तीन महिनाको एक लाख ९२ हजार भत्ता बुझे, बंगुर काटेर भोज खाइनसक्दै गाउँ छाडे | Khabarhub Khabarhub

हायु परिवारको कथा

तीन महिनाको एक लाख ९२ हजार भत्ता बुझे, बंगुर काटेर भोज खाइनसक्दै गाउँ छाडे


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


25.2k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गोलन्जोर गाउँपालिका-६ बिखर कटेरी डेड्पाबाट हराएका १६ जनाको नाम सार्वजनिक गरेको छ ।

५२ वर्षीया उर्मिला हायुसहित एकै परिवारका १६ जनाको नाम प्रहरीले सोमबार अपरान्ह सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेको सूचीमा उर्मिलासहित उनका छोराछोरी र नातिनातिनासमेत छन् ।

सरकारले हायुलाई लोपोन्मुख जातिमा सूचीकृत गरेको छ। उर्मिला हायुको परिवारले साउन ६ मा मात्रै उक्त सामाजिक सुरक्षा भत्ता खुर्कोटस्थित हिमालयन बैंकबाट झिकेका थिए ।

लोपोन्मुख जातिमा सूचीकृत हायुका परिवारले प्रतिमहिना सरकारबाट जनही ४ हजारका दरले भत्ता दिने गरेको थियो ।

सरकारले सामाजिक सुरक्षा भत्ता हरेक तीनतीन महिनामा बैंकबाट दिने व्यवस्था गरेको छ। उनीहरूले साउन ६ गते खुर्कोट पुगेर तीन महिनाको जनही १२ हजारका दरले भत्ता बुझेको खुलेको छ । उनीहरू १६ जनाले नै जनही १२ हजारका दरले जम्ममा १९२ हजार रुपैयाँ भत्ता साउन ६ मा बैंकबाट बुझेका थिए ।

त्यसपछि उनीहरूले साउन ९ गते वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको जानकारी वडाध्यक्ष रविन श्रेष्ठले खबरहबलाई दिएका छन् ।

‘उनीहरू १६ जनाले नै जनही ४ हजारका दरले तीन महिनाको १ लाख ९२ हजार भत्ता बैंकबाट झिकेका हुन्’, उनले भने,‘बाहिर आए जस्तो ८ लाख रुपैयाँ होइन ।’

श्रेष्ठका अनुसार उर्मिलाको परिवारमा १८ जना सदस्य छन् । जसमध्ये एकजना छोरी काठमाडौं बस्छिन् भने एकजना बुहारी विदेशमा थिइन् । २९ वर्षीय जेठा छोरा राजु पनि केही दिनअघि विदेशबाटै आएका थिए ।

घरमुलीको केही वर्षअघि भीरबाट लडेर मृत्यु भएपछि परिवारको रेखदेखको जिम्मा उर्मिला हायुको काँधमा थियो । उर्मिलाका ६ भाइ छोरा, ६ बहिनी छोरी, एकजना बुहारी, एकजना ज्वाइँ, एक-एकजना नाति नातिनीसहित १६ जनाको परिवार थियो ।

यो हायु परिवार गाउँमा जंगलकोबीचमा अवस्थित अर्कैको घरमा बस्ने गरेको थियो । यो परिवारको घरबाट छिमेकीकहाँ पुग्न कम्तीमा पनि १५ मिनेट हिँड्नुपर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

तीन महिनाको भत्ता बुझेका यो परिवारले छोरो राजुसमेत विदेशबाट आएपछि बिहीबार घरमै बंगुर काटेका थिए । बंगुर काटेर भोज गरेका उनीहरूले बाँकी मासुसमेत त्यतिकै छाडेर हिँडेको खुलेको छ । उनीहरू बिहीबार राति या शुक्रबार बिहान घरबाट हिँडेको अनुमान प्रहरीले गरेको छ। घरका गाईवस्तु र कुकुरसमेत अलपत्र छाडेर गायब भएको यो ठूलो परिवारका कारण अहिले देश नै तरंगित भएको छ।

उनीहरूले खाना पकाउन घरसँगै जोडेर बनाएको छाप्रोमा आगो लागेको पाइएको छ। खाना पकाउन बनाएको छाप्रोमा आगो लाग्नेबाहेक अरू क्षति नदेखिएको श्रेष्ठले बताए ।

सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए। हायु परिवारको घरमा प्रहरी र जनप्रतिनिधिको टोली पुग्दा घरसँगै जोडिएको भान्साका लागि बनाइएको छाप्रो आगोले जलेको अवस्थामा भेटिएको छ ।

‘गोलान्जोर गाउँपालिका वडा नम्बर ६ को छेत्पानजिक भण्डास बिप्पर कटेरीमा बसोबास गर्ने उर्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्कविहीन भएको छ’, श्रेष्ठले भने, ‘घरसँगैको भान्सामा आगो लागेर हल्का क्षति भएको छ। बाख्रा, कुखुरा, भैँसी अलपत्र अवस्थामा छन् । सम्पूर्ण परिवार हराएकाले खोजीकार्य जारी छ ।’

श्रेष्ठका अनुसार यो परिवार सहकारी र व्यक्तिगत ऋणको पनि तनावमा थियो । ऋण तिर्नुपर्ने तनावले रातारात गाउँ छाडेको हुन सक्ने अनुमान पनि उनले गरेका छन् । ऋण उठाउन वित्ती संस्था, सहकारी र गाउँकै व्यक्ति आइरहन्थे ।

उनीहरूले घर छाड्नुअघि पनि ऋण उठाउन एउटा टोली पुगेको थियो। आर्थिक संकटमा परेको यो परिवारले ऋणबाट जोगिने उपायस्वरुप गाउँ छाडेको हुन सक्ने आशंका पनि छिमेकीले गरेका छन् । उनीहरूले भैंसीसमेत बेवारिसे छाडेर हिँडेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६ बिखर कटेरी डेड्पाबाट हराएका हायु समुदायका एकै परिवारका १६ जना सदस्य यी रहेका छन् । प्रहरीले उर्मिला हायुसहित १६ जना बेपत्ताको सूची सार्वजनिक गरेको छ ।

१) ५२ वर्षीया उर्मिला हायु ( घरमुली आमा)

२) २७ वर्षीया कमला हायु (जेठी छोरी)

३) २३ वर्षीया कोमल माया हायु (माइली बुहारी)

४) २२ वर्षीया उषा हायु (छोरी)

५) १९ वर्षीया सुजता हायु (छोरी)

६) १८ वर्षीया अस्मिता हायु (छोरी)

७) १२ वर्षीया सान्ता हायु (छोरी)

८) २९ वर्षीय राजु हायु (जेठा छोरा)

९) २४ वर्षीय हिमाल हायु (माइला छोरा)

१०) १६ वर्षीय लालबहादुर हायु (साइँला छोरा)

११) १४ वर्षीय बेगबहादुर हायु (छोरा)

१२) ११ वर्षीय लक्की हायु (छोरा)

१३) १२ वर्षीय सुवर्ण हायु (छोरा)

१४) १० वर्षीया ओमकुमारी हायु (छोरी)

१५) १ वर्षीय अर्जुन हायु (नाति)

१६) ४ वर्षीय रियासा हायु (नातिनी)

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ७ : ३३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु