विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस « Khabarhub

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

नेताहरू भन्छन्, "स्थानीय तहको निर्वाचनलाई हेरौँ"



काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री भएपछि विभिन्न प्रश्नहरू उठिरहेका छन्।

करिब ११ वर्षपछि उनी एमालेको सक्रिय राजनीतिमा फर्किएर ओलीपछिको दोस्रो वरीयतामा आउँदा धेरैले उनलाई पदको लोभ गरेको, एमालेको नेतृत्व पुनर्गठनको बहसलाई तुहाएको र ओलीसँगको राजनीतिक टकराव र बार्गेनिङपछि फर्किएको आरोप पनि लगाइरहेको देखिन्छ।

दुई वर्षसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले नै आफ्नो विकल्प विद्यादेवी भण्डारी बनाउन नेताहरूले चाहेपछि उनलाई सक्रिय राजनीतिमा रोकिदिएका थिए। सदस्यता नवीकरण नगरिदिएर भण्डारीलाई राजनीतिमा रोकेका ओलीले एकसाथ अगाडि केन्द्रीय कमिटी बैठकबाट आफैँले प्रस्ताव गरेर आफूपछिको दोस्रो वरीयतामा भण्डारीलाई पुनरागमन गराए।

पार्टीमा नेतृत्व पुनर्गठनको तिखो आवाज उठाइरहेका नेताहरूसामु भण्डारीको पुनरागमन गराएर ओलीले तत्कालका लागि मुख बन्द गरिदिएका छन्।

अब एमालेमा तत्काल विशेष र अर्ली दुवै महाधिवेशनको सम्भावना सकिएकाले पार्टी तल्लो तहसम्म बनाएर जाने विकल्प रहेको बताइन्छ। भण्डारीले ओलीपछिको दोस्रो वरीयता पाएपछि सक्रिय राजनीतिमा आएर पार्टीमा उठेका विभिन्न समस्यालाई समाधान गर्दै नेतृत्वलाई सही दिशामा ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पार्टी नेता लालबाबु पण्डित गर्छन्। पण्डितका अनुसार तत्कालका लागि एमालेमा अर्ली विशेष र नियमित महाधिवेशनको सम्भावना छैन। भण्डारी सक्रिय राजनीतिमा आएपछि तल्लो तहका कार्यकर्तासमेत उत्साहित रहेको भन्दै पण्डित अब स्थानीय तहको निर्वाचनमा होमिने बताउँछन्।

एमालेमा अर्ली विशेष र नियमित महाधिवेशनको सम्भावना छैन। भण्डारी सक्रिय राजनीतिमा आएपछि तल्लो तहका कार्यकर्तासमेत उत्साहित रहेको भन्दै पण्डित अब स्थानीय तहको निर्वाचनमा होमिने बताउँछन्।

“पूर्वराष्ट्रपतिले अध्यक्षपछिको वरीयता पाउनुलाई हामीले स्वाभाविक ठानेका छौँ। तर पदीय मर्यादामा रहेपछि त्यस अनुसार उहाँले प्रगति पनि गरेर देखाउनुपर्नेछ। पार्टीमा देखिएका विभिन्न समस्याहरू समाधान गर्न उचित सल्लाह सुझाव दिनुपर्छ। तल्लो तहमा पुगेर पार्टी पुनर्गठनमा लाग्नुपर्छ,” पण्डितले भने, “अहिले तत्कालका लागि माथिल्लो तहको नेतृत्व फेरबदल गर्ने कुरा छैन। अहिले अर्ली विशेष र नियमित महाधिवेशन कुनै पनि हुँदैन।

पार्टी केन्द्रीय कमिटी बैठकमा सर्वसम्मत रूपमा पूर्वराष्ट्रपतिज्यूलाई अध्यक्षपछिको दोस्रो वरीयता दिएको हो। विधानलाई बाध्यकारी अवस्थामा सच्याउन पाउने प्रावधान अनुरूप समेटेर लगिन्छ।”

यता पार्टीमा तिखो रूपमा नेतृत्व पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको बहस चलाउँदै आएकी पार्टी नेत्री रचना खड्का पनि तत्कालका लागि नेतृत्व पुनर्गठनको सम्भावना नरहेको बताउँछिन्। वाम आन्दोलनकै अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई पार्टीको दोस्रो वरीयतामा ल्याउने कुरा स्वागतयोग्य रहेको भन्दै यसले पार्टीलाई अझ मजबुत बनाएर जानुपर्ने माग गर्छिन्। एमालेको राजनीति गिजल्नका लागि भण्डारीको पुनरागमन नभएको बताउँदै उनी तल्ला तहका कार्यकर्ताको आवश्यकता र मनोविज्ञानलाई समेटेर नै यो निर्णय गर्नुपरेको बताउँछिन्।

“अहिलेका लागि नेतृत्व माथिल्लो तहको पुस्तान्तरण पुनर्गठन र रूपान्तरणको बहस सकियो। किनकि हामी अब केन्द्रीय कमिटी बैठकबाटै स्थानीय तहको निर्वाचनमा सक्रिय रूपमा लाग्ने निर्णय गरिसकेका छौँ। पूर्वराष्ट्रपतिज्यूलाई पार्टीले जुन वरीयता दिएको छ त्यो एकदमै स्वागतयोग्य छ। विगतमा अध्यक्षज्यूले उहाँलाई रोकेर गल्ती गरेछु भन्ने महसुस पनि गर्नुभयो। अध्यक्षज्यू पनि आफ्ना कार्यशैली सुधार्दै अगाडि बढ्नुपर्छ। पार्टीलाई एकढिक्का र एकताबद्ध गर्नका लागि सबैले आ-आफ्नो तर्फबाट योगदान गर्नैपर्छ,” खड्का भन्छिन्, “एमालेको राजनीति गिजल्नका लागि पूर्वराष्ट्रपति आउनुभएको भन्दा पनि एमाले जुन ट्र्याकमा हिँडेको थियो त्यसलाई सपार्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ। यहाँले भनेजस्तो एमाले नेतृत्व पुनर्गठन पुस्तान्तरण रूपान्तरणको बहस तत्कालका लागि चाहिँ रोकिएको हो। तर स्थानीय तहको निर्वाचन लगायतका कामहरू सकिएपछि आवश्यकता अनुसार हामी यसलाई अगाडि बढाउँदै जानेछौँ। अहिले चाहिँ स्थानीय तहको निर्वाचनमा नै एकमत एकचित्त भएर जाने कुरा भएको छ। समयअनुकूल नेतृत्व परिवर्तन गर्ने विषयलाई त रोक्ने कुरै छैन।”

एमाले नेता पदम गिरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको दोस्रो वरीयतामा आएर पार्टी एक बनाएर जाने विषयमा योगदान गर्नुलाई अनौठो मान्नुपर्ने कारण नभएकाे बताउँछन्। उनी दोस्रो वरीयतामा आउँदा पार्टी एक भएर अगाडि बढ्ने अवस्था रहे त्यसले पार्टीलाई सही दिशा र ट्र्याकमा लैजाने गिरीको विश्लेषण छ। सैद्धान्तिक रूपले हेर्दा पूर्वराष्ट्रपतिजस्तो व्यक्ति राजनीतिमा आउने कुरा त्यति शोभनीय नभए पनि पार्टी एक हुन्छ भने त्यसलाई आपत्तिको विषय बनाउनु नहुने बताउँछन्।

एमाले नेता पदम गिरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको दोस्रो वरीयतामा आएर पार्टी एक बनाएर जाने विषयमा योगदान गर्नुलाई अनौठो मान्नुपर्ने कारण नभएकाे बताउँछन्।

“सैद्धान्तिक रूपले हेर्दा पूर्वराष्ट्रपतिज्यू राजनीतिमा सक्रिय हुनु त्यति नसुहाउला तर व्यावहारिक रूपमा एमाले बनाउन र तल्लो तहसम्म पुग्नका लागि उहाँले योगदान, अभिभावकत्व र निराशालाई चिर्नुहुन्छ भन्ने लागेको छ। उहाँले सक्रिय रूपमा खटेर पार्टीलाई एक मन एकचित्त बनाएर लैजान भूमिका खेल्नुपर्छ। उहाँ पार्टीमा दोस्रो वरीयतामा आउँदा पार्टी सही दिशामा हिँड्छ भने त्यसलाई हामीले स्वागत गरेका हौँ,” गिरीले भने, “पार्टी समयानुकूल रूपान्तरण हुनुपर्छ भन्ने कुरामा हामी कन्फ्युजन छैनौँ। तर स्थानीय तहको निर्वाचन लगायतका विभिन्न कारणले गर्दा पार्टी एक बनाएर जानुपर्ने पनि हामीलाई चुनौती छ। अहिले तत्कालका लागि नेतृत्व पुनर्गठन र रूपान्तरणको बहसलाई केही समयका लागि रोक्न सकिएला तर समयानुकूल पार्टी चल्नुपर्छ भन्ने कुरा त पार्टीमा उठिनै रहन्छ। पख्नुस् न स्थानीय तहको निर्वाचन छ, त्यहाँ हामीले कस्तो प्रकारले पार्टीलाई आकार दिन्छौँ, कस्तो गति दिन्छौँ, कसरी खर्चन्छौँ त्यो पनि त हेर्नुपर्ला।”

ओलीका लागि स्थानीय तहको निर्वाचन परीक्षण

स्थानीय तहको निर्वाचनमा ओलीकै नेतृत्वमा एमाले अगाडि बढेपछि उनका लागि परीक्षणका रूपमा हेर्न सकिन्छ। नेताहरूले स्थानीय तहको निर्वाचनसम्म यही नेतृत्व जाँदा त्यहाँबाट कस्तो जनमत आउँछ त्यसले ओली नेतृत्वमा रहने नरहने कुराको पुष्ट्याइँ गर्ने बताउँछन्। एमाले अध्यक्ष केपी ओलीकै सहमतिमा एमाले पुनर्गठन गर्ने भन्दै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदलले तयार पारेको प्रतिवेदन ओलीले प्रस्तुत गर्न र लागू गर्न दिएका छैनन्। भविष्यमा त्यो प्रतिवेदन लागू हुँदै जाने विश्वास भने केन्द्रीय कमिटी बैठकमा दिलाएको नेत्री रचना खड्का बताउँछिन्। खड्काका अनुसार स्थानीय तहको निर्वाचनपछि जनमत आएको आधारमा पनि कसरी एमाले अगाडि बढ्नुपर्छ भन्ने कुराको पुष्ट्याइँ हुँदै जाने दाबी छ। यता एमाले युवा नेता सुहाङ नेम्वाङ, अर्का नेता कर्ण थापा, प्रदीप ज्ञवाली, नरेश रोकाया, अग्नि खरेल लगायतका नेताहरू पनि स्थानीय तहको निर्वाचनपछि प्राप्त जनमतका आधारमा पार्टी कुन दिशामा अघि बढ्नुपर्छ भन्ने कुराको पुष्ट्याइँ हुने दाबी गर्छन्।

केन्द्रीय कमिटी बैठकले तत्कालका लागि नेतृत्व पुनर्गठनको बहसलाई रोके पनि ओलीका लागि स्थानीय तहको निर्वाचन परीक्षणकाल हुन सक्ने विश्लेषण युवा नेताहरूको छ। “अध्यक्षज्यूले अहिलेको अवस्था देख्दा मलाई पार्टीभित्रै घेराबन्दी बनाइयो, आरोप लगाइयो भन्ने कुरामा चित्त दुखाउनुभएको छ। पार्टी एकताबद्ध बनाउनका लागि पूर्वराष्ट्रपतिज्यूलाई पनि दोस्रो वरीयता दिएका छौँ। अब हेरौँ स्थानीय तहको निर्वाचनमा एकचित्त एक मन भएर पार्टी अगाडि बढ्छ। त्यसपछि कस्तो जनमत आउँछ अनि एमालेको फैसला हुन्छ, तर स्थानीय तहको निर्वाचनपछि प्राप्त जनमतका आधारमा कुराहरू अगाडि बढ्छन्,” एमालेका एक सचिवालय सदस्यले भने, “अध्यक्षज्यूले आफूलाई बलियो बनाउनका लागि जुन-जुन कुराहरू गर्दै जानुहुन्छ त्यो स्थानीय तहको निर्वाचनमा छर्लङ्गै देखिन्छ। यदि तल्लो तहबाटै स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा आयो भने अध्यक्षज्यूको कुरा ठीकै रहेछ भनौँला। नभएको खण्डमा उहाँले पनि आफैँले आफूलाई विश्लेषण गर्नुहोला। पार्टी एउटा दिशामा अगाडि बढ्न लागेको थियो। उहाँले पूर्वराष्ट्रपतिज्यूलाई दोस्रो वरीयता दिएर अर्कै दिशामा पुर्‍याउनुभयो। त्यसकारण उहाँ सही कि गलत अथवा उहाँले भनेका कुरा के हुन् भन्ने निर्णय त स्थानीय तहको निर्वाचनले देला।”

केन्द्रीय कमिटी बैठकले तत्कालका लागि नेतृत्व पुनर्गठनको बहसलाई रोके पनि ओलीका लागि स्थानीय तहको निर्वाचन परीक्षणकाल हुन सक्ने विश्लेषण युवा नेताहरूको छ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकिसकेको छैन। तर अबको आठ-दश महिनापछि स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको बुझिन्छ। स्थानीय तहको निर्वाचनसँगै प्रदेशसभाको निर्वाचन पनि गर्ने अवस्था देखिन्छ।

एमालेले इतिहासकै सबैभन्दा लज्जास्पद जनमत फागुन २१ को निर्वाचनमा ल्याएको छ। त्यसको सम्पूर्ण कारण एमाले अध्यक्ष ओली रहेको पुष्ट्याइँ हुने गरेको छ। तर ओली यो कुरा स्वीकार्न तयार छैनन्। एमालेमा अहिले प्रतिनिधिसभामा जम्मा २५ सिट मात्रै छ। २०७९ को निर्वाचनमा एमालेले ७९ सिट ल्याएको थियो।

के ओलीको विकल्प विद्या बन्न सक्छिन् ?

युवा नेतालाई सोध्दा ओलीको विकल्प कुनै पनि हालतमा भण्डारी बन्न नसक्ने विश्लेषण सुनाउँछन्। दोस्रो तहका कतिपय नेताहरू भने विकल्प बन्न सक्ने संकेत दिन्छन्। तर ओलीको विकल्प विद्या नै हो भन्ने ठोकुवा अहिले गर्ने अवस्था भइनसकेको नेताहरूको भनाइ छ। “उहाँले गर्ने आगामी राजनीतिक कार्यदिशा र पार्टीमा कस्तो भूमिका रहन्छ भन्ने कुराले यो सबै निर्धारण गर्ला, अहिले नै भन्ने बेला होइन,” एमाले नेता गिरी भन्छन्, “अहिलेको राजनीतिक आन्दोलन कहाँ पुगेको छ र अब हामीले कस्तो नेतृत्व चाहेका हौँ भन्ने विषयको बहस हुँदै जाला। अध्यक्षपछि अरू वरीयतामा रहनुभएका सम्पूर्ण नेताहरू नेतृत्वको दाबेदार रहन सक्नुहोला तर त्यसलाई पुस्ताले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुराको विश्लेषण गर्न हतारो हुन्छ।”

यता नेत्री खड्का ओलीको विकल्प विद्या हुन सक्ने सम्भावना जीवित रहेको बताउँछिन्। उनी आगामी महाधिवेशनमा विधि र प्रक्रियाले दिएको अवस्थामा भण्डारी पनि नेतृत्वमा आउन सक्ने सम्भावना रहेको सुनाउँछिन्। “विधि र प्रक्रियाले दिएको अवस्थामा उहाँ नेतृत्वमा आउनुहुँदैन भन्न सक्ने सम्भावना छैन। उहाँ आउन पनि सक्नुहुन्छ,” खड्काले भनिन्, “एमाले मात्र होइन कम्युनिस्ट एकता र कम्युनिस्ट आन्दोलनलाई जागृत बनाउनका निमित्त नै धेरैले उहाँको आवश्यकता महसुस गरेको हुन सक्छ, त्यसकारण यो पनि सम्भावना उत्तिकै हुन्छ।”

भण्डारीनिकट नेत्री रहेकी खड्कालाई ‘उहाँको चाहना चाहिँ छ ?’ भन्ने प्रश्नमा भन्छिन्, “चाहना त स्वाभाविक कुरा हो। उहाँ नेतृत्वमा आइदिएको खण्डमा एमाले बन्छ र एमाले बनाउन सक्नुहुन्छ भने त उहाँको चाहना बिल्कुल देखिन्छ, त्यो स्वाभाविक हुन्छ।”

आगामी महाधिवेशनपछि आफू नेतृत्वमा उठ्ने विषयमा भण्डारीले भित्रभित्रै तयारी गरेको देखिन्छ। आफूपक्षका नेताहरूलाई समेट्ने र ओलीको पनि विश्वास जितेर आगामी नेतृत्वमा आउने तयारी भने पक्कै भण्डारीले गरेकी छन्। तर बदलिएको राजनीतिक परिस्थिति र गत भदौ २३ र २४ को आन्दोलनको माग भने भण्डारीलाई नेतृत्वमा ल्याउनु होइन। किनकि दुई-दुई पटकसम्म पूर्वराष्ट्रपति भइसकेको व्यक्तिलाई एमाले अथवा अरू कुनै शक्तिले फेरि राजनीतिक पार्टीको नेतृत्वमा आओस् भन्ने चाहना भने राखेको होइन। यसबारे प्रश्न गर्दा एमाले युवा नेता नरेश रोकाया भन्छन्, “केही छिनका लागि उहाँलाई नेतृत्व मानेर कम्युनिस्ट आन्दोलन नै एक हुन्छ भने जान सकिएला। अब पनि पुरानै ढर्रामा एमाले अथवा अरू पार्टी चले भने त्यसको भविष्य के हुन्छ भन्ने कुरालाई पनि विश्लेषण गर्नुपर्छ।”

उसो त एमालेका केही वैचारिक नेताहरूले पनि भण्डारीले वाम आन्दोलनकै नेतृत्व गर्नुपर्ने अवस्था भएको खण्डमा क्षणभरका लागि नेतृत्व मान्न सकिने दाबी गर्छन्। तर लामो समयसम्म उनकै नेतृत्व र बदलिएको राजनीतिक परिस्थितिलाई वास्ता नगर्ने हो भने कम्युनिस्ट आन्दोलन अझ धराशायी र पानी माग्ने अवस्थामा पुग्ने विश्लेषण ती नेताहरूको छ।

यसबारे एमालेका बौद्धिक नेता मानिने सुरेन्द्र पाण्डेलाई प्रश्न गर्दा अहिले नै यसको विश्लेषण गरिहाल्ने अवस्था नरहेको बताए। “राजनीतिक परिस्थितिका कारण यसै भन्न सकिने अहिले अवस्था छैन। यसलाई त्यसरी बुझ्नुहोस्।”

अध्यक्ष बन्ने दौडमा छिन् भण्डारी, “हिजो चिसो व्यवहार थियो, आज न्यानो हुँदै गएको छ”

भण्डारी अहिले एमालेको नेतृत्वको दौडमा भने पक्कै छिन्। विभिन्न व्यक्तिहरूसँगको भेटमा पनि उनले नेतृत्वमा फर्किने विषयमा संकेत दिएको बताइन्छ। भण्डारीसँग भर्खरै भेटेका एमालेका एक शीर्ष नेताले खबरहबलाई दिएको जानकारी अनुसार ओलीले भण्डारीलाई दोस्रो वरीयता दिएर लचिलो हुनु पनि उनी नेतृत्वमा आउनुको खुड्किलो हो।

ओलीले लामो समयसम्म झुलाएर भण्डारीलाई राजनीतिक स्वार्थ राखेरै दोस्रो वरीयता दिएको बताइन्छ। तत्कालका लागि नेतृत्व पुनर्गठन र पुस्तान्तरणको बहस रोक्ने र आगामी महाधिवेशनपछि भण्डारीलाई नेतृत्वमा सघाउने उद्देश्यले ओलीले पुनरागमन गराएको ती नेता विश्लेषण सुनाउँछन्।

“तत्कालका लागि आफू नेतृत्वमा बसिरहने र आगामी महाधिवेशनपछि भण्डारीलाई सघाउँछु भन्ने स्वार्थ अनुरूप ओलीजीले दोस्रो वरीयता दिएको कुराको आकलन गर्न गाह्रो छैन,” ती नेताले भने, “अहिले तपाईँहरू पार्टीमा रहँदै गर्नुहोस्। पछि यस विषयमा महाधिवेशनका बेला कुरा गरौँला। अहिलेलाई दोस्रो वरीयता आएपछि केही कुराहरू मिल्दै गएका छन्। पार्टीलाई चलायमान र एकताबद्ध बनाएर जाने कुरामा म पनि दौडनेछु।”

उसो त अर्का नेतालाई पनि उनले पार्टीमा ओलीको एकमनावाद अन्त्य हुँदै गएकाले तत्काल तिखो आवाज नउठाउन आग्रह गरेकी थिइन्। “राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र भाव ममा छ। अहिले नेतृत्वमा रहेका व्यक्तिको एकमनावाद अन्त्य हुँदै गएको छ,” भण्डारीले भनेको कुरा उद्धृत गर्दै ती नेताले भने, “एमालेको एउटा माथिल्लो तहको नेतृत्वमा आइसकेको हुनाले मेरा तर्फबाट खेल्नुपर्ने पहलकदमी पनि पार्टी निर्माणका लागि हुनेछन्। हिजोका दिनमा चिसो व्यवहार भएकै हो। अहिले न्यानो हुँदै गएको छ।”

राजनीतिक विश्लेषक सञ्जीव पोखरेल र श्याम श्रेष्ठ भने पूर्वराष्ट्रपति भइसकेको व्यक्तिले अब नेतृत्व हाँक्छु भन्नुले पछिल्लो पुस्ताको भावनालाई कदर नगर्ने बताउँछन्।

२०७२ कात्तिकमा राष्ट्रपति भएसँगै एमालेको राजनीति त्यागेकी भण्डारी अहिले पुनः ओलीको दोस्रो वरीयतामा आएपछि आफूनिकट नेताहरूसँग खुसी साटेको बताइन्छ।

राजनीतिक विश्लेषक सञ्जीव पोखरेल र श्याम श्रेष्ठ भने पूर्वराष्ट्रपति भइसकेको व्यक्तिले अब नेतृत्व हाँक्छु भन्नुले पछिल्लो पुस्ताको भावनालाई कदर नगर्ने बताउँछन्। पोखरेल चाहिँ गणतन्त्र नेपालको राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनुले नागरिकहरूको विश्वासलाई टुटाउन सक्ने विश्लेषण गर्छन्। श्रेष्ठ पनि क्षणभरका लागि नेतृत्व मान्न सकिए पनि लामो समयसम्म उनको नेतृत्व कतिको उपयुक्त हुन्छ भन्ने बहस चाहिँ पार्टीमा तिखो रूपमा चल्नुपर्ने बताउँछन्।

२०८२ साल भदौ २३ र २४ को आन्दोलनका कारण राजनीति नयाँ मोडतिर गइरहेकाले त्यसलाई त्यही ढङ्गले हेर्नुपर्ने विश्लेषण विश्लेषकहरूको छ। समग्रमा आकलन गर्दा भण्डारीको तीव्र नेतृत्वमा आउने इच्छा हुँदाहुँदै पनि उनको पुनरागमन भने सहज देखिँदैन।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ११ : ३५ बजे

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको