टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जनाको संलग्नता « Khabarhub

टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जनाको संलग्नता


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेका पाइएको हो ।

एक खेलाडीसहित नेपाली चार र विदेशी ६ जना संलग्न रहेका प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । विदेशीमा व्यवस्थापकीय भूमिकामा रहेका चार, एक खेलाडी तथा अन्य एक व्यक्ति छन् ।

सीआईबीका अनुसार तीमध्ये दुई जनालाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्यको खोजी जारी छ । पक्राउ परेकामा सप्तरीको राजविराजका पूर्व क्रिकेट खेलाडी महबुल आलम र बाराको सिम्रौनगढका क्रिकेट खेलाडी मोहमद आदिल आलम छन् । आदिललाई सप्तरीबाट र महबुबलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । गत पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा उक्त प्रतियोगिता भएको थियो । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना तथा भारतको सेभेन थ्री स्पोर्टस् प्रालिको रणनीतिक तथा व्यवसायीक साझेदारीमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

मुख्यतः लिगको प्रतिस्पर्धामा आउने परिणामलाई प्रतिकूल हुने गरी बाजी जिताउने वा हराउने उद्देश्यले खेलको मिलेमतो गरेको पाइएकाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुबैलाई पाँच दिनको म्याद थप गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको आचार्यले जानकारी दिए ।

सीआईबीले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय खेलाडी महबुबले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको जानकारी दिइएको थियो । आदिललाई एउटा ‘नो बल’ र एउटा ‘वाइड बल’ फल्न भनिएको र उनले दुई खेलमा सोही प्रकृतिको खेल खेलेको पुष्टि भएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । अर्का नेपाली खेलाडीलाई त्यसैगरी स्पट फिक्सिङ गर्न लगाएको उनले बताए । पक्राउ नपरेकाले बाँकी आठ जनाको नाम खुलाइएको छैन । एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन समुहबाटै लोभ देखाएर फिक्सिङको प्रस्ताव गरेको भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

“एउटा टोलीका व्यवस्थापकको निर्देशनमा विदेशी खेलाडीले एक इनिङमा निर्धारित रन मात्रै बनाइ स्पट फिक्सिङ गरेको पाइएको छ । केही फ्रेन्चाइज टोलीको आर्थिक र खेलाडीको पारिश्रमिकको श्रोत पनि खुलेको छैन”, उनले भने । उक्त घटनाको अनुसन्धानका लागि सीआईबीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

समितिको अनुसन्धानपछि आज विवरण सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत यसरी मिलेमतो गरेको पाइएमा तीन वर्ष कैद र रु ५० हजार जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भए उक्त रकम पनि जफत हुने व्यवस्था छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : ३५ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा