काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले विधान विपरीत चल्ने पार्टीका नेता, कार्यकर्तामाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको प्रभावमा परेर सोही अनुसारको गतिविधि गर्नेलाई पार्टीले कारबाही गर्ने उनको भनाई थियो ।
आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित ‘हामी तयार छौ’ अभियान अन्तर्गतको स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि पार्टीको विधान विपरीत काम गरेको पाइए कारबाही हुनेमा स्पष्ट हुन सचेत गराए ।
उनले कांग्रेसबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टीको हित विपरीत गतिविधि नगर्न पनि सचेत गराए ।
सभापति थापाले पार्टी कांग्रेसको हित विपरीत काम गर्नेहरू पार्टीमा नरहने पनि बताए । सभापति थापाले आफूले सबै समूहलाई एकताबद्ध गराएर लैजाने प्रयासलाई जारी राखेको बताए ।
त्यसै गरी उनले सरकारले गरेका सबै गलत कुराहरूको भण्डाफोर गर्ने चेतावनी समेत दिए । सभापति थापाले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको सन्देश दिने गरी देशभर अभियान सञ्चालन गर्ने पनि बताए । उनले सुकुम्वासीको विषय, बाढी पीडितहरूको विषयमा पनि सरकारको गलत कामको विषयलाई लिएर जनतामा जाने बताए ।
सभापति थापाले सार्वजनिक ओहोदामा रहेका सबैको सम्पत्ति छानबिन गर्न कांग्रेस तयार रहेको पनि बताए ।














प्रतिक्रिया