इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो जाँदा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा सहित १० जना आरोही सम्पर्कविहीन छन्। पाकिस्तानको अल्पाइन क्लबले बिहीबार राति उक्त जानकारी दिएको हो।
अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आरोहण गरिरहेको टोली हिमपहिरोमा परेको हो। टोलीको नेतृत्व नेपालका विश्वचर्चित आरोही निर्मल पुर्जाले गरिरहेका थिए। घटनापछि पुर्जा नेतृत्वको टोलीसँग कुनै सम्पर्क हुन नसकेको क्लबले जनाएको छ।
क्लबका अनुसार टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र अर्का एक विदेशी गरी १० जना छन्। ‘हिमपहिरोपछि सम्पूर्ण टोलीसँग सम्पर्क विच्छेद भएको छ,’ एसीपीले विज्ञप्तिमा उल्लेख गरेको छ।
‘सुरक्षित आरोहण र अवतरण मात्र चाहन्छु’
निर्मल पुर्जाले तीन दिनअघि सामाजिक सञ्जाल एक्समा आफू अक्सिजनको प्रयोग नगरी सबै १४ वटा ‘सुपर पिक’ दोस्रो पटक आरोहण गर्ने पहिलो व्यक्ति बन्ने कीर्तिमाननजिक पुगेको उल्लेख गरेका थिए।
उनले लेखेका थिए, ‘ब्रोड पिक, म तिमीसँग सुरक्षित रूपमा माथि पुगेर फेरि तल फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ।’
उनले कुनै पनि हिमाललाई आफूले हल्का रुपमा नलिने पनि बताएका थिए। ‘म कुनै पनि हिमाललाई हल्का रूपमा लिँदिनँ। आधार शिविरबाट पाइला चाल्नेबित्तिकै म शतप्रतिशत समर्पित हुन्छु। सधैं त्यस्तै गरेको छु र सधैं त्यस्तै गर्नेछु’, उनले भनेका थिए ।
उनले आफ्नो अभियान व्यक्तिगत उपलब्धिका लागि नभई मानिसहरूलाई आफ्ना लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने प्रेरणा दिनका लागि भएको बताएका थिए ।
४३ वर्षीय निर्मल पुर्जाले पूर्णकालीन पर्वतारोही बन्नुअघि बेलायतको ब्रिगेड अफ गोर्खाज र त्यसपछि रोयल मरीनको स्पेसल बोट स्क्वाड्रनमा सेवा गरेका थिए। पर्वतारोहणमा प्रवेश गरेपछि उनले अनेक विश्व कीर्तिमान कायम गरेका छन्।
सन् २०१९ को अप्रिलदेखि अक्टोबरसम्म उनले ६ महिना ६ दिनमै विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालको सफल आरोहण गरेर त्यतिबेलाको विश्व कीर्तिमान बनाएका थिए।
त्यसैगरी, सन् २०२१ मा उनले नौ अन्य नेपाली आरोहीसँग मिलेर विश्वकै दोस्रो अग्लो हिमाल केटुको पहिलो सफल शीतकालीन आरोहण पनि गरेका थिए।
उद्धार अभियान जारी
ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो। पाकिस्तानको उत्तरी काराकोरम हिमशृङ्खलामा रहेको यो हिमाल ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सबैभन्दा कठिन र प्राविधिक आरोहणमध्ये एक मानिन्छ।
यस हिमालको पहिलो सफल आरोहण सन् १९५७ मा अस्ट्रियाली टोलीले गरेको थियो। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उद्धार कार्यका लागि पाकिस्तान सेनाका दुई हेलिकोप्टर परिचालन गरिएको छ। ती हेलिकोप्टरमा उद्धारकर्मी तथा विशेष उपकरण पठाइएको छ।
क्लबले उच्च हिमाली क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउन हवाई तथा स्थलमार्फत खोजी अभियान जारी रहेको जनाएको छ।












प्रतिक्रिया