‘अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ’ « Khabarhub

‘अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ’



काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प विद्या भण्डारी बन्न सक्ने सम्भावना रहेको बताउँछिन् । एमाले अध्यक्ष ओलीकै निर्णयमा भण्डारी पार्टीको वरिष्ठ नेता बनेको जानकारी दिँदै भण्डारीलाई रोकेको विषयमा ओलीले पनि गम्भीर आत्मसमीक्षा गरेको उनको प्रष्टीकरण छ । विद्या भण्डारीलाई एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरियता दिएकोमा उनी खुसी छन् ।

तर एमालेले स्थानीय तहको निर्वाचन फेस गर्दा धेरै चुनौतीहरु सामना गर्नुपर्ने भएको स्वीकार गर्दै उनी अहिले नै उत्साहित भइहाल्ने वातावरण नबनिसकेको बताउँछिन् । आगामी स्थानीय तहको निर्वाचन केपी शर्मा ओलीका लागि परीक्षणका रुपमा रहने खड्काको विश्लेषण छ । एमालेमा विशेष अथवा अर्ली महाधिवेशनको सम्भावना तत्काल नरहेको बताउँदै उनी नेतृत्व पुनर्गठन, पुस्तान्तरण र हस्तान्तरणको बहस स्थानीय तहको निर्वाचनपछि उठ्दै जाने दाबी गर्छिन् ।

यसै सन्दर्भमा हामीले नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्कासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

अब एमालेमा नेतृत्व पुनर्गठन, रूपान्तरण र पुस्तान्तरणको बहस सकियो होइन ?

पार्टीको रूपान्तरण, पुस्तान्तरण र पार्टीभित्रको नेतृत्व हस्तान्तरणको बहस त सधैँभरि निरन्तर चलिरहने प्रक्रिया नै हो । यो प्रक्रियाबाट नै पार्टी अगाडि बढ्ने हो । यो विषय सकिसक्यो भन्ने त होइन । तर निर्वाचन सकिएपछि कार्यदल बनाएर पार्टी रूपान्तरण गर्ने जुन कुरा थियो । त्यसका सन्दर्भमा कार्यदलले एउटा रिपोर्ट बनाएको छ । त्यो रिपोर्ट केन्द्रीय समितिमा नआएपनि नेतृत्वले त्यसलाई कार्यान्वयन गरेर लैजाने प्रतिबद्धता अस्ति बसेको केन्द्रीय कमिटी बैठकमा गरेको छ ।

त्यो कार्यदलको रिपोर्ट र केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदन कार्यान्वयन गर्ने विषय निरन्तर रहन्छ । प्रत्येक तहमा नेतृत्व हस्तान्तरण प्रक्रियालाई कसरी सहज बनाउने भन्ने विषय पनि ती प्रतिवेदनहरूमा उल्लेख छन् । यो रोकिँदैन, चलिरहन्छ ।

उसो भने विशेष र अर्ली महाधिवेशन हुने अवस्थाको चाहिँ अन्त्य भएको हो ?

अब केन्द्रीय कमिटीको बैठकले तत्काललाई यो कुरा स्थगित गरेर स्थानीय तहको निर्वाचनमा फोकस हुने भन्ने निर्णय गरेको छ । अब हाम्रो मुख्य दायित्व भनेको स्थानीय तहको निर्वाचन हो । हामी त्यसमै केन्द्रित हुन्छौँ ।

यही नेतृत्वलाई लिएर स्थानीय तहको निर्वाचन फेस गर्न सक्नुहुन्छ ?

जनताको तहबाट कस्तो जनमत आउँछ भन्ने कुरा त निर्वाचनले देखाउँछ । अर्को यहाँले जोडेको कुराजस्तै नेतृत्वको विषयमा के गर्ने भन्नेबारे निर्णय पनि स्थानीय तहको निर्वाचनले दिन्छ । स्थानीय तहको निर्वाचनमा अहिलेको नेतृत्वको पनि परीक्षण हुन्छ र त्यसपछाडि पार्टी कुन कार्यदिशा नीति कार्यक्रम र नेतृत्व कस्तो लिएर जाने भन्ने विषयमा प्रवेश गर्छ ।

यस अगाडि तपाईँहरूले नै एमालेमा नेतृत्वको पुनर्गठनको बहस उठाउँदै आउनुभएको थियो । त्यसका लागि अर्ली अथवा विशेष महाधिवेशन गर्नुपर्छ भन्ने लाइनमा तपाईहरु नै देखिनुहुन्थ्यो । तर, एकाएक केन्द्रीय कमिटीको बैठकपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरियतामा ल्याएपछि तपाईहरु चुपचाप बस्नुभएको ? तपाईँहरूको माग यही थियो ?

विगतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता निरन्तरताको विषयमा नेतृत्वमा रहनुभएका अध्यक्ष ओलीले जुन निर्णय गर्नुभएको थियो, त्यो निर्णय गलत रहेछ भन्ने महसुस उहाँ आफैँले गर्नुभएको छ । पार्टी निर्वाचनमा गएपछि जुन तरिकाको धक्का व्यहोरेको छ, हो यस्तै निर्णयहरूका कारणले हामीलाई जनताले नचुनेका हुन् । विगतमा अध्यक्ष ओलीले जुन गल्ती गर्नुभएको थियो, त्यो गल्तीलाई सरसर्ती ढङ्गले स्वीकार्दै यस्तो निर्णय गरेको हो भन्ने महसुस आफैँले गर्नुभएको छ ।

ओलीको विकल्प आगामी महाधिवेशनमा विद्या भण्डारी बन्न सक्नुहोला ?

भोलिको कुरा त आज हामीले ठ्याक्कै भन्न सक्दैनौँ । अहिले हामी के भन्न सक्छौँ भने अहिले ओलीको विकल्पमा अरु धेरै नेता भएजस्तै एउटा सशक्त विकल्प उहाँ पनि हो । विद्या भण्डारी राजनीतिमा आइसकेपछि पार्टीमा ओलीको सबैभन्दा सहज र निकट विकल्प उहाँ बन्नुहुन्छ भन्ने कुराहरु सबैबाट आइसकेको छ । त्यसकारण यो कुरा भन्न किन हिच्किचाउनु हुँदैन भने आगामी महाधिवेशनमा समन्वयकारी, सशक्त र सहज विकल्प भण्डारी बन्न सक्नुहुन्छ ।

त्यसोभए भण्डारीलाई ओलीपछिको वरियता दिइएकामा खुसी हुनुहुन्छ ? अथवा पूर्वराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा पुन पदीय भूमिकामा फर्किनु शोभानीय हुँदैन भन्ने कुरा हो ?

विद्या भण्डारीले जुन हिसाबले राजनीतिमा निरन्तरता दिन्छु भन्नुभएको थियो । त्यो कुरालाई सहज रुपमा स्वीकारेर पार्टीले अगाडि लगिदिएको भए यत्रो ठूलो समस्या नै हुने थिएन । जेसुकै भएपनि सदस्यतालाई निरन्तरता दिइसकेपछि उहाँले पनि आफ्नो भूमिका निर्वाह गरेर देखाउनैपर्छ । पूर्वराष्ट्रपतिज्यू पार्टीको यत्तिकै सदस्यता रिन्यू गर्नेभन्दा पनि पार्टी अप्ठ्यारोमा छ । पार्टी संकटमा छ, पार्टीको जनतासँगको सम्बन्ध क्षतविक्षत भयो ।

तर भण्डारीलाई दोस्रो वरियता दिएर पार्टी रूपान्तरण र पुस्तान्तरणको बहसलाई गिजोलियो भन्ने कुराहरु पनि उठेका छन् नि ?

त्यो भन्नुको केही अर्थ छैन । विशेष अवस्थामा विधान परिवर्तन गर्न सकिने व्यवस्था रहेकाले त्यही व्यवस्थालाई टेकेर उहाँलाई दोस्रो वरियता दिएको हो । फेरि नेतृत्व पुनर्गठनको बहस रोकिएको पनि होइन । हामी निर्वाचनसम्म कुरौँ, कस्तो परिणाम आउँछ । नेतृत्वले पनि त्यहाँसम्म कुरिदिनुहोस् भन्ने किसिमको कुरा गरेपछि हामीले त्यसलाई स्वीकारेका हौँ ।

अब तपाईँहरू स्थानीय तहको निर्वाचनमा जान यही नेतृत्वसँग खुसी हुनुहुन्छ ?

खुसी त हामी छैनौँ । खुसी हुने ठाउँमा अहिले पुगिएको छैन । जनताको जे जनमत छ त्यसले हामीलाई एकदम निराशा बनाएको छ। केही कुराहरू कार्यकर्ता पङ्क्तिबाट जे आएका छन्, त्यसलाई हामीले जस्ताको त्यस्तै कार्यान्वयन गरेर जान सक्दा धेरै सहज स्थिति हुन्थ्यो । प्रत्येक तहमा नेतृत्व प्रभावकारिताको विषयमा बहस छलफल भएकै थियो । त्यसलाई एउटा सन्देश दिएर जाँदा राम्रो हुन्थ्यो । केन्द्रीय कमिटीले जे भन्यो, त्योभन्दा बाहिर गएर सोच्ने स्थिति हुँदैन । केन्द्रीय कमिटी भनेको पार्टीको सबैभन्दा माथिल्लो निकाय हो । माथिल्लो निकायले जे निष्कर्ष निकाल्यो त्यो निष्कर्षलाई बोकेर जानुको विकल्प छैन ।

तर यो सजिलो विषय चाहिँ होइन । जनताको विश्वास जितेर स्थानीय तहको निर्वाचनमा जानका लागि धेरै कठिन छ । जनतालाई कन्भिन्स गर्नका लागि सिङ्गो पार्टी कमिटीले धेरै मेहनत गर्नुपर्छ । पार्टी निर्वाचनको माहोलमा जाँदा हाम्रा निम्ति धेरै चुनौतीहरू छन् । हामीले अहिले जे निर्णयहरू गरेका छौँ, त्यो चुनौती सामनाका लागि पर्याप्त छैन है भनेर बुझेरै निर्वाचनको निम्ति जानुपर्छ ।

पार्टीको वरिष्ठ नेता पूर्वराष्ट्रपति भण्डारी त तपाईँहरूसँग निरन्तर समन्वय र सम्पर्कमा हुनुहुन्छ रे । खास के भन्नुहुन्छ उहाँले ?

व्यक्तिगत रूपमा उहाँ देशप्रति र पार्टीप्रति एकदमै धेरै चिन्तित हुनुहुन्छ । उहाँले पार्टीप्रति देखिएका जति पनि अन्तरविरोध र गुनासाहरू छन् त्यसलाई चिर्नका लागि उचित कदम चाल्ने तयारीमा हुनुहुन्छ । समस्याहरू समन्वय र हल गर्ने विषयमा उहाँको बढी भूमिका रहन्छ । कतिपय विषय चाहिँ नेतृत्वका कार्यशैलीगत कुराहरू छन् । त्यसमा उहाँ अभिभावकीय हिसाबले करेक्सन गराउने कुरामा भूमिका खेल्नुहुन्छ । त्यसैगरी सिङ्गो नेपालको वाम आन्दोलन अलिकति रक्षात्मक अवस्थामा पुगेको छ । त्यो आन्दोलनलाई कसरी एजेन्डा र नीतिमा एकताबद्ध बनाएर लैजाने भन्ने सन्दर्भमा पनि उहाँको अभिभावकीय भूमिका होला । उहाँले व्यक्तिगत समूहगत स्वार्थबाट माथि उठेर नेकपा एमालेको साखलाई हिजोकै दिनमा फर्काउने कुरामा नै उहाँको प्रयत्न हुन्छ जस्तो मलाई लाग्छ । कार्यशैलीगत कुराको करेक्सन, अन्तरविरोधहरूको समाधान, राष्ट्रिय हितहरूमा केन्द्रमा राख्ने कुराहरूमा नै उहाँको भूमिका हुन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : ४१ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन