काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका गगन थापाले आफूले पाएको जिम्मेवारी अनुसार कांग्रेसको १५ औं महाधिवेशन गर्न लागेका छन् । यही १८ गतेदेखि २२ गतेसम्म काठमाडौँमा हुने १५औं महाधिवेशनको तयारी तीव्र भइरहेको छ। पन्ध्रौँ महाधिवेशनमा नेताहरू थापाको विकल्प खोज्ने पक्षमा छैनन्।
चौधौँ महाधिवेशनका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले २०८२ पुसमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र कांग्रेस जागरणको अभियान चलाउँदै विशेष महाधिवेशन सम्पन्न गरेका थिए । त्यसबेला केही नेताहरुलाई साथमा लिएर महाधिवेशन गरेका नेताहरुसँग अहिले पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेता डा। शेखर कोइराला पक्षका नेतासँगै थुप्रै कांग्रेसीहरु जोडिएका छन् ।
विशेष महाधिवेशनमा देउवा पक्षमै रहेका तर नियमित महाधिवेशनमा थापा समूहमा जोडिएका नेताहरू पनि गगनको विकल्प खोज्ने पक्षमा नउभिएको देखिन्छ। कांग्रेसको १५ महाधिवेशन आउन अब करिब चार दिन बाँकी छ। चार दिनको समयमा अहिलेसम्म सभापतिमा कसैले पनि दाबी गरेको छैन।
उपसभापति महामन्त्री र अरु पदमा भने नेताहरूको दाबी आउने क्रम जारी छ । १५ औं महाधिवेशनमा सभापति कसलाई देख्न चाहनुहुन्छ भनेर प्रश्न गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षमा रहेर लामो समय काम गरेका र अहिले गगन थापाको पन्ध्रौं महाधिवेशनमा सहभागी भएका मीन विश्वकर्मा अहिलेसम्म गगन थापा बाहेक अरुले सभापतिमा दाबी नगरेको स्पष्ट पार्छन् ।
‘अहिलेसम्म सभापतिमा दाबी गर्ने नेताहरू देखिनुभएको छैन। अहिलेका सभापति नै सभापतिको दावेदार देखिनुभएको छ। यद्यपि महाधिवेशन आउन अझै चार दिन बाँकी रहेकाले अहिले नै यसै भन्न सकिने अवस्था छैन ।’ विश्वकर्माले भने, ‘हामीले १५औं महाधिवेशनका गतिविधिलाई अगाडि बढाइरहेका छौं। आजसम्ममा क्षेत्रीय अधिवेशनको रिजल्ट आइसक्ने अवस्था छ। त्यसपछि त हामी महाधिवेशनमा होमियौं भन्दा हुन्छ ।’

अर्की नेत्री महालक्ष्मी उपाध्याय डिना पनि गगन थापाको विकल्पमा अरु नेता आउन नचाहेको बताउँछिन् । ‘नेतृत्वको विषयमा कन्फर्म जस्तै छ । अरु पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुने अवस्था हुन्छ। किनभने नेतृत्वमा चाहिँ उहाँ बाहेक अरुले अहिलेको तल्लो वर्गको भावनालाई बुझ्न सक्दैन भन्ने कुराको महसुस भएको छ।’ उपाध्यायले भनिन– ‘अरु नेता असक्षम भन्ने होइन तर उहाँलाई पाखा लगाएर अरु नेताले नेतृत्व गर्दा कांग्रेसको उचाइ पुग्न सक्दैन भन्ने विश्लेषण चाहिँ सबैबाट आइरहेको छ ।’
थापाको नेतृत्वमा उपसभापति विश्व प्रकाश शर्मा अर्की उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरु घिमिरे लगायतका नेताहरु पनि १५औं महाधिवेशनमा गगन थापाका निर्विकल्प सभापति बन्ने बताउँछन्। ‘अहिले बेला चाहिँ भएको छैन तर सभापतिमा दाबी गर्ने मेरो विचारमा नेताहरु अरु हुनुहुन्न । निर्वाचनको प्रक्रिया होस् या सर्वसमित रूपले नै किन नहोस् गगन थापा नै अबको सभापति बन्ने सम्भावना छ।’ कांग्रेस महामन्त्री प्रदिप पौडेलले भने– ‘निर्विकल्प रुपमा नै गगन दाइलाई धेरै नेताहरूले हेर्नुभएको छ। यद्यपि अहिलेलाई हामी क्षेत्रीय अधिवेशनमै व्यस्त छौँ। अझै पनि समय बाँकी छ तर कुरा के हो भन्दाखेरि निर्वाचनको प्रक्रियामा भाग लिन र लोकतान्त्रिक पद्धति अपनाउन सबैलाई छुट दिइन्छ ।’
यही प्रश्न हामीले कांग्रेस पूर्व उपसभापति धनराज गुरुङलाई सोधेका थियौँ। उनले पनि कांग्रेसको नेतृत्वमा उठ्ने विषयमा आफू तयार भएको जानकारी गराएनन् । धनराज शेखर निकट नेता मानिन्छन् । तर १५औं महाधिवेशन नजिकिँदा उनी गगन थापालाई सहयोग गर्न जुटेका छन् । उनी पनि पदाधिकारीको दावेदार भने देखिन्छन् । तर सभापतिको दावेदार हो भन्ने प्रश्नमा भने थापा नै अबको सभापति बन्ने संकेत सुनाए ।
उसो त कांग्रेस उपसभापति पुष्पा भुसाल पनि निर्विकल्प अबको कांग्रेस सभापति गगन थापा रहेको बताउँछिन्। वर्तमान अवस्थालाई नजिकबाट नियालेको , युवाको भावना समेट्ने र राजनीतिक परिस्थितिलाई गहिरो ढंगले विश्लेषण गर्दै अगाडि बढ्ने नेताको रुपमा थापा रहेकाले उनको विकल्प तत्काल कांग्रेसमा नदेखिने बताइन्। काङ्ग्रेसलाई पुस्तान्तरण रूपान्तरण र परिस्कृत बनाउन थापाको महत्त्वपूर्ण भूमिका रहेकाले उनलाई ओझेलमा पार्न नहुने उनको बुझाई छ ।’
‘निकै लामो समयसँगर्ष मेहनत र अथा युवाको साथका कारण अबको सभापतिको विषयमा विकल्प छैन। अबको सभापति गगन थापा नै हो। पाकाको अनुभव र युवाको साथसँगै सबैसँग हातेमालो गरेर अगाडि बढ्ने नेतृत्व नै गगन थापा हो।’ भुसालले अगाडि भनिन, ‘विशेष महाधिवेशनले पनि उहाँलाई सर्वसम्मत रुपमा नेतृत्व सुम्पिएको थियो। नियमित महाधिवेशनमा लोकतान्त्रिक प्रक्रिया अपनाउन चाहने नेताहरुलाई पनि छुट हुन्छ। तर सभापतिमा अहिलेसम्म कसैले दाबी नगरेको कारण उहाँ नै अबको सभापति बन्ने पक्कापक्की जस्तै छ।’
कांग्रेस महामन्त्री गुरु घिमिरे पनि अबको सभापतिमा कन्फ्युजन नरहेको बताउँछन् । ‘सभापतिको विषयमा कन्फ्युजन छैन निर्विकल्प रुपमा गगन थापा नै आउनुहुन्छ। विशेष महाधिवेशनबाट पनि उहाँलाई त्यही खालको तल्लो तहबाट साथ सपोर्ट भएका कारण सभापति बनाइएको हो। नियमित महाधिवेशनबाट पनि सभापतिको विषयमा विकल्प देखिँदैन।’ घिमिरेले भने– ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनको प्रक्रियामा जान चाहने साथीहरूलाई छुट छ। तर सभापतिको विषयमा धेरै साथीहरू निर्वाचनमा जान चाहनुहुन्न ।’
अरुमा हुन्छ प्रतिस्पर्धा
सभापतिमा गगनको विकल्प खोज्न नचाहे पनि उपसभापति र महामन्त्रीमा धेरै नेताहरुले इच्छा जाहेर गरेको देखिन्छ । उपसभापति र महामन्त्रीका लागि नेताहरूले आआफ्नो ढंगले तयारी गरिरहेको बुझिन्छ। धेरै नेताहरुले त उम्मेदवार सार्वजनिक रुपमै भन्न थालेका छन् । उपसभापतिका लागि पुष्पा भुसालले दाबी गरेको देखिन्छ।

उपसभापतिकै लागि धनराज गुरुङ र विश्व प्रकाश शर्मा पनि आकांक्षी छन्। प्रारम्भिक चरण रहेकाले अझ धेरै व्यक्तिहरू उपसभापतिको दावेदारमा देखिने अवस्था छ।
महामन्त्रीका लागि अहिलेका महामन्त्री गुरु घिमिरे र प्रदीप पौडेल पनि अगाडि देखिन्छन् । उनीहरूसँगै मीन विश्वकर्मा लगायतका नेताहरू पनि महामन्त्रीको दाबीमा देखिन्छन्। सहममन्त्री पदमा पनि थुप्रै नेताहरूले दाबी गरेको देखिन्छ।
सभापति बाहेक अरु पदमा निर्वाचन हुने अवस्था देखिन्छ केन्द्रीय सदस्य र अरु पदमा थुप्रै आकांक्षीहरू अहिले नै देखिएकाले निर्वाचन हुने सम्भावना रहेको उपसभापति भुसाल बताउँछिन् । महामन्त्री प्रदीप पौडेल पनि कांग्रेसको लोकतान्त्रिक प्रक्रिया सबैभन्दा दरिलो पद्धति रहेकाले त्यसमा भाग लिन विधानले टेकेका व्यक्तिलाई छुट दिने बताउँछन्।
यसपटक वडास्तरबाटै प्रतिनिधि भएर आउनुपर्ने विधानको व्यवस्थाका कारण थुप्रै नेताहरूले अहिलेसम्म निर्वाचनको प्रक्रिया क्षेत्रीय अधिवेशनको सम्पन्न भइनसकेकाले उम्मेदवारी घोषणा गरिसकेको देखिँदैन।
सबै तहमा ३० वर्षमुनिका जेनजी उमेर समुहका व्यक्तिहरू पनि प्रतिनिधि भएर आउने छ्न । कांग्रेसको विधानमा केन्द्रीय समितिमा २१ जना युवा रहने बाध्यकारी व्यवस्था छ । करिब ७ हजार महाधिवेशन प्रतिनिधि उपस्थित हुँदा ४९५ जना प्रतिनिधि भने युवा उपस्थित हुनेछन् ।
१६५ प्रतिनिधि सभा क्षेत्र रहेकाले यहाँबाट ५ हजार ४ सय ४५ जना महाधिवेशन प्रतिनिधि हुन्छन् । ३३० प्रदेश सभा क्षेत्रीय सभापति र ७५३ पालिका सभापति पनि प्रदेश सदस्य रहने व्यवस्थाअनुरूप ७ हजार महाधिवेशन प्रतिनिधि पुग्ने छन्। जसमा ३७ देशको जनसम्पर्क समितिबाट पनि प्रतिनिधि आउनेछन्।
कांग्रेसका भातृ संगठन लगायतका क्षेत्रबाट पनि प्रतिनिधि आउने भएकाले २०७८ मा गरेको काङ्ग्रेसको १४औं महाधिवेशनभन्दा करिब २३, २४ सय बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने उपसभापति भुसाल बताउँछिन्।
काठमाडौँको खुला मञ्चमा १८ गते उद्घाटन १९ र २० गते बन्दशत्र २१ र २२ गते निर्वाचन हुने कार्यतालिका छ देखिन्छ । कांग्रेस विधानमा २३१ जनाको केन्द्रीय कार्यसमिति बन्नेछ। २०७८ को महाधिवेशनमा १६८ जनाको केन्द्रीय कार्यसमिति थियो।
महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री चुन्ने छ । केन्द्रीय सदस्य निर्वाचित भएको अवस्थामा कोषाध्यक्ष र तीन सहममन्त्री भने पार्टी सभापतिले चुन्न पाउने व्यवस्था दिएको छ ।
संस्थापन समूह चुनावी अभियानमा लागिरहँदा देउवासम्मले समानान्तर गतिविधि अगाडि बढाइरहेको छ । उनीहरुले छुट्टै महाधिवेशन गर्ने तयारी गरेका छन्। पुष्प महाधिवेशनलाई देउबा पक्षले सहमति नदिएर मुद्दा अदालतसम्म पुगेको छ। अदालतले मुद्दालाई अझै किनारा लगाइसकेको अवस्था छैन ।
तर कांग्रेस भने १५औं महाधिवेशनमा गइरहेको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतले काङ्ग्रेस गगन थापालाई चारतारे झण्डा र रुखचिनाप चिन्ह दिए पनि त्यसमा देउबा पक्षको दाबी रहँदै आएको छ। यता पार्टीका पूर्व कार्यभाग सभापति पूर्णबहादुर खड्का र शेखर कोइराला भने कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडानमा देखिन्छन् तर उनीहरुले आआफ्नो नेताहरु भने दुवैतर्फ व्यवस्थापन गरेको देखिन्छ ।
निर्वाचन अगाडि कांग्रेस एकताको सम्भावना टुटिसकेकाले निर्वाचन पछाडि छलफल गर्ने तयारी भएको बताइन्छ। कांग्रेस सभापति गगन थापाले नै निर्वाचन अगाडि संवाद र सहमतिको सम्भावना सकिएको जानकारी नेताहरुलाई गराएको महामन्त्री घिमिरे बताउँछन्। तर उद्घाटनमा भने सम्मानपूर्वक पूर्व सभापति सहित शीर्ष नेतालाई निमन्त्रणा गर्ने तयारी कांग्रेसले गरेको छ।














प्रतिक्रिया