पुजार सार्की : आर्यन, प्रदीप र पलमध्ये मुख्य नायक को? | Khabarhub Khabarhub

पुजार सार्की : आर्यन, प्रदीप र पलमध्ये मुख्य नायक को?

निर्देशक राउत भन्छन्– ‘फर्की फर्की’ सँग ‘पूजार सार्की’ जुध्दैन


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘प्रकाश’ जस्ता सुपरहिट फिल्म बनाउने निर्देशक हुन्– दिनेश राउत । सिने क्षेत्रमा राम्रा फिल्म पस्कने निर्देशकका रुपमा उनको छवि बनेको छ ।

उनै निर्देशकले ‘मल्टिस्टारर’ फिल्म ‘पुजार सार्की’ निर्माणको घोषणा गरेका छन् । चल्तीका नायक आर्यन सिग्देल र प्रदीप खड्कासँगै विवादमा मुछिएका पल शाहसमेत अनुबन्ध भएपछि यो फिल्मको चर्चा चुलिँदो छ । माघ १० गतेबाट फिल्मको छायांकन सुरु हुँदैछ ।

अनमोल केसी अभिनित ‘फर्की फर्की’ सँग यो फिल्म जुधाउने हल्लाले पनि थप चर्चा बटुलेको छ । यस हल्लाको चुरो कुरो निर्देशक राउतले खबरहबसँग खुलासा गरेका छन् ।

लगातार चारवटा फिल्ममा नायिका नम्रता श्रेष्ठलाई लिएका राउतले किन पछिल्लो समय सहकार्य छुट्यो ? त्यसको जवाफ पनि हामीले मागेका छौं ।

आर्यन–नम्रताको जोडीमा फिल्म बनाउने राउत दया–मिरुनातर्फ ढल्केका आरोपको बारेमा पनि उनले स्पष्टीकरण दिएका छन् ।

प्रस्तुत छ– निर्देशक राउतसँग ‘पुजार सार्की’ ल्याएको चर्चा, यस फिल्मको बजेट, र उनका पछिल्ला विवादबारे केन्द्रित भएर गरेको कुराकानी –

अहिले चर्चामा रहेको फिल्म ‘पुजार सार्की’बाटै कुरा सुरु गरौं । यो कस्तो फिल्म हो ?

फिल्म चाहिँ सामाजिक विषय बोकेको फिल्म नै हो । टाइटबाट दर्शकले यो जातीय विभेदको नै कथा हो भनेर बुझ्न सक्नुहुन्छ ।

पुजार सार्कीमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्ध हुनुभएको छ । कसको मुख्य भूमिका छ ?

तीनवटै नायकको भूमिका प्रोटागोनिस (हिरो) नै छ । तीनै जनाले उठाउने मुद्दा पनि एकै किसिमको हो । तर, सबैको आ–आफ्नै यात्रा छ । एउटै मुद्दालाई लिएर सबै हिरोको आफ्नो संघर्ष छ ।

‘मल्टीस्टारर’ फिल्म भएकाले हिरो को हो भन्ने कुरा चर्चाको विषय छ । फिल्ममा ‘स्क्रिन टाइम’ कसको बढी छ ?

‘स्क्रिन टाइम’ सबैको बराबर त पक्कै छैन । तीनैजनाको भूमिका चाहिँ उत्तिकै महत्वपूर्ण छ । १९–२० को कुरा गर्ने हो भने प्रदीपको ‘स्क्रिन टाइम’ बढी छ होला ।

सिनेमा उद्योगमा महँगो नायकहरु लिएर फिल्म बनाउँदै हुनुहुन्छ । बजेट चाहिँ कति हो ?

बजेटको विषयमा हामीले आन्तरिक हिसाब चाहिँ गरेका छौं । नेपालमा बनिरहेका मल्टिस्टारर फिल्मभन्दा अत्याधिक बढी बजेट चाहिँ छैन । तीन करोडको हाराहारीमा पुग्छ ।

दर्शकले फिल्ममा तीनै हिरोलाई एउटै फ्रेममा देख्न पाउँछन् ?

पाउँछौं । एउटा फ्रेममै देख्न पाउँछौं ।

तीन हिरोलाई एउटै फिल्ममा अनुबन्ध गर्न कत्तिको सहज रहेछ ? हाम्रो क्षेत्रमा अलि ‘इगो’ देखाउने प्रचलन बढी छ भन्ने चर्चा हुन्छ‍‍‍‍…

तीनै नायकहरुलाई मेरो काममा एक किसिमको विश्वास भइसकेको छ । मेरो चलचित्र राम्रो नै हुन्छ भन्ने विश्वासले पनि यो सम्भव भएको हो । मैले पलसँग मात्रै काम नगरेको हो । बाँकी दुई नायकसँग काम गरिसकेको छु । यो नायक छ भने म गर्दिनँ भनेर चाहिँ तीन जनाले भन्नुभएन । मलाई राम्रो लागेको पक्ष नै त्यही हो । त्यो कलाकार रहेछ रोल तलमाथि के छ भन्ने कुरा नै भएन ।

मेकरहरु चाहन्छन् भने कलाकारहरुमा ‘इगो’को समस्या छ जस्तो चाहिँ मलाई यो कामबाट महसुस भएन । तीनजना कलाकारले इगोको समस्या छ यस क्षेत्रमा भन्ने कुराको मलाई महसुस गर्न दिनुभएन । एउटा कलाकारले अर्कोलाई तान्न, उचाल्न, पछार्न खोज्छ भन्ने कुराचाहिँ मात्रै हल्ला हो जस्तो लाग्यो ।

‘पुजार सार्की’मा अनमोल केसीलाई चाहिँ अनुबन्ध गरौं जस्तो लागेन ?

मैले गरेको फिल्ममा उहाँ पनि अटाउने ठाउँ भएको भए त नलिने भन्ने कुरा नै हुँदैन थियो । प्रस्ताव त पक्कै पनि जान्थ्यो होला । तर, त्यो अवस्था रहेन ।

यो फिल्ममा हिरोको मात्र चर्चा छ । नायिकाद्वयको चर्चा छैन । नायिका अञ्जना बराइली र परीक्षा लिम्बू तीन हिरोको छायामा परेजस्तो निर्देशकलाई महसुस भएको छैन ?

चर्चा हामीले गर्ने होइन, मिडियाले गरेको हो । चर्चा किन भएन, हुनुपर्छ भन्ने पक्षमा पनि म छैन । तीन नायकको पनि हुनुपर्छ भन्ने पक्षमा म थिइनँ । मलाई चाहिँ यी दुई नायिकाको चर्चा भोलि कामले भए राम्रो हुन्छ भन्नेमा छु ।

तपाईंले अहिलेसम्म ६ फिल्म निर्माण गर्नुभयो । तीन फिल्ममा आर्यन सिग्देल हुनुहुन्छ । आर्यनका हिट फिल्म पनि तपाईंले निर्देशन गरेकै छन् । अब पाइपलाइनमा हरेका दुई फिल्ममा पनि आर्यनजी नै हुनुहुन्छ । यो संयोग मात्रै हो ?

अब यो मेरो नेचरले पनि होला । कलाकारलाई पात्र सुहाउँदैन भनेपछि त व्यवसायिक काम गर्ने कुरै भएन । मेरो जोसँग काम भएपछि पनि दोहोरिन्छ नै । सहज मानेको टिमसँग काम गर्ने बानीले होला आर्यन दोहोरिएको ।

आर्यन तपाईंको फिल्ममा दोहोरिनु व्यक्तिगत घनिष्टता भन्ने पनि छ नि ?

व्यक्तिगत सम्बन्ध त छ । हामी एकै ठाउँको पनि हो । हामी बाल्यकालदेखिको साथी पनि हौं । यसले पनि अलिकति भूमिका खेलेको छ । कलाकारको रुपमा पनि आर्यन आफूलाई प्रमाणित गरिसकेको नायक हो । दर्शकले रुचाएको सफल कलाकार पनि हो । त्यो कारणले सँगै छौं हामी ।

आर्यन र तपाईंको सहकार्य बीचमा छुट्यो । उता आर्यनको फिल्म पनि व्यवसायिक रुपमा कमजोर सावित भए । उहाँको कमब्याक पुजार सार्कीमा गराउन सक्नुहुन्छ ?

यो चलचित्र सफल भएको अवस्थामा टिमसँगै आर्यनलाई पनि करिअर अगाडि बढाउन टेवा पुग्छ ।

नायिकामा नम्रता श्रेष्ठसँग तपाईंको सहकार्य बढी छ । ६ चलचित्रमध्ये ४ वटामा लिनुभएको छ । यो पनि संयोग नै हो ?

उहाँसँग पहिलो काम गरेँ, यहाँसँग काम गर्न सहज भयो । काम गर्दा सोच पनि मिल्यो, यही कारणले सँगै भइयो ।

नम्रता पछिल्लो फिल्ममा देखिन छाड्नुभयो नि ?

हैन, मेरो प्रदर्शनमा आएको पछिल्लो फिल्म प्रकाशमा उहाँ पात्रको कारण अनुबन्ध हुनभएन । पछिल्लो समय उहाँ व्यक्तिगत विवादमा हुनुहुन्छ । सोही कारणले होला हामी सम्पर्कमै छैनौं । उहाँ काम गर्ने विचारमा हुनुहुन्छ कि छैन त्यो पनि थाहा छैन अहिले ।

व्यक्तिगत विवादमा नम्रताजी हुनुहुन्छ भन्नुभयो । अहिले उहाँसँग सम्बन्ध अहिले कस्तो छ ?

मेरो सम्पर्क नै भएको छैन । लामो समय भयो कुराकानी नै भएको छैन ।

तपाईं कुनै समय आर्यन र नम्रताको जोडीमा फिल्म बनाउनुहुन्थ्यो । अहिले फिल्म क्षेत्रमा दयाहाङ र मिरुनाको जोडी हिट छ । अब तपाईंको ध्यान नयाँ जोडीमा केन्द्रित भएको हो ? तपाईंको पाइप लाइनमा भएको फिल्म ‘गाउँ नै रमाइलो’मा त यही जोडीसँग काम गर्दै हुनुहुन्छ….

मैले आर्यन र नम्रता हिट जोडी भएका कारणले काम गरेको होइन । पात्रको मागअनुसार कलाकार छानेको हुँ । उहाँहरुसँग काम गर्दा सहज भएको कारण पनि निरन्तर सहकार्य गरियो । मिरुना र दयाहाङ हकमा पनि हिट भएर गर्न खोजेको होइन । पहिला त गरिनँ भने अहिले किन गर्नु ?

२०७९ माघमा तपाईंले निर्देशन गर्ने भनेको अनटाइटल फिल्ममा नायकमा गायक स्वप्न सुमन अनुबन्ध भएका थिए । दीक्षिता कार्की नायिका अनुबन्ध भएको कुरा थियो । तपाईं किन निर्देशनबाट बाहिरिएको भन्ने हल्ला छ नि ?

यो फिल्म अरुकै कम्पनीले बनाउँदै थियो । धेरै काम अगाडि बढेको पनि थियो । तर निर्माताले अहिले नगर्ने केही समयपछि गर्ने भनेर होल्ड गरेको अवस्था हो ।

फिल्म ‘२६ करोड’को निर्देशनबाट किन हात झिक्नुभयो ?

निर्माता रोहित अधिकारीसँग मेरो तीन–चार वर्षअघि एउटा ‘अनटाइटल’ फिल्ममा काम गर्ने सम्झौता भएको थियो । ‘२६ करोड’ शीर्षकमा फिल्म बनाउने दुवै सहमत भयौं । यो फिल्म अगाडि बढाउने प्रक्रियामा क्रिएटिभ पाटोमा मतभेद भएपछि म निर्देशनबाट हटेको हो ।

छक्कापञ्जा टिम पनि जोडिने कुरा थियो, यो फिल्ममा कुरा कहाँ पुगेको थियो ?

दीपकराज गिरी दाइसँग पनि धेरैपटक कुरा स्क्रिप्टका बारेमा छलफल भएको हो । उहाँहरुले चलचित्रमा काम गर्ने भनेर हस्ताक्षर चाहिँ गर्नुभएको थिएन । उहाँहरुले स्क्रिप्टकै कुरामा अडिग हुनुहुन्थ्यो । क्रिएटिभ कुरामा मतभेद भएपछि म चाहिँ बाहिरिँदा नै ठीक होला भन्ने निर्णय पुगेँ ।

निर्माता रोहित अधिकारीले अनमोल केसीलाई मुख्य भूमिका अनुबन्ध गरेर ‘फर्की फर्की’ फिल्म बनाउँदै हुनुहुन्छ । तपाईंले यो विवाद बदला ‘पुजार सार्की’लाई ‘फर्की–फर्की’सँग जुधाएर लिने मनस्थितिमा हुनुहुन्छ भन्ने छ नि ?

यो बाहिर भएको चर्चा हो । हामीले प्रदर्शन मिति तय गरेका छैनौं । यी बजारी हल्ला हुन्, पछि लाग्नुपर्ने तथ्य छैन । म सौहाद्रपूर्ण वातावरणमै त्यो चलचित्रबाट बाहिरिएकाले बदला लिनुपर्ने कुनै कारण छैन । त्यो चलचित्रको विषय मसँगै छ । उहाँ निर्माता नभए पनि म त्यो फिल्म आफैँ निर्माण गर्छु । पुजार सार्कीको स्क्रिप्ट विकास सुवेदीकै स्क्रिप्ट हो । म निस्किएपछि उहाँ पनि निस्कनुभयो ।

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ५ : ०१ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले