काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री सुधन गुरुङले ऋण महल खाली राखेका थिए । त्यसबेला सार्वजनिक विवरणमा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी रहेको पाइएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्द्वारा सार्वजजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार गुरूङको नाममा धनकुटामा मात्रै १९ रोपनी १५ आना जग्गा भेटिएको थियो ।
यो जग्गा उनले विभिन्न समयको लगानीबाट आर्जन गरेको जानकारी दिएका थिए । उनले आफ्ना बाबु-बाजेकै अंकबन्डा नभएको पुर्ख्यौली सम्पत्ति प्रशस्त रहेको पनि बताएका थिए ।
गृहमन्त्रीको पैतृक सम्पत्तितर्फ पनि ठूलो परिमाणमा जग्गा देखिएको थियो । पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर महानगरपालिका–१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा रहेको उनले खुलाएका थिए ।
त्यस्तै, बाजे रामसल गुरूङ तथा परिवारको नाममा रहेको र अहिलेसम्म अंशबन्डा नभएको गोरखाको चुमनुब्रीस्थित २ सय २१ रोपनी जग्गा रहेको विवरणमा खुलाइएको थियो ।
जिन्सी सम्पत्तितर्फ गृहमन्त्री गुरुङसँग ८९ तोला सुन थियो । यसका साथै उनीसँग ६ किलो चाँदीसमेत रहेको स्वघोषणा गरेका थिए ।
तर उनै गृहमन्त्री गुरुङले दीपक भट्टसँग साझेदार भएर लाखौँको शेयर लिएको कुरा भने लुकाएका थिए । उनले भट्टसँग मिलेर लिएका कम्पनीका शेयर नदेखाएको पाइएपछि नयाँमा पनि पुरानै रोग भनेर विरोध भइरहेको छ।
हाल अनुसन्धानमा रहेका भट्टसँग साझेदार रहेर कारोबार गरेको विवरण सार्वजनिक भएपछि गुरुङले सोमबार फेसबुकबाट लामो स्पष्टीकरण दिए । जुन स्पष्टीकरण उनीमाथि छानबिन नै हुने किसिमले आएको छ।
अर्थात्, भट्टसमेत सञ्चालक रहेको कम्पनीको सेयर किन्न उनले २०८० सालमा ऋण लिएको बताएका छन् । तर उनैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् सार्वजनिक गरेको सम्पत्ति विवरणमा उक्त ऋणबारे कहीँ खुलाएका छैनन् ।
गुरुङले आफ्नो सम्पत्ति विवरणमा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा लघुवित्तको करिब २५ लाख रुपैयाँ बराबरको लगानी रहेको विवरण सम्पत्तिको सूचीमा राख्न नसकेको सोमबार जवाफ दिएका छन्।
उनले उक्त सेयर लुकाएको नभएर विवरण वर्गीकरणका कारण अर्को पर्न गएको दाबी पनि गरेका छन् । गुरुङले धितोपत्र बजारमा कारोबार हुने सेयर शीर्षकमा कुल २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको लगानी समेटेका छन् ।
गुरुङले लामो फेसबुक पोस्टमा उक्त सेयरको स्रोत ऋण रहेको दाबी गरेका छन् । उनले त्यसका लागि २०८० भदौ २९ गते लिखित तमसुक गरेर उक्त ऋण लिएको बताएका छन् । तर उक्त ऋणको विवरण सम्पत्तिमा खुलाइएको छैन।
प्रम कार्यालयले प्रकाशित गरेको सार्वजनिक सम्पत्ति विवरण फारामको ‘ऋण लिएको/दिएको/तिरेको विवरण’ खण्डलाई खाली राखेका उनले अहिले संकटमा परेपछि बचाउ कोसिस गरेका छन् । उक्त महल खाली राखेका गुरुङले अहिले आएर ऋणमार्फत् उक्त सेयर किनेको जवाफ दिएका छन् ।
नेपालको कानुनले सार्वजनिक पदमा जाने तल्लोदेखि माथिल्लो तहसम्मका सबैले प्रष्टसँग सम्पत्ति विवरण खुलाउनुपर्ने भनेको छ। तर गुरुङले प्रम कार्यालयमा बुझाएको विवरणमा ऋण महल खाली छाडिदिएका थिए । तर अहिले आएर दीपक भट्ट संलग्न कम्पनीको सेयर ऋणमा किनेको बताएका छन् ।
सार्वजनिक पदमा रहने कुनै पनि व्यक्तिले सम्पत्तिसँगै दायित्व (ऋण)समेत प्रष्टसँग खुलाउनुपर्ने कानुनी व्यवस्था छ । तर उनले सम्पत्ति विवरणमा सेयर किन्दा लिएको ऋण र उक्त सेयरसमेत खुलाएका छैनन् । यदि सेयर किन्दा ऋण लिएको भए चैत २९ गते सार्वजनिक विरणमै आउनुपर्ने थियो । तर उनले त्यसबेला ढाँटेको कुरा अहिले अनुसन्धानले खुलाएको हो ।













प्रतिक्रिया