अर्थसंक्षेप : ठेकेदारलाई ४० अर्ब भुक्तानीको चिन्ता, शेयर बजारमा सुधारको संकेत  | Khabarhub Khabarhub

अर्थसंक्षेप : ठेकेदारलाई ४० अर्ब भुक्तानीको चिन्ता, शेयर बजारमा सुधारको संकेत 


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता समीकरण परिवर्तनसँगै निर्माण व्यवसायी (ठेकेदार) हरूलाई राज्यबाट पाउनुपर्ने ४० अर्ब रुपैयाँ भुक्तानी रोकिने चिन्ता बढेको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.६ अंकले बढेको छ । नेपाल विद्युत् प्राधिकरणले गत असार १४ गतेदेखि विद्युत् वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टर सञ्चालनमा ल्याइसकेको छ । युरोपियन युनियन (ईयू) ले क्रिएसन नेपालले सञ्चालन गरिरहेको ग्रीन सिफ्ट परियोजनालाई १ करोड २० लाख बराबरको अनुदान सहयोग दिने भएको छ ।

त्यस्तै, आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ । विभिन्न माग राख्दै आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच तीन बुँदे सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको ए३२० जहाजको मर्मतको लागि इजरायल पठाएको र ए ३३० जहाजको थ्रीसी चेकको इटाली पठाएको विषयमा छानबिन गर्न समिति बनाएको छ ।  र, गत आर्थिक वर्षको तुलनामा नेपालको औद्योगिक क्षेत्रमा लगानीको वातावरणमा सुधार भएको देखिएको छ ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरु : 

सरकार परिवर्तन हुन लाग्दा डराए ठेकेदार, ४० अर्ब भुक्तानी नहुने चिन्ता

सत्ता समीकरण परिवर्तनसँगै निर्माण व्यवसायी (ठेकेदार) हरूलाई राज्यबाट पाउनुपर्ने ४० अर्ब रुपैयाँ भुक्तानी रोकिने चिन्ता बढेको छ । सरकारले हालसम्म निर्माण सम्पन्न भएका आयोजनाको ४० अर्ब रुपैयाँ भुक्तानी दिन नसकेको नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) ले दाबी गर्दै आएको छ । विगतदेखि नै सरकारका विभिन्न विकासे अड्डाहरुले निर्माणबापतको भुक्तानी नगरेको निर्माण व्यवसायीको गुनासो छ ।

तीन वटै तहका सरकारका सडक, सिँचाइ, खानेपानी, सहरी, भवन निर्माणलगायत निकायबाट गरिएको ठेक्का तथा निर्माणबापत भुक्तानी हुन नसकेको हो । निर्माणको काम सकेर भुक्तानीका लागि बिल पेश गरेका निर्माण व्यवसायीहरूले अहिलेसम्म भुक्तानी पाउन नसकेको बताएका हुन् ।

गत आर्थिक वर्ष २०८०÷०८१ सम्म र चालू आवमा निर्माणको थप दायित्व गरि सरकारले अझै ४० अर्ब रुपैयाँ भुक्तानी दिन नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले खबरहबलाई बताए । सरकारबाट क्रमशः भुक्तानी भइरहे पनि थप दायित्व सिर्जना भइरहेको उनको भनाइ छ ।

‘विगतको थप दायित्व समेत गरी सरकारले अझै ४० अर्ब रुपैयाँ भुक्तानी गर्न सकेको छैन,’ उनले भने, ‘पुरानो भुक्तानी पनि भइरहेको छ र क्रमशः नयाँ दायित्व पनि थपिएको छ ।’ उनका अनुसार, स्वास्थ्य क्षेत्रको मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी छ । सडक र सिँचाइ क्षेत्रको पनि बढी भुक्तानी बाँकी रहेको सिंह बताउँछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख बजेट

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न चार करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको बताएका छन्  ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण दिइने बताए । उनले ती प्रशिक्षणको तयारी गर्न चार करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए  । मन्त्री श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउन दुई करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख गरे । बाघचाल, डण्डिबियो र घोडचढीलगायत मौलिक एवं परम्परागत खेलकुद प्रतियोगिताको विकासका लागि ११ लाख बजेट विनियोजन गरिएको उनले संसद्मार्फत जानकारी दिए ।

१५.४६ अंकले बढ्यो नेप्से, झन्डै साढे छ अर्बको कारोबार

साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.४६ अंकले बढेको छ । १५.४६ अंकले नेप्से बढेसँगै कारोबार पनि साढे छ अर्ब नजिक अर्थात् ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको भएर बजारको पुँजीकरण पनि ०.७३ प्रतिशतले बढ्यो ।

आजको कारोबारमा १४८ वटा कम्पनीको मूल्य वृद्धि भयो भने ९३ वटा कम्पनीको मूल्य भने घट्यो । त्यस्तै ६ वटा कम्पनीको शेयर मूल्य भने यथावत् रहेको छ । बिहीबार नेप्सेमा २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर कारोबार भयो जसमा आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । त्यस्तै, आज भएको कारोबारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्राधिकरणको डेढ अर्बको डाटा सेन्टर अन्य सरकारी निकायलाई पनि उपयोगी

नेपाल विद्युत् प्राधिकरणले गत असार १४ गतेदेखि विद्युत् वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टर सञ्चालनमा ल्याइसकेको छ । प्राधिकरणले काठमाडौंको स्युचाटारस्थित भार प्रेसर केन्द्र रहेकै क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न अन्र्तराष्ट्रिय डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

प्राधिकरणले पहिलो पटक ल्याएको यो डिजिटल प्रविधिको मूख्य उद्धेश्य प्राधिकरणको संस्थागत क्रियाकलापलाई एकीकृत रुपमा डिजिटलमार्फत व्यवस्थित गर्ने र डाटाको सुरक्षा गर्नु भएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका थुप्रै डाटाहरु हुन्छन् । मूख्यगरी, बिलिङ, स्मार्ट मिटर, पेमेन्ट, अनलाइन भुक्तानी, प्राधिकरणका वित्तीय तथा आर्थिकसम्वन्धि तथ्यांकहरु, विद्युत् उत्पादन, वितरण र खपतका विभिन्न तथ्यांकहरु सुरक्षित रुपमा सर्भरमा राख्नुपर्ने हुन्छ ।

आम ग्राहकले कति बिजुली खपत गरे, कति बिल तिरे, कुन माध्यमबाट रकम भुक्तानी गरे लगायत रेकर्डहरू समेत राख्न सकिने अत्याधुनिक सर्भर प्रणाली प्राधिकरणले सञ्चालनमा ल्याएको हो । प्राधिकरणका अधिकांश काम डाटावेस्ड हुन्छन् ।

अहिलेसम्म त्यस्ता डाटा सुरक्षित गर्ने व्यवस्थित ‘ब्याकअप’ व्यवस्था थिएन । प्राधिकरणले आफ्नो ‘डिजिटल एनईए’ अवधारणा अनुसार नै अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो । प्राधिकरणले यसलाई संस्थागत मेमोरीको रुपमा परिभाषित गरेको छ ।

प्राधिकरणको कुनै पनि कर्मचारी नियमअनुसार सवा १० बजेसम्म कार्यालय पुगिसक्नुपर्छ । त्यसपछि, कर्मचारीले कार्यालय पुगेर प्रयोग गर्ने कम्प्युटर वा ल्यापटपमा आफ्नो अनुहार देखाएपछि मात्र हाजिर हुने र उपस्थिति भएको मान्य हुने खालको प्रणाली डाटार सेन्टरबाटै गर्न सकिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन् ।

ईयूको सहयोगमा ग्रीन सिफ्ट परियोजनालाई १ करोड २० लाख अनुदान 

युरोपियन युनियन (ईयू) ले क्रिएसन नेपालले सञ्चालन गरिरहेको ग्रीन सिफ्ट परियोजनालाई १ करोड २० लाख बराबरको अनुदान सहयोग दिने भएको छ । क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान सहयोग ईयूले दिने भएको हो ।

यूरोपिएन यूनियन (ईयू) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई उक्त अनुदान हस्तान्तरण गरिने परियोजनाका प्रमुख युनिस घिमिरले बताए ।

बागमती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा ६ प्लास्टिकजन्य फोहोरमैला उद्यम गरिरहेका निजी संस्थालाई मूल्याकंनका आधारमा उक्त अनुदान प्रदान गरिने उनले बताए । छनौट भएका उद्यमलाई २० लाखका दरले अनुदान प्रदान गरिनेछ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ । यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ६ सयमामा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला ४० रुपैयाँले बढेर १८६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

क्रसर व्यवसायी र सरकारबीच तीन बुँदे सहमति, उद्योगको नवीकरण हुने

विभिन्न माग राख्दै आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच तीन बुँदे सहमति भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको वार्ताका क्रममा नवीकरण छुट भएका उद्योग नवीकरणको लागि आवश्यक व्यवस्था गर्ने लगायतका तीन बुँदे सहमति सहमति भएको हो ।

सहमति पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव डा नारायणप्रसाद रेग्मी र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका तर्फबाट अध्यक्ष सिताराम न्यौपानेले हस्ताक्षर गरेका थिए ।

सहमतिपत्रमा  निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक पारित गराउन समन्वयकारी भूमिका निर्वाह गर्ने र पारित भएपछि क्रसर उद्योगको नवीकरण सम्बन्धी विद्यमान समस्या सम्बोधन हुने र निर्माणमुखी सामग्री उत्खनन, व्यवस्थापन, उपयोग र नियमनमा समेत सहजता हुने भएकोले उक्त विधेयक छिटो पारित गर्न गराउन आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

जहाजको इन्जिन मर्मत प्रकरणमा छानबिन समिति बन्यो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको ए३२० जहाजको मर्मतको लागि इजरायल पठाएको र ए ३३० जहाजको थ्रीसी चेकको इटाली पठाएको विषयमा छानबिन गर्न समिति बनाएको छ ।

मन्त्रालयले असार १८ गते मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।

छानबिनका लागि समितिले निगमलाई पत्र काटेर दुवै जहाजको इन्जिन मर्मत सम्भार गर्न पठाएको सम्बन्धित कागजात माग गरेको छ । समितिले मन्त्रीस्तरीय निर्णयअनुसार आवश्यक छानबिन गरेर १५ दिनभित्र पेश गर्नुपर्नेछ ।

लगानीको वातावरणमा सुधार :  ११ महिनामा औद्योगिक क्षेत्रमा २ खर्ब लगानीको प्रस्ताव

गत आर्थिक वर्षको तुलनामा नेपालको औद्योगिक क्षेत्रमा लगानीको वातावरणमा सुधार भएको देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको औद्योगिक क्षेत्रमा झण्डै सबा २ खर्ब लगानी प्रस्ताव भएको छ । उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म नेपालको औद्योगिक क्षेत्रमा २ खर्ब १७ अर्ब बराबरको नयाँ लगानी प्रस्ताव भएको हो ।

समीक्षा अवधिसम्म ३८३ वटा नयाँ उद्योग नेपालमा दर्ता भएका छन् । जसमध्ये ४९ वटा ठूलो उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग रहेका छन् । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दर्ता भएका उद्योगहरूले २६ हजार २७ जनालाई नयाँ रोजगारी दिने प्रस्ताव गरेका छन् ।

११ महिनाको अवधिमा ३५५ वटा विदेशी लगानी स्वीकृत भएको र ती उद्योगहरूको ४४.३४ अर्ब लगानी समेत स्वीकृत भएको विभागले जनाएको छ । विदेशी लगानी स्वीकृत भएका उद्योगहरूले १७ हजार ६४२ जनालाई रोजगार दिने प्रस्ताव गरेका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिको तुलनामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालको औद्योगिक क्षेत्रको लगानी वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न ३२२ वटा स्वदेशी तथा विदेशी उद्योगहरुको लागि २ खर्ब १४ अर्ब मात्रै लगानी प्रस्ताव आएको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : १९ बजे

राप्तीमा बेपत्ता दुईजनाको शव भेटियो

दाङ– राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव भेटिएको छ

नारायणी नदीको बाढीले झोलुङ्गे पुल बगायो

चितवन– नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल

पहिरोले प्रहरी चौकीमा क्षति

बागलुङ– पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको

 विपत्तिमा परेका नागरिकको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको

युरो कपका आकर्षण

आयोजक जर्मनी घरेलु भूमिमा जारी युरो कप २०२४ को क्वाटरफाइनलमा