एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका लागि निशस्त्रीकरणको प्रयासलाई तीव्र बनाउन तथा वार्तामा फर्कन आणविक हतियार भएका राष्ट्रहरूलाई आह्वान गरेका छन् ।
आणविक हतियारको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले आणविक निशस्त्रीकरण कुनै राजनीतिक विकल्प नभई अन्तर्राष्ट्रिय सन्धिअन्तर्गतको कानुनी दायित्व भएको बताए।
आणविक हतियार भएका राष्ट्रहरूले हतियारको प्रयोग रोक्ने तथा नयाँ आणविक हतियारको दौड नियन्त्रण गर्ने प्रयासका लागि वार्तामा फर्कनुपर्नेमा उनले जोड दिए। दशकौँदेखि स्थापित हतियार नियन्त्रणको प्रक्रियालाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
गुटेरेसले संयुक्त राज्य अमेरिका र रूसलाई म्याद सकिएको नयाँ रणनीतिक हतियार कटौती सन्धिको उत्तराधिकारी व्यवस्था निर्माणका लागि वार्ता गर्न आग्रह गरे। साथै, सबै आणविक हतियार भएका राष्ट्रहरूले आफ्ना सुरक्षा नीतिमा आणविक हतियारको भूमिकालाई क्रमशः घटाउनुपर्ने बताए।
आणविक हतियारको विस्तार र आधुनिकीकरण भइरहेको तथा आणविक प्रतिरोधको बहस चर्किंदै गएको उल्लेख गर्दै उनले प्रविधिको विकासले गलत निर्णय र गलत आकलनको जोखिमसमेत बढाएको बताए।
आणविक जोखिम नियन्त्रण गर्न दशकौँदेखि निर्माण गरिएका सुरक्षा संयन्त्रहरू अहिले कमजोर हुँदै गएको भन्दै उनले यसतर्फ तत्काल ध्यान दिनुपर्नेमा जोड दिए।
‘हामीलाई खतरा थाहा छ र परिणाम पनि थाहा छ। मार्ग परिवर्तन गर्न हामीले सबै कुरा गर्नुपर्छ। संवादले खतरालाई, हतियार नियन्त्रणले हतियार दौडलाई र ठोस कदमले निष्क्रियतालाई प्रतिस्थापन गर्नुपर्छ,’ गुटेरेसले भने।
मानवजाति आठ दशकभन्दा बढी समयदेखि आणविक हतियारको छायामा बाँचिरहेको उल्लेख गर्दै उनले भावी पुस्तालाई त्यस्तो अवस्थाबाट मुक्त गर्न आणविक हतियारमुक्त भविष्य निर्माणको बाटो रोज्नुपर्ने बताए।














प्रतिक्रिया