काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एकाएक सक्रिय भएका छन्। वालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय नगरेको गुनासोबीच रविले सक्रियता बढाएका हुन्।
आइबार एकसाथ उनले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका जनप्रतिनिधिहरूसँग टेलिफोन संवाद गरेका छन्। उनले उक्त संवादमा संघीय सरकारले समन्वय नगरेको अवस्थामा आफूले कुरा गरेर वातावरण बनाउने बताए ।
उनले आइतबार गरेको उक्त संवादका क्रममा स्थानीय सरकारका प्रमुखहरूले संघीय सरकारले राहत तथा उद्धारमा समन्वय नगरेको, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखले नटेरेको जस्ता गुनासो राखेका थिए ।
स्थानीय तहका प्रमुखसँगको संवादपछि रविले आइतबार दिउँसो बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई बनस्थलीस्थित कार्यालयमै बोलाएर संवाद गरेका छन्।
लामिछानेले पार्टी कार्यालय बनस्थलीमा बोलाएर भएको भेटमा बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तीन तहका सरकारबीच समन्वयको विषयमा छलफल भएको छ।
भेटमा मुख्यमन्त्री थापाले विपद्को समयमा संघ, प्रदेश र स्थानीय सरकारबीच अपेक्षित समन्वय हुन नसकेको बताए। समन्वय अभावका कारण प्रदेश सरकारले आफ्नै पहलमा उद्धार तथा राहतका काम अघि बढाइरहेको उनको भनाइ थियो।
थापाले प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दासमेत प्रदेश सरकारले त्यसबारे पूर्वजानकारी नपाएकोमा दुःख व्यक्त गरे। विपद्को समयमा संघ, प्रदेश र स्थानीय तहले कसले कुन जिम्मेवारी सम्हाल्ने भन्ने स्पष्ट रूपमा छुट्याउन आवश्यक रहेको उनले बताए।
उनले प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन कठिनाइ भइरहेको जानकारी दिए। विभिन्न स्थानबाट पठाइएको राहत नुवाकोटको बट्टार क्षेत्रमा जम्मा भए पनि त्यसभन्दा माथिका प्रभावित क्षेत्रमा पुर्याउन असहज भएको थापाले बताए।
मुख्यमन्त्री थापाले जलवायु परिवर्तनको असर दीर्घकालीन हुने देखिएकाले नदी तथा खोला किनारमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारबीच समन्वय गराउने महत्वपूर्ण भूमिका प्रदेश सरकारले खेल्नुपर्ने बताए।
‘यस्तो विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्छ,’ लामिछानेले भने।
उनले अहिले सबै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने विषयमा आफूहरू सचेत रहेको बताए। विपद्को समयमा राजनीतिक तथा प्रशासनिक विभाजनभन्दा उद्धार र राहतलाई प्राथमिकतामा राखेर संयुक्त रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन आफूले समन्वय गर्ने प्रतिबद्धता पनि जनाए।
भेटमा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्रीको पहुँच, तीन तहका सरकारबीचको जिम्मेवारी र समन्वय तथा आगामी दिनमा बाढीपहिरोको जोखिम न्यूनीकरणका उपायबारे छलफल भएको थियो।












प्रतिक्रिया