शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल (फोटोफिचर) « Khabarhub

शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल (फोटोफिचर)


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ ।

गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भीड लागेको हो ।

शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ ।

बडादसैँका रुपमा समेत मनाइने यो नेपालीको राष्ट्रिय चाड हो । बडादसैँको पहिलो दिनदेखि नै घरघरमा घटस्थापना गरी नवदुर्गाको विशेष पूजा आराधना गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ११:४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि शान्ति गर्नुपर्ने शास्त्रीय विधि रहेको समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए । चित्रा नक्षत्रको स्वामी त्वष्टाअर्थात् विश्वकर्मा र वैधृति योगका स्वामी अदितिको पूजा अराधना गरेर दोष मुक्तिका लागि शान्ति गर्नुपर्छ ।

काठमाडौँ–८ मा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड लागेको छ । मन्दिर क्षेत्र सफाइ गरी विशेष पूजा आराधनाको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्रका अन्य शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ । दुर्गा पक्षका पनि सार्वजनिक बिदाका दिन पशुपति क्षेत्रका शक्तिपीठमा भक्तजनको बढी भीड लाग्ने गर्छ ।

काठमाडौँ उपत्यकाका कालिकास्थान, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी, इन्द्रायणी, चामुण्डादेवी, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराहीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ । पाथीभरा, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, इच्छाकामना देवी, मनकामना देवी, शैलेश्वरी, बागलुङ कालिकालगायत देवी मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।

नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकाङ्क्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भीड लाग्ने गर्छ ।

नक्साल भगवतीको स्वरुप बिगारिँदा सफाइमा समस्या

काठमाडौँ महानगरपालिका–१ मा रहेको नक्साल भगवती क्षेत्रको सफाइमा बुधबार बेलुकीदेखि नै स्थानीयवासी सक्रिय भएका थिए । मन्दिर परिसरमा घटस्थापना गरी आजदेखि नवदुर्गाको विधिवत् पूजा आराधना गर्ने तयारी भइरहेको छ ।

विसं २०६६ मा जीर्ण मन्दिर भत्काएर पुनःनिर्माण गर्ने क्रममा पहिलेको भन्दा स्वरुप बिगारिएकाले मन्दिरमाथि जम्मा भएको फोहर सफा गर्न अप्ठ्यारो भएको स्थानीयवासी अविल कपालीले बताए ।

पहिले मन्दिरभित्र दलिन राखेर गजुरसम्म पुगेर सफाइ गर्न सकिने संरचना रहेकामा विसं २०७० मा मन्दिर पुनःनिर्माण सम्पन्न हुँदा यो स्वरुप बिग्रिएको उहाँको गुनासो थियो ।

पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्व भएका संरचना पुरानै स्वरुपमा बनाउनुपर्ने कानूनी व्यवस्था भए पनि पुरातत्व विभागको हेलचे्रक्र्याइँले यस्तो भएको स्थानीयवासीको दुःखेसो छ ।

मन्दिर पुनःनिर्माणका बेला परिसरको ढुङ्गेधारासमेत साँघुरो बनाइएकाले पानीको दह जम्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र राजकर्णिकार बताउछन् ।

यसैगरी काठमाडौँ–३० मा रहेको मैतीदेवी मन्दिरमा सफाइसहित आजदेखि विशेष पूजाको तयारी गरिएको छ । मैतीदेवी मन्दिर क्षेत्रमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष दलबहादुर कार्की भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नवरात्रमा मन्दिर आउने भक्तजनलाई दर्शन एवं पूजा आराधनाको व्यवस्था मिलाइएको बताउछन् ।

तस्वीरहरू : रासस

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १० : ५५ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि