गोरखा– २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी महाभूकम्पले गोरखाको लाप्राकस्थित ऐतिहासिक गुरुङ बस्ती पूर्ण रूपमा ध्वस्त बनायो ।
त्यसपछिको पुनर्निर्माण अभियान अन्तर्गत गैरआवासीय नेपाली संघ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार धार्चे गाउँपालिका–४ गुप्सीपाखामा लाप्राकवासीका लागि एकीकृत नमूना बस्ती निर्माण गरिएको थियो।
करिब ३२६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बस्तीमा ६०४ घरधुरीका लागि आवास निर्माण गरिएको छ । जसमा अधिकांश घर गैरआवासीय नेपाली संघमार्फत निर्माण गरिएका हुन् भने बाँकी नेपाल सरकारको भूकम्प राहत कार्यक्रमबाट बनेका छन् ।
टाढाबाट हेर्दा पंक्तिवद्ध घरहरू, वरिपरि हरियाली र वसन्त याममा डाँडाकाँडामा फुलेका राताम्य लालीगुराँसले बस्तीलाई अत्यन्त सुन्दर र आकर्षक बनाउने गर्दछ । उज्यालो घाममा टल्किने छाना र फूलले सजिएका पहाडले जो–कोहीलाई लोभ्याउने गरेको छ ।
सडक सञ्जालको पहुँचले गर्दा गोरखा जिल्लाकै दुर्गम लाप्राक गाउँमा अहिले सजिलै सँग पुग्न सकिन्छ । बारपाकदेखि लाप्राक सम्मको सडक स्तरोन्नति भएसँगै नमुना बस्ती हेर्न दैनिक जसो आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।
तर, बाह्य सौन्दर्यभित्र लुकेको यथार्थ भने फरक छ । अव्यवस्थित निर्माण, कमसल सामग्रीको प्रयोग र परिवारको आकारअनुसार घर सानो भएकाले धेरै स्थानीयवासीको रोजाइमा यी घरहरू पर्न सकेका छैनन्। कतिपय घरमा प्लास्टिकका झ्याल–ढोका प्रयोग गरिएको छ भने कतिपय संरचना पूर्ण रूपमा सम्पन्न नभएको देखिन्छ।
६०४ घरमध्ये हाल करिब ६० परिवार मात्रै त्यहाँ बसोबास गर्दै आएका छन् । बसोबास गरिरहेका परिवारहरूले पनि घरलाई बस्न योग्य बनाउन थप मर्मत गर्नुपरेको छ । काठका झ्याल–ढोका जडान गर्ने, भित्री संरचना सुधार गर्ने, ढुङ्गा छाप्ने जस्ता कामका लागि अतिरिक्त खर्च गर्नुपरेको अवस्था छ।
सुन्दर र आकर्षक नमुना बस्तीमा स्थानीय बस्न रुचाउँदैनन् भने अर्को तर्फ, पुरानो बस्ती पहिरोको जोखिममा भए पनि अधिकांशको खेतीपाती र जीविकोपार्जनको आधार त्यही भएकाले पुरानो बस्तीमा स्थानीय चहलपहल बाक्लो देखिन्छ ।
यसले देखाउँछ कि केवल भौतिक संरचना निर्माण मात्र पर्याप्त हुँदैन, स्थानीय जीवनशैली, आवश्यकता र रोजगारीसँग जोडिएको दिगो योजना आवश्यक हुन्छ।













तस्बिर : नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया