कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो ! « Khabarhub

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !



समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई पखेटा हुन् । वालेन्द्र नाम मुलुकको कार्यकारी प्रधानमन्त्री पदमा आसीन छ भने बालेन सामाजिक सञ्जालबाट करोडौँ आम्दानी गर्ने भाइरल पात्रका नाममा स्थापित छ । सरकारमा पेश भएको करोडौँ सम्पत्तिको आयस्रोत सामाजिक सञ्जाल देखाइरहँदा उनी यी दुवै नाम समानान्तर गतिमा अघि बढाउन चाहन्छन् । रहस्यमयी बन्दै जाँदा बालेन फस्टाउँछ, करुणाको दायरा फराकिलो बनाइँदा वालेन्द्रको साख बढ्छ । बालेन क्रेजले पैसाको चाङ लाग्ला ! तर यसबाट कीर्तिमानी बन्न सम्भव छैन । कीर्तिमानी हुन तेजस्वी, ओजस्वी, सुरवीर वालेन्द्र चाहिन्छ । तीन करोड जनताले भरोसा गर्ने अभिभावकत्व वालेन्द्र पात्रबाट अपेक्षित छ ।

वालेन्द्रमा विवेक हावी हुन्थ्यो भने वालेन्द्रले मुलुकको कार्यकारी पदको सपथ लिँदा सामाजिक सञ्जालबाट ‘बालेन’का सम्पूर्ण सटर बन्द गर्नुपर्थ्यो । आम्दानीका अमूर्त बाटाहरूसँग सम्बन्ध विच्छेदको घोषणा गर्नुपर्थ्यो ।

जनताका अनगिन्ती इच्छा र अपेक्षा कसरी पूरा गर्ने त ? वालेन्द्रअघि पनि त्यो कुर्सीमा धेरै मानिस बसेका थिए । यसपछि अर्को व्यक्तिले वालेन्द्रलाई धकेल्ने निश्चित छ । अराजनीतिक मानिसका लागि राजनीतिको बाटो सहज बनेपछि फास्ट ट्रयाकले कसले कसलाई कहाँ पुर्‍याउँछ भन्न सकिन्न । सडक, यातायात, खानेपानी बनाएर अब विकास पूरा हुँदैन । यी हार्डवेयर मात्र हुन् । अब मानिसलाई चाहिएको पहिलो भनेको आन्तरिक खुसी हो । संघर्षभन्दा शरीरमा पेट्रोल छर्कनुलाई नागरिकले मुक्तिको सहज बाटो ठान्छ भने यो अपवाद नभएर निराशाको सूचक हो । अब हिजोतिर औँला तेर्स्याएर आज उम्कन सम्भव छैन ।

यदि वालेन्द्रमा विवेक हावी हुन्थ्यो भने वालेन्द्रले मुलुकको कार्यकारी पदको सपथ लिँदा सामाजिक सञ्जालबाट ‘बालेन’का सम्पूर्ण सटर बन्द गर्नुपर्थ्यो । आम्दानीका अमूर्त बाटाहरूसँग सम्बन्ध विच्छेदको घोषणा गर्नुपर्थ्यो । सचिवालयमा जति सदस्य हाले पनि आपत्ति भएन । तर मुलुकको विधि विधान आफ्ना भजनमण्डलीले कब्जा गरेको कम्तिमा सूचना प्रवाहित हुनुहुन्थेन । संविधान संशोधन कार्यदलको संयोजकको जिम्मेवारी पाएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारलाई जुनसुकै पदले विभूषित गरे पनि उनलाई लोकले दिएको मान्यता भनेको मूलतः नौटङ्की नै हो । लोकले स्वीकृत नदिएको मानिस पदले विभूषित भए पनि समयले उसलाई सम्झँदैन । किष्किन्धाका बाँदर उचालेर रामले रावण जितेको रामायणकालीन नजिरले डिजिटल युगमा काम गर्दैन ।

वालेन्द्रकै उमेर, दुई तिहाइ संसदको बडाहाकिम बनेर बीपी सत्ताको ककपिटमा बसेकै हुन् । राजा, आफ्नै साथीभाइको चक्रव्यूह र राज्य सञ्चालनको भाँती नपुर्‍याउँदा उनी सरकार चलाएको १७ महिनामै अपदस्थ भए ।

हाम्रो शासनप्रणाली ‘वेष्ट मिनिस्ट्री सिस्टम’मा चलेको छ । यो भनेको प्रधानमन्त्रीको बोली कानून हुने पद्धति हो । मन्त्रिपरिषद्को परिवार ठूलो देखिए पनि बाँकी मन्त्री भनेका प्रधामन्त्रीको निर्णयका साक्षी किनार मात्र हुन् । यस्तो शक्तिशाली व्यक्तिले फेसबुकमा सरकारको निर्णय लेख्ने कामलाई निरन्तरता दिनु भनेको हेपाहा प्रवृत्ति हो । केपी, प्रचण्ड र शेरबहादुर देउवा विरुद्धको असन्तुष्टि भनेकै कार्यालय समय र कार्यालयभित्रै सरकारका निर्णय हुनुपर्छ भन्ने हो । सरकार बनाउँदा वा फाल्दा बदनाम व्यक्तिको बैठककोठा रोज्ने पुराना नेताको प्रवृत्ति विरुद्ध नयाँपुस्ताको विद्रोहकै कारण वालेन्द्र सरकारको मुखिया बन्न सफल भएको सत्य बिर्सन हुँदैन ।

राज्य सञ्चालकको कुर्सीमा गरिएको ठट्टाले पुस्तौँ हान्छ । चाहे त्यो सत्कर्म होस् या कुकर्म । वालेन्द्रकै उमेर, दुई तिहाइ संसदको बडाहाकिम बनेर बीपी सत्ताको ककपिटमा बसेकै हुन् । राजा, आफ्नै साथीभाइको चक्रव्यूह र राज्य सञ्चालनको भाँती नपुर्‍याउँदा उनी सरकार चलाएको १७ महिनामै अपदस्थ भए । उनको भिजनले कहाँ हावा खायो ? पत्तै भएन । सत्ता गुमेपछि मनोसंवाद यसरी गर्छन्– ‘मेरो इच्छा हुन्छ कि नेपालका सबैलाई कोट पाइयोस् । यो आदर्शको कुरा हो, तर म आज सक्छु गर्नलाई ? यहाँ एकलाख गज मात्र बन्दछ भने के म सक्छु ? दुई बिनाको टुक्रा मात्र सकिएला । त्यसो हुनाले आदर्शको कुरा गरेर आजै म सबैलाई कोट दिन्छु भनेँ भने त्यो पूरा हुन सक्दैन, तर त्यो कोट दिलाउने प्रयत्न आजैदेखि हुनुपर्दछ । यो व्यवहारिक पक्षको कुरा हो । दिलाउन सक्दिनँ भनेर प्रयत्नै नगरेर बस्ने र आफू मात्रै १० ओटा कोट लगाएर बस्ने होइन । त्यसो हुनाले, मलाई यहाँ धेरैले उपदेश दिएका छन्– तिमी धेरै आदर्शवादी भयौ भनेर व्यवहारिक हुनुपर्‍यो भनेका छन् । मतलब सबैलाई कोट दिन सकिँदैन भने सारा कोट गुटुमुटु पारेर आफूसँग राख । सबैलाई पैसाले पुग्दैन भने आफू महल बनाएर बस, त्यसलाई व्यवहारिक भन्छन् । म त्यसलाई व्यवहारिक भन्दिन । म भन्छु आजैदेखि थालौँ आफ्ना आदर्शहरूलाई पूरा गर्ने प्रयत्न । मेरो विचारमा त्यो हो व्यावहारिक राजनीति ।’

नायक र नेताको उत्थान–पतनको प्रस्थान विन्दु समान हुन्छ । एउटा नायक चरित्र समयमै व्यवस्थापन नहुँदा कति असहाय निरीह प्राणी बन्नसक्छ भन्ने उदाहरण हेर्न बलिउडका सुविख्यात सुपरस्टार राजेश खन्नाको जीवनलिला काफी छ ।

बलिउड कलाकार राजेश खन्ना एक लाख प्रतिस्पर्धीबाट छानिए । पाँच दशकअघि उनले बाँचेको त्यो युग देख्नेहरू अहिले मिथकजस्तो मान्छन् । बलिउडका बादशाह सलमान खानका पिता सलिम खानलाई आफ्नो छोराको स्टारडमप्रति कतिको गर्व लाग्छ ? भनेर सोध्दा उनले भनेछन्– ‘छोड्दिनुस् म राजेश खन्नाको चकचकी देखेको मानिसका अगाडि सलमानले कमाएको ख्यातिका विषयमा कुनै टिप्पणी गर्न चाहन्न ।’ त्यसो भए राजेश खन्नाले कस्तो स्टारडम पाए ? केही उदाहरण यस्ता छन् ।

–    त्यो समयमा भारतका सैलुनहरूमा ‘राजेश खन्ना कट’ कपाल प्रख्यात थियो । सामान्य कपाल काट्दा पचास पैसा तिर्नुपर्थ्यो भने खन्ना कटको रेट ३ रुपियाँ ५० पैसा थियो ।
–    राजेश खन्नालाई ज्वरो आएको समाचार बाहिर आयो भने प्रशंसकहरू उनको फोटो हातमा लिएर पानी छम्कदै पङ्खा हम्कन्थे ।
–    उनी सुटिङमा जाँदा पार्किङमा राखिएको सेतो कार फर्कँदा पुरै रातो भएको हुन्थ्यो । राजेश खन्नाले पाउने माया त्यो भाग्यमानी कारले यसरी पाउँथ्यो कि ठिटीहरूले लगाएको लिपिस्टिकको डामले गाडीको रङ्ग परिवर्तन हुन्थ्यो । 
–    एकपटक उनी पायल्सले सताइए । उपचारपछि आरामका लागि रिसोर्टमा बसे । राजेश रिसोर्ट पुग्नुअघि नै बाँकी कोठाहरू पुरै बुक भइसकेका थिए । बुक गर्ने अरु कोही नभएर सिनेमाका निर्माता, निर्देशक थिए । जो स्क्रिप्ट र सम्झौता पत्र बोकेर चाकरीमा हाजिर थिए । 
–    राजेश खन्नाको सिनेमा हेर्न फिल्म हल जानु र डेटिङमा जानु महिला दर्शकका लागि एउटै मनोभाव थियो । पुरुष प्रशंसक हिरोले कुटाई खाएको दृश्य आएमा हल नै जलाएर या तोडफोड गरेर चरम आशक्तिको परिचय दिन्थे । 
–    समकालीन अभिनेत्रीहरूलाई राजेश खन्नासँग सिनेमा खेल्न पाउनु भनेको अनमोल ‘गिफ्ट’ हुन्थ्यो ।

मान्छे शिखरमा पुगेपछि जोगिनुपर्ने खराब संगतबाट हो । जब मानिसको कुर्कुचाले जमिन बिर्सन्छ, त्यसपछि उसको ओरालो यात्रा कसैले रोक्न सक्दैन ।

अभिनेता र नेताको आयु उस्तै हो । युग बोकेका यी नायकले केही वर्षअघि गुमनाम मृत्यु अँगाले । जीवनको उत्तराद्र्धमा एक्लो जीवन बाँचे । पत्नी र प्रेमिका त जोडे तर धर्मपत्नी जुरेनन् । उनले बाँचेको जीवन फगत सिनेमाको कहानी बन्यो । त्यो स्टारडममा ग्रहण लाग्नुको मूल कारण थियो– खराब व्यक्तिको सङ्गत । मान्छे शिखरमा पुगेपछि जोगिनुपर्ने खराब संगतबाट हो । जब मानिसको कुर्कुचाले जमिन बिर्सन्छ, त्यसपछि उसको ओरालो यात्रा कसैले रोक्न सक्दैन । कसैको अनुपस्थितिमा राम्रो प्रशंसा हुनु नै उसको जीवनको कमाइ हो । यहूदी भएको अभियोगमा जर्मनीबाट आइन्स्टाइन खेदिएपछि त्यहाँका विद्वानहरूले भनेका थिए– ‘जर्मनी आज युद्धमा हारेको छ ।’

​​​​​​​वर्तमान विश्व राजनीतिमा लोकतन्त्रका नाममा निरङ्कुशताको महाअभियानमा अघि बढेको छ । देशभन्दा व्यक्तिको महत्वकांक्षा अग्रभागमा देखिएको छ । विश्वका सर्वशक्तिमान् देश अमेरिका, चीन, रुस, भारत मात्र हैन, नेपाल, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तानजस्ता साना मुलुक व्यक्तिको छायाँमा परेका छन् । डोनाल्ड ट्रम्प, सी चीनफिङ, भ्लादिमिर पुटिन र नरेन्द्र मोदी मेनियाको ग्रहणले भविष्य कता लाने हो, ठेगान छैन । नेपालमा वालेन्द्रको उपस्थितिले त्यही मेलो समातेको भान हुन्छ । ‘म नै राज्य हुँ’ भन्ने लुइस १६औँका अवतारहरू विश्व राजनीतिमा सलह बनेर उदाएका छन् । अहिले जस्तै विवेक कम, दम्भ बढीको आयतन बढ्दै गयो भने थुप्रै राजनीतिक नेताहरू अभिनेता राजेश खन्नाको गन्तव्यमा पुग्ने निश्चित छ ।

असल मानिस जुनसुकै नेतृत्वमा पुगे पनि त्यसले छोड्ने प्रभाव प्रेरणादायी हुन्छ । उखुजस्तै जति टुक्र्याए पनि स्वाद हराउँदैन ।

असल मानिस जुनसुकै नेतृत्वमा पुगे पनि त्यसले छोड्ने प्रभाव प्रेरणादायी हुन्छ । उखुजस्तै जति टुक्र्याए पनि स्वाद हराउँदैन । आफ्ना तीन सन्तानलाई मुलुकको कार्यकारी प्रधानमन्त्री पदको हैसियतमा पुर्‍याउने संस्कार दिने कृष्णप्रसाद कोइराला राणाको लखेटाइमा परेपछि भारतको टेढीस्थित दिपनगरमा बस्थे । प्रवासमा रहँदारहँदै बाथ र फोक्सोको रोगबाट उनी थलिए । प्रवासबाटै उनले आफू बिरामी भएको उल्लेख गरेर चन्द्रशमशेरलाई पत्र लेखे । चन्द्रशमशेरले प्रत्युत्तरमा कृष्णप्रसादको उपचारका निम्ति सेवन विधि समेत उल्लेख गरी रसादि औषधि पार्सल गरी पठाए । जसले आफूलाई बेघरबार बनायो, उसले पठाएको ओखती खाने, नखाने भन्ने विषयमा घरपरिवारमा बहस भयो । परिवारका सदस्यले त्यो ओखतीमा विष मिसाएको हुन सक्ने भन्दै नखान जोडबल गरे । तर कृष्णप्रसाद कोइरालाले आफ्नो दृढ निर्णय सुनाउँदै भने– ‘मेरो प्रतिरोधीले यस्तो सदाशयता मेरो स्वास्थ्यमा चाख राखी पठाएको ओखतीमा मैले अविश्वास वा शङ्का गरेँ भने उसको जित, मेरो हार हुन्छ । अतः म मरे पनि हार्न चाहन्न । उनले विधिपूर्वक रसादि सेवन गरे ।’ आश्चर्य केही दिनमै उनको बिग्रेको स्वास्थ्यमा चामत्कारिक परिवर्तन आयो । राजनीतिक असहमति र मानवीय आचरण फरक हुन् भन्ने यहाँबाट प्रष्ट हुन्छ । राजनीति सफल बनाउन पनि प्रतिपक्षी बचाउनुपर्छ भन्ने यो घटनाले स्पष्ट गर्छ ।

शास्त्र भन्छ– ‘क्रोधले बुद्धि, अहङ्कारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान, पापले मनुष्यता र अकर्मण्यताले भविष्य सिध्याउँछ ।’ 

अब राणाकै पेरिफेरिमा भएको अर्को घटना स्मरण गरौँ । विक्रम संवत १९८६ साल मङ्सिरमा प्रधानमन्त्री चन्द्रशमशेर सिकिस्त बिरामी भए । उनलाई सिंहदरबारको दक्षिण मूलढोका अगाडिको चौरमा पाल टाँगेर सुताइयो । हजुरिया जर्नेलको आज्ञाअनुसार १७ भाइ राणाजीहरू ग्वारग्वार्ती चन्द्रशमशेरको स्वास्थ्य बुझ्न पसे । महाराज चन्द्रशमशेरले सबैतर्फ एक नजर घुमाए । ‘ठूलाकान्छा’ भनेर सम्बोधन गर्दै कमाण्डर ईन चिफ भीमशमशेरलाई आफू नजिक बोलाएर भने– ‘म तिमीलाई हरबखत गाली गरिरहन्थेँ । यो राजकाजको कुरा हो । त्यसको ख्याल नगर्नू, मेरो सिरानीमुनि एउटा कागज छ, त्यो हेरेर तिमीले राजकाज चलाउनू । यसमा सबै मानिसका बारेमा को कस्ता छन् र ककसलाई के गर्नुपर्छ भनेर पनि लेखेको छु । अब तिमी आफ्नो घर टङ्गाल जाऊ । मैले बोलाएँ भने पनि तिमी नआउनू । आफ्नो बन्दोबस्त गर्नू ।

गुट, झुट, लुटको प्रभुत्व चिनीमा गुलियो टाँसिदाझैँ अटल सत्य बनेका छन् । आज गरिएको राम्रो कामको परिणाम भोलि सगुन लिएर उदाउने हो । शास्त्र भन्छ– ‘क्रोधले बुद्धि, अहङ्कारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान, पापले मनुष्यता र अकर्मण्यताले भविष्य सिध्याउँछ ।’ 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ९ : ३२ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ