मनाङको बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा प्रचण्ड, पीडितलाई  उचित व्यवस्थापन गर्ने आश्वासन « Khabarhub

मनाङको बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा प्रचण्ड, पीडितलाई  उचित व्यवस्थापन गर्ने आश्वासन


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- मनसुन शुरु भएसँगै भारी वर्षा हुँदा देशका विभिन्न भागमा प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको छ ।

भूक्षय र नदी कटानका कारण तटीय क्षेत्रका बस्ती बग्दा कयौँ मानिस घरबारविहीन भएका छन् । यसपटक सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र हिमालपारिको जिल्ला मनाङमा भएको छ ।

बाढीपहिराका कारण भएका क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको प्राविधिक टोली शनिबार मनाङ पुगेको छ ।

मनाङको सबैभन्दा बढी प्रभावित क्षेत्र ङिस्याङ गापा–१ को पिसाङमा जेठ र असारको भारी वर्षासँगै बढेको खोला तथा नदीले ठूलो क्षति पुर्‍याएको छ ।

मर्स्याङ्दी नदीले स्थानीयवासीको बस्ती उजाड बनाएको छ भने कयौँ घर नदी कटानमा परेका छन् । मोटरबाटोको त के कुरा गोरेटोबाटो पनि बाँकी छैन । विद्युत् र टेलिफोन लाइन अवरुद्ध छन् ।

डिस्याङमा भएको क्षतिबारे जानकारी गराउँदै गाउँपालिका अध्यक्ष कान्छा घलेले भौतिक संरचनाका साथै बालीसमेत नष्ट भएको बताए । त्यहाँ पुगेको टोलीसँग उनले भने, “सदरमुकाम चामेसम्मको बाटो बगाएको छ र विद्युत्लगायत सञ्चारमा समेत समस्या छ ।” अध्यक्ष कान्छाले मन्त्री भुसाललाई ज्ञापनपत्र प्रदान गर्दै पुनःनिर्माण र तत्कालका लागि राहतको प्रबन्ध गरिदिन अनुरोध गरे ।

अध्यक्ष कान्छाको ज्ञापनपत्र बुझेपछि मन्त्री भुसालले मनाङ र सिन्धुपाल्चोकलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी गराउँदै क्षतिको पुनःनिर्माण र नियन्त्रणमा सरकारले विशेष ध्यान दिने बताइन् ।

उनले भनिन्, “भूक्षय र त्यसबाट हुने नदी कटान रोक्ने विषय चुनौतीपूर्ण छ, त्यसलाई हामीले सम्बोधन गर्नैपर्छ ।” मनाङमा भएको क्षतिप्रति सरकार संवेदनशील रहेको बताउँदै उनले दीर्घकालीन समाधानका लागि चाँडै सम्बोधन गर्ने बताउनुभयो ।

राज्य मनाङवासीको साथमा छ– अध्यक्ष प्रचण्ड

पिसाङपछि मनाङको सदरमुकाम चामे पुगेको टीलीले त्यहाँ भएको क्षतिको विवरण सङ्कलन गर्नुका साथै स्थलगत निरीक्षण गरेको छ । मर्स्याङ्दी नदी किनारका घरहरू कटानमा परेका छन् । त्यहाँ पुग्ने सडक विच्छेद भएको छ । विद्युत् र टेलिफोन सम्पर्क टुटेका छन् ।

चामे क्षेत्रमा बाढीले पुर्‍याएको क्षति अवलोकनपछि जिल्ला प्रशासन कार्यालयमा सो टोलीले स्थानीय जनप्रतिनिधिसँग जानकारी लिएको थियो । सो अवसरमा मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीबाट भएको क्षतिबारे जानकारी गराए ।

चार दिनसम्म भीषण बाढी आएको सुनाउँदै उनले भने, “यहाँका १०० वर्ष पुगेका ज्येष्ठ नागरिकको अनुभवमा हिमालपारि यस्तो बाढी आएको थाहा छैन ।”

उनका अनुसार यहाँका ७५ घर क्षति भएको छ । बिजुलीको मुख्य स्रोत पाँचवटा मिनीहाइड्रोमा क्षति पुगेको छ । सातवटा गाडी गुड्ने पक्की पुल र १३ वटा अन्य पुल पूर्णरूपमा क्षतिग्रस्त छन् । त्यसैगरी यहाँका जनताका पशुचौपाया पनि बाढीले बगाएको उनले जानकारी गराए  ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले खाद्यान्न मौज्दात गरेको भए पनि पर्याप्त नभएको र ढुवानीका लागि समस्या भएको बताए । उनले नदी कटान रोक्न मस्र्याङ्दी नदी किनारमा तटबन्ध बनाउन आवश्यक स्रोत उपलब्ध गराइदिन सरकारसँग आग्रह गरे ।

त्यसैगरी चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले गत जेठ १४ गतेदेखि शुरु भएको भारी वर्षापछिको बाढीले जनजीवनमा नराम्रो असर पारेको गुनासो गरे । उनले एक गाउँबाट अर्को गाउँमा जानका लागि काठेपुलसम्म नभएको अवस्थाबारे निरीक्षण टोलीलाई जानकारी गराए ।

विद्युत् बिच्छेद हुँदा नागरिकता तथा पासपोर्टको सिफारिससमेत आफूहरूले गर्न नसकेको अध्यक्ष लोकेन्द्रले बताए । विद्युत्सँग सञ्चारबिच्छेद हुँदा बैंकसमेत सञ्चालनमा आउन नसकेको उनले उल्लेख गरे ।

जनप्रतिनिधिका कुरा सुनेपछि अध्यक्ष प्रचण्डले मनाङमा बाढीपहिरोका कारण भएको क्षति हृदयविदारक भएको आफूले महसुस गरेको उल्लेख गर्दै भौगर्भिक अध्ययन आवश्यक रहेको बताए ।

उनले भने, “भूक्षय नियन्त्रण गर्न भौगर्भिक अध्ययनका लागि नयाँ शिराबाट सोच्नुपर्ने अवस्थाको सङ्केत गरेको छ ।” विपद्लाई टालुटुल गरेर मात्र नियन्त्रण नसकिने बताउँदै प्रचण्डले दीर्घकालीन ढङ्गबाट एकीकृत परियोजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

विश्वमा नै जलवायु परिवर्तनको मुद्दा जटिल बन्दै गएको उल्लेख गर्दै उनले भने, “जलवायु प्रभावित गर्ने काम धनी राष्ट्रका उद्योगधन्दामार्फत निस्कने रसायनका कारण साना देशमा मार पर्ने गरेको छ । यो नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो ।”

पूर्वप्रधानमन्त्री प्रचण्डले विश्व मञ्चहरूमा यस्ता विषयलाई अझ बढी उठाउनुपर्ने बताउँदै भने, “हिमाल पग्लने क्रम जुन गतिमा बढेको छ, त्यो कारणले यहाँ मात्र भएको होइन, विश्वव्यापी विकासको मोडेल नै नयाँ तवरले अपनाउनुपर्ने देखिएको छ ।”- रासस

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ४० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका