समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई पखेटा हुन् । वालेन्द्र नाम मुलुकको कार्यकारी प्रधानमन्त्री पदमा आसीन छ भने बालेन सामाजिक सञ्जालबाट करोडौँ आम्दानी गर्ने भाइरल पात्रका नाममा स्थापित छ । सरकारमा पेश भएको करोडौँ सम्पत्तिको आयस्रोत सामाजिक सञ्जाल देखाइरहँदा उनी यी दुवै नाम समानान्तर गतिमा अघि बढाउन चाहन्छन् । रहस्यमयी बन्दै जाँदा बालेन फस्टाउँछ, करुणाको दायरा फराकिलो बनाइँदा वालेन्द्रको साख बढ्छ । बालेन क्रेजले पैसाको चाङ लाग्ला ! तर यसबाट कीर्तिमानी बन्न सम्भव छैन । कीर्तिमानी हुन तेजस्वी, ओजस्वी, सुरवीर वालेन्द्र चाहिन्छ । तीन करोड जनताले भरोसा गर्ने अभिभावकत्व वालेन्द्र पात्रबाट अपेक्षित छ ।
वालेन्द्रमा विवेक हावी हुन्थ्यो भने वालेन्द्रले मुलुकको कार्यकारी पदको सपथ लिँदा सामाजिक सञ्जालबाट ‘बालेन’का सम्पूर्ण सटर बन्द गर्नुपर्थ्यो । आम्दानीका अमूर्त बाटाहरूसँग सम्बन्ध विच्छेदको घोषणा गर्नुपर्थ्यो ।
जनताका अनगिन्ती इच्छा र अपेक्षा कसरी पूरा गर्ने त ? वालेन्द्रअघि पनि त्यो कुर्सीमा धेरै मानिस बसेका थिए । यसपछि अर्को व्यक्तिले वालेन्द्रलाई धकेल्ने निश्चित छ । अराजनीतिक मानिसका लागि राजनीतिको बाटो सहज बनेपछि फास्ट ट्रयाकले कसले कसलाई कहाँ पुर्याउँछ भन्न सकिन्न । सडक, यातायात, खानेपानी बनाएर अब विकास पूरा हुँदैन । यी हार्डवेयर मात्र हुन् । अब मानिसलाई चाहिएको पहिलो भनेको आन्तरिक खुसी हो । संघर्षभन्दा शरीरमा पेट्रोल छर्कनुलाई नागरिकले मुक्तिको सहज बाटो ठान्छ भने यो अपवाद नभएर निराशाको सूचक हो । अब हिजोतिर औँला तेर्स्याएर आज उम्कन सम्भव छैन ।
यदि वालेन्द्रमा विवेक हावी हुन्थ्यो भने वालेन्द्रले मुलुकको कार्यकारी पदको सपथ लिँदा सामाजिक सञ्जालबाट ‘बालेन’का सम्पूर्ण सटर बन्द गर्नुपर्थ्यो । आम्दानीका अमूर्त बाटाहरूसँग सम्बन्ध विच्छेदको घोषणा गर्नुपर्थ्यो । सचिवालयमा जति सदस्य हाले पनि आपत्ति भएन । तर मुलुकको विधि विधान आफ्ना भजनमण्डलीले कब्जा गरेको कम्तिमा सूचना प्रवाहित हुनुहुन्थेन । संविधान संशोधन कार्यदलको संयोजकको जिम्मेवारी पाएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारलाई जुनसुकै पदले विभूषित गरे पनि उनलाई लोकले दिएको मान्यता भनेको मूलतः नौटङ्की नै हो । लोकले स्वीकृत नदिएको मानिस पदले विभूषित भए पनि समयले उसलाई सम्झँदैन । किष्किन्धाका बाँदर उचालेर रामले रावण जितेको रामायणकालीन नजिरले डिजिटल युगमा काम गर्दैन ।
वालेन्द्रकै उमेर, दुई तिहाइ संसदको बडाहाकिम बनेर बीपी सत्ताको ककपिटमा बसेकै हुन् । राजा, आफ्नै साथीभाइको चक्रव्यूह र राज्य सञ्चालनको भाँती नपुर्याउँदा उनी सरकार चलाएको १७ महिनामै अपदस्थ भए ।
हाम्रो शासनप्रणाली ‘वेष्ट मिनिस्ट्री सिस्टम’मा चलेको छ । यो भनेको प्रधानमन्त्रीको बोली कानून हुने पद्धति हो । मन्त्रिपरिषद्को परिवार ठूलो देखिए पनि बाँकी मन्त्री भनेका प्रधामन्त्रीको निर्णयका साक्षी किनार मात्र हुन् । यस्तो शक्तिशाली व्यक्तिले फेसबुकमा सरकारको निर्णय लेख्ने कामलाई निरन्तरता दिनु भनेको हेपाहा प्रवृत्ति हो । केपी, प्रचण्ड र शेरबहादुर देउवा विरुद्धको असन्तुष्टि भनेकै कार्यालय समय र कार्यालयभित्रै सरकारका निर्णय हुनुपर्छ भन्ने हो । सरकार बनाउँदा वा फाल्दा बदनाम व्यक्तिको बैठककोठा रोज्ने पुराना नेताको प्रवृत्ति विरुद्ध नयाँपुस्ताको विद्रोहकै कारण वालेन्द्र सरकारको मुखिया बन्न सफल भएको सत्य बिर्सन हुँदैन ।
राज्य सञ्चालकको कुर्सीमा गरिएको ठट्टाले पुस्तौँ हान्छ । चाहे त्यो सत्कर्म होस् या कुकर्म । वालेन्द्रकै उमेर, दुई तिहाइ संसदको बडाहाकिम बनेर बीपी सत्ताको ककपिटमा बसेकै हुन् । राजा, आफ्नै साथीभाइको चक्रव्यूह र राज्य सञ्चालनको भाँती नपुर्याउँदा उनी सरकार चलाएको १७ महिनामै अपदस्थ भए । उनको भिजनले कहाँ हावा खायो ? पत्तै भएन । सत्ता गुमेपछि मनोसंवाद यसरी गर्छन्– ‘मेरो इच्छा हुन्छ कि नेपालका सबैलाई कोट पाइयोस् । यो आदर्शको कुरा हो, तर म आज सक्छु गर्नलाई ? यहाँ एकलाख गज मात्र बन्दछ भने के म सक्छु ? दुई बिनाको टुक्रा मात्र सकिएला । त्यसो हुनाले आदर्शको कुरा गरेर आजै म सबैलाई कोट दिन्छु भनेँ भने त्यो पूरा हुन सक्दैन, तर त्यो कोट दिलाउने प्रयत्न आजैदेखि हुनुपर्दछ । यो व्यवहारिक पक्षको कुरा हो । दिलाउन सक्दिनँ भनेर प्रयत्नै नगरेर बस्ने र आफू मात्रै १० ओटा कोट लगाएर बस्ने होइन । त्यसो हुनाले, मलाई यहाँ धेरैले उपदेश दिएका छन्– तिमी धेरै आदर्शवादी भयौ भनेर व्यवहारिक हुनुपर्यो भनेका छन् । मतलब सबैलाई कोट दिन सकिँदैन भने सारा कोट गुटुमुटु पारेर आफूसँग राख । सबैलाई पैसाले पुग्दैन भने आफू महल बनाएर बस, त्यसलाई व्यवहारिक भन्छन् । म त्यसलाई व्यवहारिक भन्दिन । म भन्छु आजैदेखि थालौँ आफ्ना आदर्शहरूलाई पूरा गर्ने प्रयत्न । मेरो विचारमा त्यो हो व्यावहारिक राजनीति ।’
नायक र नेताको उत्थान–पतनको प्रस्थान विन्दु समान हुन्छ । एउटा नायक चरित्र समयमै व्यवस्थापन नहुँदा कति असहाय निरीह प्राणी बन्नसक्छ भन्ने उदाहरण हेर्न बलिउडका सुविख्यात सुपरस्टार राजेश खन्नाको जीवनलिला काफी छ ।
बलिउड कलाकार राजेश खन्ना एक लाख प्रतिस्पर्धीबाट छानिए । पाँच दशकअघि उनले बाँचेको त्यो युग देख्नेहरू अहिले मिथकजस्तो मान्छन् । बलिउडका बादशाह सलमान खानका पिता सलिम खानलाई आफ्नो छोराको स्टारडमप्रति कतिको गर्व लाग्छ ? भनेर सोध्दा उनले भनेछन्– ‘छोड्दिनुस् म राजेश खन्नाको चकचकी देखेको मानिसका अगाडि सलमानले कमाएको ख्यातिका विषयमा कुनै टिप्पणी गर्न चाहन्न ।’ त्यसो भए राजेश खन्नाले कस्तो स्टारडम पाए ? केही उदाहरण यस्ता छन् ।
– त्यो समयमा भारतका सैलुनहरूमा ‘राजेश खन्ना कट’ कपाल प्रख्यात थियो । सामान्य कपाल काट्दा पचास पैसा तिर्नुपर्थ्यो भने खन्ना कटको रेट ३ रुपियाँ ५० पैसा थियो ।
– राजेश खन्नालाई ज्वरो आएको समाचार बाहिर आयो भने प्रशंसकहरू उनको फोटो हातमा लिएर पानी छम्कदै पङ्खा हम्कन्थे ।
– उनी सुटिङमा जाँदा पार्किङमा राखिएको सेतो कार फर्कँदा पुरै रातो भएको हुन्थ्यो । राजेश खन्नाले पाउने माया त्यो भाग्यमानी कारले यसरी पाउँथ्यो कि ठिटीहरूले लगाएको लिपिस्टिकको डामले गाडीको रङ्ग परिवर्तन हुन्थ्यो ।
– एकपटक उनी पायल्सले सताइए । उपचारपछि आरामका लागि रिसोर्टमा बसे । राजेश रिसोर्ट पुग्नुअघि नै बाँकी कोठाहरू पुरै बुक भइसकेका थिए । बुक गर्ने अरु कोही नभएर सिनेमाका निर्माता, निर्देशक थिए । जो स्क्रिप्ट र सम्झौता पत्र बोकेर चाकरीमा हाजिर थिए ।
– राजेश खन्नाको सिनेमा हेर्न फिल्म हल जानु र डेटिङमा जानु महिला दर्शकका लागि एउटै मनोभाव थियो । पुरुष प्रशंसक हिरोले कुटाई खाएको दृश्य आएमा हल नै जलाएर या तोडफोड गरेर चरम आशक्तिको परिचय दिन्थे ।
– समकालीन अभिनेत्रीहरूलाई राजेश खन्नासँग सिनेमा खेल्न पाउनु भनेको अनमोल ‘गिफ्ट’ हुन्थ्यो ।
मान्छे शिखरमा पुगेपछि जोगिनुपर्ने खराब संगतबाट हो । जब मानिसको कुर्कुचाले जमिन बिर्सन्छ, त्यसपछि उसको ओरालो यात्रा कसैले रोक्न सक्दैन ।
अभिनेता र नेताको आयु उस्तै हो । युग बोकेका यी नायकले केही वर्षअघि गुमनाम मृत्यु अँगाले । जीवनको उत्तराद्र्धमा एक्लो जीवन बाँचे । पत्नी र प्रेमिका त जोडे तर धर्मपत्नी जुरेनन् । उनले बाँचेको जीवन फगत सिनेमाको कहानी बन्यो । त्यो स्टारडममा ग्रहण लाग्नुको मूल कारण थियो– खराब व्यक्तिको सङ्गत । मान्छे शिखरमा पुगेपछि जोगिनुपर्ने खराब संगतबाट हो । जब मानिसको कुर्कुचाले जमिन बिर्सन्छ, त्यसपछि उसको ओरालो यात्रा कसैले रोक्न सक्दैन । कसैको अनुपस्थितिमा राम्रो प्रशंसा हुनु नै उसको जीवनको कमाइ हो । यहूदी भएको अभियोगमा जर्मनीबाट आइन्स्टाइन खेदिएपछि त्यहाँका विद्वानहरूले भनेका थिए– ‘जर्मनी आज युद्धमा हारेको छ ।’
वर्तमान विश्व राजनीतिमा लोकतन्त्रका नाममा निरङ्कुशताको महाअभियानमा अघि बढेको छ । देशभन्दा व्यक्तिको महत्वकांक्षा अग्रभागमा देखिएको छ । विश्वका सर्वशक्तिमान् देश अमेरिका, चीन, रुस, भारत मात्र हैन, नेपाल, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तानजस्ता साना मुलुक व्यक्तिको छायाँमा परेका छन् । डोनाल्ड ट्रम्प, सी चीनफिङ, भ्लादिमिर पुटिन र नरेन्द्र मोदी मेनियाको ग्रहणले भविष्य कता लाने हो, ठेगान छैन । नेपालमा वालेन्द्रको उपस्थितिले त्यही मेलो समातेको भान हुन्छ । ‘म नै राज्य हुँ’ भन्ने लुइस १६औँका अवतारहरू विश्व राजनीतिमा सलह बनेर उदाएका छन् । अहिले जस्तै विवेक कम, दम्भ बढीको आयतन बढ्दै गयो भने थुप्रै राजनीतिक नेताहरू अभिनेता राजेश खन्नाको गन्तव्यमा पुग्ने निश्चित छ ।
असल मानिस जुनसुकै नेतृत्वमा पुगे पनि त्यसले छोड्ने प्रभाव प्रेरणादायी हुन्छ । उखुजस्तै जति टुक्र्याए पनि स्वाद हराउँदैन ।
असल मानिस जुनसुकै नेतृत्वमा पुगे पनि त्यसले छोड्ने प्रभाव प्रेरणादायी हुन्छ । उखुजस्तै जति टुक्र्याए पनि स्वाद हराउँदैन । आफ्ना तीन सन्तानलाई मुलुकको कार्यकारी प्रधानमन्त्री पदको हैसियतमा पुर्याउने संस्कार दिने कृष्णप्रसाद कोइराला राणाको लखेटाइमा परेपछि भारतको टेढीस्थित दिपनगरमा बस्थे । प्रवासमा रहँदारहँदै बाथ र फोक्सोको रोगबाट उनी थलिए । प्रवासबाटै उनले आफू बिरामी भएको उल्लेख गरेर चन्द्रशमशेरलाई पत्र लेखे । चन्द्रशमशेरले प्रत्युत्तरमा कृष्णप्रसादको उपचारका निम्ति सेवन विधि समेत उल्लेख गरी रसादि औषधि पार्सल गरी पठाए । जसले आफूलाई बेघरबार बनायो, उसले पठाएको ओखती खाने, नखाने भन्ने विषयमा घरपरिवारमा बहस भयो । परिवारका सदस्यले त्यो ओखतीमा विष मिसाएको हुन सक्ने भन्दै नखान जोडबल गरे । तर कृष्णप्रसाद कोइरालाले आफ्नो दृढ निर्णय सुनाउँदै भने– ‘मेरो प्रतिरोधीले यस्तो सदाशयता मेरो स्वास्थ्यमा चाख राखी पठाएको ओखतीमा मैले अविश्वास वा शङ्का गरेँ भने उसको जित, मेरो हार हुन्छ । अतः म मरे पनि हार्न चाहन्न । उनले विधिपूर्वक रसादि सेवन गरे ।’ आश्चर्य केही दिनमै उनको बिग्रेको स्वास्थ्यमा चामत्कारिक परिवर्तन आयो । राजनीतिक असहमति र मानवीय आचरण फरक हुन् भन्ने यहाँबाट प्रष्ट हुन्छ । राजनीति सफल बनाउन पनि प्रतिपक्षी बचाउनुपर्छ भन्ने यो घटनाले स्पष्ट गर्छ ।
शास्त्र भन्छ– ‘क्रोधले बुद्धि, अहङ्कारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान, पापले मनुष्यता र अकर्मण्यताले भविष्य सिध्याउँछ ।’
अब राणाकै पेरिफेरिमा भएको अर्को घटना स्मरण गरौँ । विक्रम संवत १९८६ साल मङ्सिरमा प्रधानमन्त्री चन्द्रशमशेर सिकिस्त बिरामी भए । उनलाई सिंहदरबारको दक्षिण मूलढोका अगाडिको चौरमा पाल टाँगेर सुताइयो । हजुरिया जर्नेलको आज्ञाअनुसार १७ भाइ राणाजीहरू ग्वारग्वार्ती चन्द्रशमशेरको स्वास्थ्य बुझ्न पसे । महाराज चन्द्रशमशेरले सबैतर्फ एक नजर घुमाए । ‘ठूलाकान्छा’ भनेर सम्बोधन गर्दै कमाण्डर ईन चिफ भीमशमशेरलाई आफू नजिक बोलाएर भने– ‘म तिमीलाई हरबखत गाली गरिरहन्थेँ । यो राजकाजको कुरा हो । त्यसको ख्याल नगर्नू, मेरो सिरानीमुनि एउटा कागज छ, त्यो हेरेर तिमीले राजकाज चलाउनू । यसमा सबै मानिसका बारेमा को कस्ता छन् र ककसलाई के गर्नुपर्छ भनेर पनि लेखेको छु । अब तिमी आफ्नो घर टङ्गाल जाऊ । मैले बोलाएँ भने पनि तिमी नआउनू । आफ्नो बन्दोबस्त गर्नू ।
गुट, झुट, लुटको प्रभुत्व चिनीमा गुलियो टाँसिदाझैँ अटल सत्य बनेका छन् । आज गरिएको राम्रो कामको परिणाम भोलि सगुन लिएर उदाउने हो । शास्त्र भन्छ– ‘क्रोधले बुद्धि, अहङ्कारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान, पापले मनुष्यता र अकर्मण्यताले भविष्य सिध्याउँछ ।’












प्रतिक्रिया