काठमाडौं– नेपाली कांग्रेसले स्टार्टअप सम्मेलन सुरु गरेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर धितो राखेर कर्जा पाउने कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।
आजका आर्थिक समाचार :
कांग्रेसको स्टार्टअप र साना तथा मझौला सम्मेलन सुरु
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा ‘नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन’ सुरु भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी पी स्मृति भवन, बी पी नगर, ललितपुरमा हुने यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धन समेत हुने विश्वास लिएर कार्यक्रम सन्चालना गरिएको आयोजकले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगद्वारा अनुदान लिन प्रस्ताव माग
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२-८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ ।
प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेस गरिसक्न भनेको हो ।
उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता : देउवा
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्ने समेत बताए ।
पोखराको व्यापार मेलामा ‘घुमौँ मधेस, बुझौँ मधेस’ विशेष आकर्षण
कास्कीको पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आईटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई स्थानीयले बिर्सेका छैनन् ।
यही माघ १० गतेदेखि पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा थारू र भोजपुरी नृत्यप्रति स्थानीयको विशेष आकर्षण थियो भने महोत्सव किनमेलको गन्तव्य पनि बनेको थियो ।
नेपालमा लगानी : स्टार्टअपका लागि लगानीको सहज वातावरण र एकद्वार प्रणाली आवश्यक
नेपालका उद्योगी–व्यवसायीहरूले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रवर्द्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरू हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सेसनमा बोल्ने वक्ताहरूले सरकारले लगानीका लागि भइरहेका कानुनी जटिलता हटाउनुपर्ने बताएका हुन् ।
सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ ।
स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार–४ दाल्फुमा निकालेर खेतबारी सिञ्चित गर्ने गरी ‘च्यास्मीटार सोलार वाटर लिफ्टिङ आयोजना’को काम अघि बढाइएको हो ।
१०२ कम्पनीले मात्र शेयर धितोमा राखेर कर्जा पाउने
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर धितो राखेर कर्जा पाउने कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको हो ।
नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका १०२ वटा कम्पनीले मात्र शेयर धितो कार्जाको सुविधा पाउने जनाएको छ ।
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १४०० सय रुपैयाँले बढेको हो ।
आज एक तोला छापावाल सुनको मूल्य एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य मंगलबार एक लाख ५९ हजार २०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार एक हजार ८३५ रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज २० रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया