लगानी सम्मेलनमा सरकारी हेल्चेक्य्राइँ : तयारी नगर्दा पौने दुई खर्बका परियोजनामा सम्झौता असम्भव « Khabarhub

लगानी सम्मेलनमा सरकारी हेल्चेक्य्राइँ : तयारी नगर्दा पौने दुई खर्बका परियोजनामा सम्झौता असम्भव


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो लगानी सम्मेलनमा लगानीकर्तालाई आश्वस्त पार्नेगरी सरकारले पूर्वतयारी र वार्ता प्रकृया अघि बढाउन नसक्दा महत्वपूर्ण चार परियोजनामा कुनै सम्झौता नहुने भएको छ ।

सम्मेलन आयोजनाको तयारीदेखि नै सरकारले जोडतोडले प्रचार गरेका पौने दुई खर्बका चार परियोजनामा तत्काल कुनै सम्झौता नहुने भएको हो ।

प्रधानमन्त्री अध्यक्षताको लगानी बोर्ड कार्यालयले आवश्यक पूर्वतयारी नगर्दा चीन-नेपाल मैत्री ‍औद्योगिक पार्क, अप्पर मर्स्याङदी – २ जलविद्युत् आयोजना, २५० मेगावाटको ग्रीड कनेक्सन (२५० मेगावाट) र डाबर नेपालसँग सम्झौता नहुने भएको हो ।

यी आयोजना विकास गर्न सरकारले प्रवर्द्धकहरूसँग परियोजना विकास सम्झौता (पीडीए) र परियोजना लगानी सम्झौता (पीआइए) गर्ने जनाएको थियो ।

चीन-नेपाल मैत्री औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी-२ जलविद्युत आयोजना र ग्रीड कनेक्टेड सोलार आयोजनासँग पीडीए र डाबर नेपालसँग पीआइए हुने भनी लगानी बोर्डले प्रचार गरेको थियो । यी चार परियोजनाको कूल लागत करिब १ खर्ब ७५ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

‘तयारी पुगेन, त्यसैले पीडीए र पीआइए नहुने भयो,’ बोर्डका अधिकारीहरूले भनेका छन्‌, ‘तयारी नपुगेकाले हामीले नै सम्झौता नगर्ने निर्णय लिएका हौं, वार्ताकै चरणमा रहेका परियोजनामा देखाउनकै लागि त कसरी सम्झौता गर्नु र !’

लगानी बोर्डले यी चार परियोजना वार्ता चरणमा रहेको बताए पनि सरकारी वार्ता टोलीले सम्भावित लगानीकर्तासँग कुराकानी नै नथालेको बुझिएको छ ।

२५० मेगावाटको सोलार ग्रीड कनेक्सन जडान निम्ति हङकङको कम्पनीसँग हालसम्म सारभूत कुराकानी हुन सकेको छैन । २१ अर्ब तीन करोड रुपैयाँ लगानी गरी बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा १२५/१२५ मेगावाट सौर्यविद्युत उत्पादन गर्नेगरी सम्झौता हुने भनिएको थियो ।

क्षमता अभिवृद्धि र उत्पादन विविधकरणमा झण्डै ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने जनाएको डाबर नेपालसँग पनि सम्झौता गर्नेगरी ठोस कुराकानी हुन सकेको छैन ।

माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत (३२७ मेगावाट) आयोजना बनाउन तीन चिनियाँ कम्पनीले बुटवल पावर कम्पनीसँग साझेदारी गर्ने जनाएका थिए । यो आयोजनाको लागत करिब ८५ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ । पीडीए गर्न तयारी नपुगेको भन्दै सरकारले नेपाल आइसकेका लगानीकर्तालाई सम्झौता नै नगरी फर्काउँदैछ ।

सरकारले लगानी सम्मेलनमार्फत यी चार परियोजनामा तीन खर्ब एक अर्ब १८ करोड ८१ लाख रुपैयाँ वैदेशिक लगानी भित्र्याउने निश्चित भएको जनाएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ४६ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६