नयाँदिल्ली- भारत सरकारले लोकसभा र राज्य विधानसभाका सदस्य सङ्ख्या ५० प्रतिशतले वृद्धि गर्ने गरी नयाँ सीमाङ्कन विधेयक संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ। नोभेम्बर ३० देखि सुरु हुने संसद्को विशेष अधिवेशनमा ‘सीमाङ्कन (दोस्रो) विधेयक, २०२६’ प्रस्तुत गर्ने सरकारको तयारी छ।
भारतीय सङ्घीय मन्त्रिपरिषद्ले लोकसभामा सीमाङ्कन अभ्यास लागू गर्न संविधानको १३२औँ संशोधन विधेयक, २०२६ र संसद् तथा राज्य विधानसभामा महिलालाई ३३ प्रतिशत आरक्षण दिने ‘नारी शक्ति वन्दन अधिनियम’ पनि स्वीकृत गरेको छ।
प्रस्तावित सीमाङ्कन विधेयकको धारा १० अनुसार प्रत्येक राज्य र केन्द्रशासित प्रदेशका लागि लोकसभामा निर्धारण गरिएका सिट सङ्ख्या ५० प्रतिशतले बढाइनेछ। त्यसैगरी, राज्य विधानसभाको कुल सदस्य सङ्ख्यामा पनि ५० प्रतिशत वृद्धि गर्ने प्रस्ताव गरिएको छ।
विधेयक पारित भएर ऐन लागू भएपछि सीमाङ्कन आयोग गठन गरी निर्वाचन क्षेत्रको पुनः निर्धारण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। संविधान संशोधन विधेयकअनुसार सीमाङ्कनसम्बन्धी नयाँ व्यवस्था सन् २०५१ सम्म स्थिर राख्ने प्रस्ताव पनि गरिएको छ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लोकसभा सिटमा ५० प्रतिशत वृद्धि गर्ने प्रस्तावप्रति आफ्नो दल र व्यक्तिगत समर्थन रहेको बताउनुभएको छ। जनसङ्ख्याका आधारमा सीमाङ्कन गर्दा दक्षिण भारतीय राज्यको संसदीय प्रतिनिधित्व घट्न सक्ने चिन्ता सम्बोधन गर्न प्रस्तावित व्यवस्थाले सहयोग पुग्ने उहाँको भनाइ छ।
यसअघि अप्रिल १७ मा लोकसभामा आवश्यक दुईतिहाइ बहुमत प्राप्त गर्न नसकेपछि सरकारले विधेयक पुनः अघि बढाउन लागेको हो। ५४३ सदस्यीय लोकसभामा पाँच स्थान रिक्त रहेकाले हाल प्रभावकारी सदस्य सङ्ख्या ५३८ छ। यस्तो अवस्थामा विधेयक पारित गर्न करिब ३५९ मत आवश्यक पर्नेछ।
सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सँग करिब ३२० सांसद रहेको अनुमान छ। त्यसैले विधेयक पारित गराउन सरकारले अन्य दलको समर्थन जुटाउनुपर्ने देखिन्छ।
विपक्षी गठबन्धन इन्डियामा आबद्ध राष्ट्रवादी काङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) ले भने विधेयकलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीका नेता जितेन्द्र अव्हाडले शरद पवारसँगको छलफलपछि सीमाङ्कन प्रक्रिया संवैधानिक आवश्यकता भएकाले समर्थन गर्ने निर्णय भएको बताउनुभएको छ।
त्यस्तै, तमिलनाडुका पूर्वमुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले पनि सीमाङ्कनलाई समर्थन गर्ने बताउनुभएको छ। तर, उहाँले लोकसभामा तमिलनाडुको प्रतिनिधित्वको हिस्सा सुरक्षित गर्नुपर्ने माग राखेका छन् ।
डीएमके सांसद पी. विल्सनले सन् १९७१ को जनगणनाका आधारमा कायम तमिलनाडुको ७.१८ प्रतिशत संसदीय प्रतिनिधित्वको हिस्सा जोगाउनुपर्ने र जनसङ्ख्यामा आधारित सीमाङ्कनमा २५ वर्षको स्थिरता सुनिश्चित गर्नुपर्ने पार्टीका दुई मुख्य सर्त रहेको बताए।
यसैगरी, वाईएसआर काङ्ग्रेस पार्टी (वाईएसआरसीपी) ले पनि क्षेत्रीय सन्तुलन र विशेषगरी दक्षिण भारतीय राज्यको राजनीतिक प्रतिनिधित्व सुरक्षित हुने सर्तमा विधेयकलाई समर्थन गर्ने सङ्केत दिएको छ।
तर, काङ्ग्रेससहित इन्डिया गठबन्धनका अन्य केही दलले भने विधेयकको विरोध गर्ने अडान कायम राखेका छन्।
भारतको लोकसभा र राज्यसभाको बैठक क्रमशः नोभेम्बर ३० र डिसेम्बर २ मा पुनः बस्ने कार्यक्रम छ। प्रस्तावित विधेयकले संसद्मा आवश्यक समर्थन जुटाउन सक्ने वा नसक्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

















प्रतिक्रिया