्रवृत्ति भयो । गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाबीच भेटघाट भएर अगाडि गइएको थियो भने धेरै वातावरण मिल्न सक्थ्यो । तर उहाँलाई भेटघाट गर्ने वातावरण नै दिएन । लामो समयसम्म कोशिस गर्दा पनि उहाँहरू परामर्श गरेर अगाडि बढ्ने अवस्था नदेखिएपछि रोकिएर बस्ने पनि कुरो भएन ।
अहिले पनि भेट्न चाहनुभएको छ सभापति गगन थापाले ?
अब ढिला भइसक्यो । अब हामी महाधिवेशनको प्रक्रियामा गइसक्यौँ । क्षेत्रीय अधिवेशन नै भइसकेपछि उहाँहरु प्रक्रियागत रुपमा महाधिवेशनमा सहभागी हुने बाटो सकियो । यो महाधिवेशनको चटारो पूरा नगरेसम्म भेटघाट गर्ने छलफल गर्ने भेला गर्ने अवस्था भएजस्तो मलाई लाग्दैन । नेपाली कांग्रेसको पार्टी संरचना भन्दा बाहिर रहनुभएका साथीहरू नेपाली कांग्रेसकै नाममा गतिविधि गरिराख्नुभएको छ । पार्टी संरचनाभित्रका साथीहरू पार्टीका गतिविधि र महाधिवेशन केन्द्रित हुनुभएको छ । त्यसकारण उहाँहरुलाई अब यतिकै छाडिदिन्छौँ । अब हाम्रो कुरा के हो भने महाधिवेशन सम्पन्न भएपछि मात्रै कुराकानी गर्ने सम्भावना रहन्छ ।
पूर्णबहादुर खड्का र डा शेखर कोइराला पक्ष पनि आउनुहुन्न ?
उनको पनि प्रक्रियागत रुपले आउने सम्भावना सकियो । तर, महाधिवेशनलाई सहयोग गर्छौं भन्नुहुन्छ भने हामी उहाँहरुलाई स्वागत गर्न तयार छौँ । उहाँहरूबाट त धेरै नेताहरू आइसक्नुभएको छ । उहाँहरुले चाहिँ दुवै पक्षलाई मिलाउन कोसिस गर्नुभएको हो तर त्यो सार्थक भएन ।
उसो भने देउवा पक्ष सहितका नेताहरू पाखै हुनुभयो होइन महाधिवेशनमा ?
हाम्रो उद्देश्य कसैलाई पाखा राख्ने थिएन । तर उहाँहरु नै पाखा बस्न खोज्नुभयो । दुई तीन दिन अगाडिसम्म उहाँहरुसँग उपयुक्त समय थियो । अब तल्लो तहबाटै महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउने अवस्था सकिन लागेकाले यो महाधिवेशनमा उहाँहरु प्रक्रियागत रुपमा छुट्नुभयो । तत्कालीन शेरबहादुर देउवाको कार्यसमितिमा रहेका झण्डै १०० जना साथीहरु हाम्रै टिममा आउनुभएको छ । हामीले प्रयास नगरेको भए उहाँहरुलाई ल्याउन सम्भव नै हुने थिएन । तर केही नेताहरू छुट्नुभएको छ । छुट्नुभएकोमा नरमाइलो लागेको छ । तर प्रक्रियामा छुटिसकेपछि अब धेरै भावुक भएर पनि काम भएन । हामीले कसैलाई पनि पाखा पार्न खोजेको होइन ।
आउनेको लागि त ढोका खुल्ला छ । वडा अधिवेशनको प्रक्रिया सकिसक्यो । क्षेत्रीय अधिवेशन पनि सकिने क्रममा छ । अब हामी महाधिवेशनको पूर्वसन्ध्यामा आइसकेका छौँ । उहाँहरू महाधिवेशनमा आएर मद्दत गरेर अगाडि जान चाहनुहुन्छ भने स्वागत छ । तर घुर्काइरहने, वार्ता र छलफल गर्ने नाममा झुलाइरहने अवस्थामा चाहिँ हामी जान चाहँदैनौँ । महाधिवेशनमा प्रतिनिधिको हैसियतले छिर्ने र प्रक्रियामा जाने समय गइसक्यो । पार्टीमा नेताको हिसाबले महाधिवेशनलाई सघाएर मद्दत पुर्याएर एकाकार रूपमा अगाडि जाँदा भोलिको सम्भावना जीवितै छ ।
मिल्ने सम्भावना सकियो ?
अब लगभग सकियो नै भन्नुपर्छ । तर उहाँहरु आएर उद्घाटन सत्रमा सहभागी बन्नुहुन्छ भने उहाँहरुलाई सम्मानपूर्वक राख्न हामी सक्छौँ । प्रक्रियामा गएर महाधिवेशनमा सहभागी हुने बाटो अब सकिएको छ । महाधिवेशन सफल पारेर सगाएको खण्डमा मिल्ने बाटो महाधिवेशन पछाडि आउँला ।
अब उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?
त्यो तपाईँहरूको प्रक्रिया रोकेर आउनुहोस् कांग्रेस एक बनाएर जाउँ मिलेर अगाडि बढौँ । अहिले पार्टी टुक्र्याएर बस्ने बेला होइन । पार्टीको दायराभित्रैबाट समस्याको समाधान खोजौं अगाडि बढौँ ।
तपाईँहरूको आँकलनमा महाधिवेशनमा कति प्रतिशत कांग्रेस पाखा रहने हुनुभयो ?
त्यसरी हिसाब गरेको छैन । अहिले मैले प्रतिशत तोक्दा कसैलाई दुःख लाग्ला तर यहाँले भने जस्तै केही चाहिँ छुट्नुभएको पक्कै हो । त्यो त छर्लङ्गै छ नि । उत्साहित भएर बढी अङ्क देखायो भन्ला केही प्रतिशत मात्रै छुट्नुभएको छ ।
अब पार्टीको आगामी नेतृत्वमा को हो ?
अबको सभापति गगन थापा नै हो । उहाँको विकल्प छ जस्तो मलाई लाग्दैन । किनभने महाधिवेशनमा पनि उहाँको विकल्पमा अरु साथीहरुले प्रतिस्पर्धा गर्ने अवस्था छैन । अहिलेसम्म देखिनुभएको एकल दावेदार उहाँ नै हो र आउने पनि उहाँ नै हो ।
त्यसोभए निर्वाचनको प्रक्रियामा नजाने ?
एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिनुभयो भने त कसरी निर्वाचनको प्रक्रियामा जाने र ? अरु नेताहरुले पनि उम्मेदवारी दिनुभयो भने प्रक्रियामा गइन्छ । तर अहिलेसम्मको अवस्था हेर्दा निर्विकल्प उहाँ नै देखिनुभएको छ । केही पदहरूमा प्रक्रिया होला । लोकतान्त्रिक अभ्यास अपनाउने पार्टी भएकाले हामीले त्यसलाई रोक्दैनौँ । एउटा व्यक्तिले मात्रै मनोनित गरेपछि त त्यो सर्वसम्मति हुने भयो नि । गगनबाहेक अरुले सभापतिमा दाबी गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । उहाँको सभापतित्वमा नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न हुन्छ । नेतृत्वमा पनि उहाँलाई नै ल्याउँछौँ ।
तपाईँ चाहिँ के तयारी गर्दै हुनुहुन्छ ?
अहिले हामीले त्यस्तो पूरै तयारी भन्ने कुरा गरेका छैनौँ । हामी नेतृत्वको विषयमा क्लियर छौँ । अरु सहमति र निर्वाचनको प्रक्रिया पनि जान सक्छ । जुनसुकै पदमा पनि एकभन्दा बढीले उम्मेदवारी दिनुभयो र इच्छा जाहेर गर्नुभयो भने रोकिँदैन ।














प्रतिक्रिया