झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मलाई घर | Khabarhub Khabarhub

झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मलाई घर


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी–झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम शीर्षकमार्फत उनीहरूले घर पाएका हुन् । आर्थिक वर्ष २०७७÷०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको झापा क्षेत्र नं १ का सांसद राम कार्की (पार्थ)ले जानकारी दिए ।

जनता आवास कार्यक्रम र तराई मधेश समृद्धि कार्यक्रमले समेट्न नसकेका शहीद परिवार, राज्य व्यवस्था परिवर्तनका लागि योगदान दिएका, एकल महिला, वृद्धवृद्धा, विपन्न, आदिवासी–जनजातिलगायतलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको उनले बताए । यो कार्यक्रमअन्तर्गत मेचीनगर–११ का शहीद गणेश लम्सालकी धर्मपत्नी मैया आचार्य लम्साललाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । लम्सालले माओवादी जनयुद्धताका २०६१ फागुन २ गते मोरङको जाँतेमा जनमुक्ति सेना र तत्कालीन शाही सेनाबीच भएको दोहोरो भिडन्तमा सहादत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मुकुलचन्द्र राजवंशीले शहीदलाई विभिन्न कार्यक्रममा एक मिनेट मौन धारणमै सीमित गरिएको बताउँदै शहीद परिवारको घर बन्नु उदाहरणीय कार्य र शहीदप्रतिको सम्मान रहेको बताए । उनले व्यवस्था परिवर्तनका लागि सहादत प्राप्त गर्नेका परिवार र जिउँदा शहीदलाई हेर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सोही कार्यक्रमअन्तर्गत झापा विद्रोहका योद्धा मेचीनगर–१० का ७० वर्षीय सानो दुर्गा अधिकारीले नयाँ घर पाएकी छन् । भाडाको घरमा बस्दै आएकी उनको आफ्नै घरमा बस्ने सपना पूरा भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीसँगै विसं २०३० मा पक्राउ परेका अधिकारीले १७ वर्ष लामो कठोर जेल जीवन बिताएकी थिइन् । अध्यक्ष ओलीभन्दा तीन वर्ष बढी समय जेलनेल भोगर उनी विसं २०४६ मा जेलमुक्त भएकी थिइन् ।

प्रजातन्त्र प्राप्तिमा जीवनका उर्वर समय अर्पण गर्ने अधिकारीको आर्थिक अवस्था भने कमजोर छ । ‘बूढेसकालमै भए पनि घर पाएपछि बस्नलाई सजिलो भयो’, उनले भनिन्, ‘अब राज्यका तर्फबाट भरणपोषणको व्यवस्था भए अरु केही चाहिँदैनथ्यो ।’ लम्साल र अधिकारीसँगै मेचीनगर नगरपालिकाका २० र बुद्धशान्ति गाउँपालिकाका सात परिवारले घर पाएका छन् ।

मेचीनगर–१ का ख्याम तामाङ, २ की मिठुमाया रेग्मी, ३ का हरिभक्त अधिकारी, ४ का सहदेव माझी र भीमबहादुर खत्री, ५ का दलबहादुर बस्नेत, ६ का कृष्णप्रसाद खनाल, ७ की मैयादेवी गुरुङ, लीलाराम गौतम र लिदलबहादुर कुमाल, ९ का वेदप्रकाश राई, यादव चापागाईं र नवीन पौडेल, १२ का केशव दनुवार र प्रवास धिमाल, १३ का हरिमान थेवे, १४ की मिना बिर्जा र १५ नं वडाका कमल भण्डारीले घर पाएको सांसद कार्कीका स्वकीय सचिव शिबु बुढाथोकीले जानकारी दिए ।

मेचीनगरमा निर्माण भएका घरहरूको लागत प्रतिघर रु तीन लाख ४५ हजार र रु ७० हजार बराबरको श्रमदान गरी कूल रु चार लाख १५ रहेका बुढाथोकीले बताए । बुद्धशान्तिमा निर्माण गरिएका घरको लागत रु तीन लाख र रु ७० बराबरको श्रमदान रहेको छ । कार्यक्रमअन्तर्गत दुई कोठा र बरण्डा भएको घर निर्माणका लागि बजेट आए पनि अधिकांश लाभग्राहीले स्थानीयवासी र अन्य दाताको थप सहयोगबाट तीन कोठाको घर बनाएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १२ : १५ बजे

रेसुङ्गामा हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी

गुल्मी– रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य

‘सरकार ! अहिराजका गुन्डाबाट सुरक्षा पाऊँ’

काठमाडौं– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा हिरासतमा

कौसीमा ‘ड्रागन फ्रुट’ खेती : वार्षिक आठ लाख आम्दानी

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा

जेरुसलेम- युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै