दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा गत आर्थिक वर्षको मुद्रास्फीति ७.७४ प्रतिशत, राज्यको ढुकुटीमा विदेशी मुद्राको सञ्चिती २६.६ प्रतिशतले बढ्यो, कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने, विकासका काममा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह, ६० केजी सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ, जहाज चार्टर्ड गरेर बङ्गलादेशी पर्यटक नेपाल आए, कांग्रेस नेता भण्डारी डिस्चार्जलगायतका समाचारले प्रमुख स्थान पाए ।

 

गत आर्थिक वर्षको मुद्रास्फीति ७.७४ प्रतिशत

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत पुगेको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको जनाएको हो ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।

राज्यको ढुकुटीमा विदेशी मुद्राको सञ्चिती २६.६ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको जनाएको हो ।

वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको जनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई भदौ ४ गते दिनको १ बजे प्रदेशसभाबाट विश्वासको मत लिन सयम दिएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

विकासका काममा राजनीति नगर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । उनले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको बताए ।

प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत माग वृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको बताए । 

६० केजी सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

६० केजी सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गएराति काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरूको नाम खुलाएको छैन ।

मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढनुपर्ने बताएका छन् ।

संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उनले मुलुकी संहितालगायत अन्य कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताए ।

“देशमा सुशासन कायम गर्न कानूनको कार्यान्वयन जरुरी छ, कानूनको कार्यान्वयन सुशासनबाटै सम्भव छ”, प्रधानमन्त्री दाहालले भने, “संहितालगायत सबै कानून कार्यान्वयन गरेर मुलुकमा सुशासन कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्दछु ।”

जहाज चार्टर्ड गरेर नेपाल आए ७ सय बङ्गलादेशी पर्यटक

बङ्गलादेशबाट एकसाथ ७ सय पर्यटक नेपाल आएका छन् ।

उनीहरु जहाज चार्टर्ड गरेर शुक्रबार काठमाडौं आएका हुन् । नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डले पञ्चेबाजासहित स्वागत गरेको थियो । नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले व्यवस्थापन गरेको छ ।

सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटि मान्न सकिन्न : मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटि मान्न नसकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेँलो हात्तीको संज्ञा दिँदै सामान्य त्रुटि मान्न नसकिने बताएका हुन् ।

उक्त प्रकरणको एक छानबिन प्रतिवेदनमा साधारण हेलचेक्र्याईँले सुन तस्करी भएको खबर पढेको भन्दै उनले त्यति ठूलो पहेँलो हात्ती अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिनु सामान्य हुनै नसक्ने तर्क गरे । मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई नछाड्ने स्पष्ट पारे ।

कांग्रेस नेता भण्डारी डिस्चार्ज

नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए ।

“शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,” उनले भने, “विस्तारै विस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ ।” डा नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उनलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताए ।

कोशी प्रदेशसभामा दुई अध्यादेश पेस

कोशी प्रदेशसभामा विनियोजन र स्रोत व्यवस्थापन गर्ने अध्यादेश पेस गरिएको छ ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन र स्रोत व्यवस्थापनको लागि अध्यादेश ल्याएका थिए । सोही अध्यादेश प्रदेशसभामा पेस गरिएको हो ।

स्याउला काट्न रुख चढेकी महिलाको लडेर मृत्यु

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जङ्गलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जङ्गलमा खसी, बाख्रालाई स्याउला काट्न गएकी ३५ वर्षीया अनिता खड्का हाडे रुखमा चढेर स्याउला काट्न लाग्दा हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएकी थिइन् ।

माओवादी केन्द्रले थप्यो दुई जना केन्द्रीय सदस्य

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा थप दुई जनालाई मनोनित गरेको छ ।

माओवादी केन्द्रले ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो ।

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निर्क्यौल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन् ।

“महिलाको सहभागिता तथ्याङ्कमा मात्र सीमित गर्नुहुँदैन । कूल जनसङ्ख्यामा आधाभन्दा बढी रहेका महिलाको निर्वाचन प्रक्रियामा सहभागिता कम छ । नागरिकता प्राप्ति, मतदाता पत्र, मतदान सङ्ख्या, क्षमता विकासलगायतका विषयले महिलाको अर्थपूर्ण सहभागितालाई प्रभाव पार्दछ,” उनले भने ।

बाल यौन दुर्व्यवहार मुद्दामा प्रअलाई नौ महिना कैद

ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजाय तोकिएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।

दुई छात्रालाई यौन दुव्र्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित रु ५० हजार क्षतिपूर्ति र रु २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए ।

गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढे

काठमाडौं प्रहरीले गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत वर्षको साउनमा १ हजार ४७ अपराधका घटना भएकोमा यस वर्ष साउनमा १ हजार २ सय ७५ अपराधका घटना भएको जनाएको छ ।

देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको विकासका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

सुनको मूल्य स्थिर, चाँदीमा २० रुपैयाँ बढ्यो

नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोकै मूल्यमा कारोबार भइरहेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घेटर १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : ०० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर