पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति « Khabarhub

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु भएको छ । यस अवधिमा ३५८ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता भएका छन् ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार २०७४ साउनदेखि गत असारसम्म विपद्का घटनामा परी ९७ जनाको मृत्यु भएको थियो । गत महिना आएको बाढीपहिरो र अविरल वर्षाका कारण थप पाँच जनाको ज्यान गएको उनले जानकारी दिए ।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा, बाढी र पहिरोले जिल्लामा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार सडक, सिँचाइ, तटबन्ध, खानेपानी, कृषि तथा पशुपन्छी क्षेत्रमा गरी ३७ करोड ७५ लाख ३६ हजार ६९२ रुपैयाँ बराबरको क्षति भएको प्रजिअ पाण्डेले बताए।

प्राकृतिक विपद्का कारण कृषि बालीमा मात्रै करिब एक करोड ५० लाख रुपैयाँ र पशुपन्छी तथा मत्स्य क्षेत्रमा ४५ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार बगनासकाली गाउँपालिकामा सबैभन्दा बढी २७ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, तानसेन नगरपालिकामा १० लाख ८५ हजार र माथागढी गाउँपालिकामा सात लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढीपहिरोले १२९ घर तथा संरचनामा क्षति पुर्‍याएको छ भने ७० वटा खानेपानी आयोजनामा असर परेको छ । खानेपानी संरचनाको मर्मतका लागि दुई करोड ४० लाख रुपैयाँ आवश्यक पर्ने खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ ।

त्यस्तै, १४ वटा सिँचाइ आयोजनाको पुनर्निर्माणका लागि तीन करोड ९५ लाख रुपैयाँ र माडीफाँटमा तटबन्ध निर्माणका लागि आठ करोड ८६ लाख रुपैयाँभन्दा बढी आवश्यक पर्ने देखिएको छ ।

सडक पुनर्निर्माणमा करोडौँको भार

बाढीपहिरोले सङ्घीय तथा प्रादेशिक सडक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ । डिभिजन सडक कार्यालय पाल्पाअन्तर्गतका छवटा सडक आयोजनाको मर्मतका लागि १६ करोड ८३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सिद्धार्थ राजमार्ग, बर्तुङ–तानसेन–रिडी सडक, रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक, मदनभण्डारी राजमार्ग र कालीगण्डकी करिडोरका विभिन्न खण्डमा पहिरो खस्ने, सडक भासिने र कटान हुने समस्या देखिएको छ ।

भिमाद–रामपुर–मित्याल–अरुणखोला सडकको केलादीघाटस्थित पुलमा समेत क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ ।

त्यसैगरी, प्रादेशिक सडकअन्तर्गतका आठवटा सडक मर्मत तथा पुनःसञ्चालनका लागि तीन करोड ७५ लाख रुपैयाँ आवश्यक पर्ने सडक पूर्वाधार कार्यालयले जनाएको छ । तानसेन–रानीमहल, हुमिन–सिमल्दी–पूर्वखोला र रामपुर–कपुरकोटलगायतका सडकमा पहिरो, कटान तथा सडक भासिने समस्या देखिएको छ ।

सम्भावित विपद् रोक्न प्रशासनको सतर्कता

आगामी दिनमा हुन सक्ने बेमौसमी वर्षा र त्यसबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । साथै, सम्बन्धित सरकारी निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

सङ्घीय सांसद, जिल्ला समन्वय समिति, राजनीतिक दल, जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष र सरकारी कार्यालयका प्रमुखहरूको बैठकले विपद्बाट हुन सक्ने थप क्षति न्यूनीकरणका लागि सबै पक्षलाई जिम्मेवार भएर कार्यक्षेत्रमा खटिन र आवश्यक सावधानी अपनाउन निर्णय गरेको छ ।

विपद्का कारण जनधनको क्षतिसँगै जिल्लाको पूर्वाधार पुनर्निर्माणमा समेत ठूलो आर्थिक भार थपिएको प्रजिअ पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ६ : ११ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको