सिन्धुली- साउन ८ गते मध्यराति घर छाडेर हिँडेका हायू परिवार फेरि घर फर्कन चाहँदैनन् । १३ वर्षीया ठाइँली छोरीमाथि बुवाको आत्मा उत्रिएको त्रासले उनीहरूलाई घरबाट टाढा राखेको छ । हायू परिवार फेरि थातथलो फर्कन चाहँदैनन् ।
रातारात घर छाडेर हिँडेका हायू परिवार सम्पर्कविहीन भएको समाचारले सन्सनी फैलियो । अन्ततः उनीहरू सोह्रैजना पोखरामा सकुशल भेटिए । त्यसपछि सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठ उनीहरूलाई लिन आफैँ त्यहाँ पुगे । गाउँ फर्काउन उनले हरप्रयास गरेर फकाए ।
‘आजै (मङ्गलबार) बिहान ७ बजे गाउँ पुग्यौँ । तर उनीहरू घरमा आत्मा भड्किरहेको भन्दै प्रवेश गर्न मानेनन्,’ खबरहबसँग वडाध्यक्ष श्रेष्ठले भने, ‘छोरी बेला–बेलामा काँप्ने रहिछन् । धामीझाँक्रीले बुवाको आत्मा उत्रिएको भन्दिएका रहेछन् ।’
कुनै हालतमा उनीहरू पुरानो घरमा बस्न चाहँदैनन् । त्यही घरमा बस्न बाध्य पार्ने हो भने फेरि गाउँ छाड्ने हायू परिवारले अड्डी कसेका छन् । वडाध्यक्ष श्रेष्ठले आफ्नै खाली घरमा लगेर बस्ने चाँजोपाँजो मिलाइ दिए ।
‘आत्माको डर मात्रै नभएर ठूलो परिवारमा बेमेलको अवस्था पनि छ’, वडाध्यक्ष श्रेष्ठले भने, ’एक छोरी-ज्वाइँ त्यही घरमा बस्ने रहेछन् । खास थातथलो छोड्ने योजना ज्वाँइको देखिन्छ।’
उनीहरूको घर जङ्गलको बीचमा पर्छ । त्यो घर भएको जग्गा पनि ऐलानी हो । हायू परिवारमा बुवाको मृत्यु भएको चार वर्ष बितिसक्यो । घरमा आत्माले बढी तर्साउने र बिरामी भइरहने गरेको भन्दै उनीहरू घर फर्किन मानेका छैनन् । वडाध्यक्ष श्रेष्ठले उनीहरूलाई वडा नम्बर ६ स्थित सुँगुरेको आफ्नै घरमा राखेका छन् । त्यो घर ठूलो परिवार बस्न मिल्ने फराकिलो छ ।
उनीहरूको नाममा रहेको चार रोपनी जग्गामा पनि भिरपाखा मात्रै छ । घरभन्दा मुन्तिर अर्कैको नम्बरी जग्गा भएकाले हायू परिवार त्यहाँ बस्न नमानेको देखिन्छ ।
घर छाड्नुको कारण आत्माको डर मात्रै नभएर ऋणबाट मुक्त हुन पनि उनीहरूले यो उपाय अपनाएको वडाध्यक्ष श्रेष्ठको भनाइ ।
‘ज्वाँइको घर पोखरा रहेछ । उनैले उतै बसौँ भनेर फकाएर लगेको आशङ्का गरेका छौँ । ऋणबाट मुक्त हुने उपाय सुल्झाउने उनै ‘बदमास’ ज्वाँइ हुन् भन्ने शङ्का छ’, वडाध्यक्ष श्रेष्ठले खबरहबसँग भने ।

स्थानीय तहले हायू परिवारको व्यक्तिगत ऋण तिर्दिन सक्दैन । पालिकाले व्यक्ति र परिवारको ऋण तिर्दै हिँड्न नसक्ने वडाध्यक्ष श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘यहीको जनताको करले व्यक्तिको ऋण तिर्ने हो भने भोलि अर्को परिवार ऋण देखाउँदै आउला । तर हामी जनप्रतिनिधि मात्रै हौइनौँ । उनीहरूका छिमेकी र गाउँले पनि हौँ । हाम्रो दायित्वअन्तर्गत कोष खडा गरेर केही प्रतिशत तिर्दिने तयारीमा लागेका छौँ ।’
वडाध्यक्ष श्रेष्ठका अनुसार हायू परिवार अहिले लथालिङ्ग जस्तै छ । परिवारभित्र सम्बन्ध पनि सौहार्द देखिँदैन । एकजना बुहारी विदेशमा छिन् । उनी विदेश जाँदा लागेको ऋण आफैँ तिर्दैछिन् । घरमा अरुले चलाएको ऋण बढ्दै गएको देखिन्छ । परिवारको सङ्ख्या पनि धेरै ठूलो छ ।
वडाले के गर्ने भन्ने ठोस निर्णय अहिलेसम्म गरेको छैन । तर हायू परिवारको व्यवस्थापनका लागि केही रोपनी जग्गा दिएर त्यसमै घर बनाइदिने योजना स्थानीयबासी र वडाले बनाएका छन् ।
लोपोन्मुख जातिअन्तर्ग पर्ने भएकाले घर छोड्नु अगाडि साउन ६ गते हायू परिवारले सामाजिक सुरक्षाभत्ता बुझेको थियो । त्यसपछि साउन ९ गते उनीहरूले वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्तासमेत नवीकरण गराएका थिए। उनीहरूले गोलञ्जोरस्थित हिमालयन बैङ्कबाट प्रतिव्यक्ति तीन हजार नौ सय ९० रुपैयाँका दरले १६ जनाको एक लाख ९१ हजार ५२० रुपैयाँ तीन महिनाको भत्ता बुझेका थिए ।
सामाजिक सुरक्षा भत्ता बुझेर बङ्गुर काटेका उनीहरूल घरमै भत्तेर गरेको भेटिएको थियो । उक्त बंगुरको केही काँचो मासु घरमै छाडेर उनीहरू ईभी रिजर्भ गरी पोखरातिर लागेका थिए । गोलाञ्जोरको वडा नम्बर–६ मा हायूका ३० घरपरिवारमा २४० जना बसोबास गर्छन् । यो समुदायको शैक्षिकस्तर मध्यम र आर्थिक अवस्था कमजोर छ ।

हायू जाति ?
हायू जातजातिको मुख्य बसोबास रामेछाप जिल्लाको सुकाजोरमा पर्ने मुराजोर भन्ने ठाउँमा छ । उनीहरू एउटा बाजा बोकेर समूहमा यात्रा गर्ने क्रममा रामेछापको सुगाजोर आइपुग्दा आफूले बोकेको बाजा अकस्मात् बजेकाले देवताहरूको सङ्केत ठान्दै त्यही स्थानमा बसोबास गर्न थालेका हुन् ।
हायू किराँत समुदायभित्र पर्दछ । हायूहरूको शारीरिक बनावट, मध्यम कद, कालो कपाल भएको ‘मङ्गोलियन नश्ल’ जस्तै देखिन्छ । हायूहरू सोझा देखिन्छन् । हायूहरूको थर अनौठो भएका कारण अवसर गुमाउनुपर्ने बाध्यता छ । पढेलेखेकाले जागिर खान पनि थर परिवर्तन गरेर निजामती सेवामा प्रवेश गरेका छन् ।
मान्यताअनुसार सुरेल, सुनुवार, राई, लिम्बू र हायू एउटै सन्तान हुन् । पाँच भाइमध्ये कान्छोको सन्तान हायू मानिन्छ । यिनीहरूले दोम्की (ढोल), ज्याम्की (झ्याम्टा) र घण्टा आदि लोकबाजाहरू प्रयोग गर्दछन् ।
यिनीहरू सिन्धुली र रामेछापका सुनकोशी नदीको किनार क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख आदिवासी हुन् । नेपालमा यो जातिको जनसङ्ख्या जम्मा दुई हजार नौ सय २५ छ । जसमध्ये हायू भाषा बोल्नेको सङ्ख्या १ हजार पाँच सय २० मात्रै रहेको छ ।
प्रतिक्रिया