दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा सिनामंगलमा भेटिएको वस्तु बम नभएको पुष्टि, एकजना पक्राउ, एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा नरहेको प्रधानमन्त्रीको भनाइ, सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता, नेपालका लागि जी-२० ‍का अर्थमन्त्री र गभर्नरको बैठक उपलब्धिमूलकलगायतका समाचारले प्रमुख स्थान पाए ।

सिनामंगलमा भेटिएको बस्तु बम नभएको पुष्टि, एकजना पक्राउ

काठमाडौँको सिनामंगलमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो ।

खोटाङ हलेसी ज्वेलर्स अगाडि देखिएको उक्त शंकास्पद बस्तु बम नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।

सञ्चारमन्त्री शर्मासँग इजरायली राजदूतको शिष्टाचार भेट

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच सूचना प्रविधि र कृषि क्षेत्रको विकास लगायतका विविध विषयमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालका लागि जी-२० ‍का अर्थमन्त्री र गभर्नरको बैठक उपलब्धिमूलक : अर्थमन्त्री
अर्थमन्त्री डा प्रकाशशरण महतले जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलब्धीमूलक रहेको बताएका छन् ।

भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुलुकको दिगो विकासमा अन्तराष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्यवृद्धिका जनमानसमा परेका समस्या र असरबाट मुक्त गर्ने तथा जलवायु लगायतका तमाम विषयमा नेपालका तर्फबाट धारणा राख्ने अवसर प्राप्त भएको बताएका हुन् ।

विद्यार्थी युनियनलाई बन्देज लगाउन सकिँदैन : मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनहरूलाई बन्देज लगाउन नसकिने बताएका छन्।

बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले विद्यार्थी युनियनलाई बन्देज लगाउन नसकिने तर आचारसंहितामा बाँध्न सकिने बताएका हुन् ।

बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेको बताएका छन् । उनले उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै बुधबार अधिवक्ता अनिल आचार्यसमेतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आइतबार इटाली भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको भ्रमणमा जाने भएका छन् ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम– २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल यही साउन ७ गते त्यसतर्फ जान लागेको हो ।

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने 

संघीय संसद्, संसदीय सुनुवाइ समितिले परराष्ट्र सेवाका छ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्युयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड) का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा निर्दोष नफस्ने र दोषी नछुट्ने गरि कारवाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने गरेको गुनासोलाई सम्बोधन गर्दै निर्दोष नफस्ने र दोषी नछुट्ने गरि केही ऐन र नियमावलीमा सुधार गर्ने बताएका हुन् ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू 

सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

अध्यागमन कार्यालयले कामदारहरूलाई रोकेको घटनाप्रति आयोगको ध्यानाकर्षण

वैदेशिक रोजगारीका लागि कुवेत र जोर्डन प्रस्थान गर्न लागेका कामदारहरूको प्रस्थान अनुमतिमा लगाइएको रोकप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गरेको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले १५६ जना कामदारहरूलाई रोकेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बञ्चरेडाँडामा फोहर फाल्न नदिने स्थानीयको अडान कायमै

यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् ।

यूएई ‘ए’ माथि नेपालको जित

एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ ।

बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले नेपाललाई दिएको १५८ रनको लक्ष्य नेपालले २३औं ओभरमा भेट्टाएको हो ।

सबै सरकारी निकायलाई ओएनएम सर्भे गर्न परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मङ्सिर मसान्तभित्रमा संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम सर्भे० सम्पन्न गरिसक्न सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई परिपत्र गरेको छ ।

असार २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गरेको हो ।

सेयर बजारमा बुधबार पनि ११.१७ अंकको वृद्धि

सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

विशेषगरी वाणिज्य बैंकहरूको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरू चलेकै थिएनन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : ०२ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १