सुनसरी- गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालमा बिचौलियाको गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा उनले उपचारका लागि आउने बिरामीको सुरक्षा, स्वास्थ्य सेवाको सहजता र अस्पतालमा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखेका थिए।
गृहमन्त्री गुरुङले बिरामीको हितलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकता दिन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए। उनले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न पनि आग्रह गरे।
सो अवसरमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा स्मृति कार्की, निर्देशक इन्द्रकुमार बिचौलियालगायत पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, सुधारका प्रयास र भावी योजनाबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।
गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनको अवस्थाबारे समेत जानकारी लिए । उक्त सेवा सञ्चालनसम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन उनले निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको पनि अवलोकन गरेका छन्। उनी आजै इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम रहेको छ।

















प्रतिक्रिया