काठमाडौँ – सोमबार र मङ्गलबार चर्किएको जेन-जी आन्दोलन क्रममा देशभर सार्वजनिक संरचनामा दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको आकलन गरिएको छ । ती संरचनाभित्र रहेका अमूल्य ऐतिहासिक दस्तावेज र लिखत पनि जलेर खरानी भएको छ ।
शहरी विकास मन्त्रालय स्रोतका अनुसार, दुई खर्ब रुपैयाँभन्दा बढी लागतका संरचनामा क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ ।
‘एउटै संरचना बनाउन अर्बौँ रुपैयाँ खर्च लाग्ने सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतजस्ता महत्वपूर्ण संरचनामा आगजनी हुँदा जलेर ध्वस्त भएको छ । आगलागीबाट जलेका अधिकांश सार्वजनिक संरचनामा अब भूकम्पमा जस्तो रेट्रोफिट गरेर बस्न सकिँदैन’, मन्त्रालय स्रोतले भन्यो, ‘देशभर जलाइएका सार्वजनिक संरचनाको मोटामोटी हिसाब गर्दा अब ती संरचना खडा गर्न दुई खर्ब रुपैयाँभन्दा बढी लाग्ने प्रारम्भिक अनुमान गरेका छौँ ।’
यो अनुमानित हिसाब भवनको मात्रै भएको, तर भवनभित्र कार्यालय व्यवस्थापन गर्न थप अर्बौँ रुपैयाँ खर्च हुने अनुमान अधिकारीहरूले गरेका छन् ।
‘प्रदेशका संरचना समेत जलाइएका छन्, प्रदेश सभा भवनदेखि मुख्यमन्त्री कार्यालय र अरू दर्जनौँ महत्वपूर्ण निकायका कार्यालय खरानी भएको छ’, मन्त्रालयका एक इञ्जिनियरले भने, ‘स्थानीय तहहरूमा पनि हालत उस्तै छ, दर्जनौँ कारागारदेखि प्रहरी कार्यालय, मालपोतदेखि वडा कार्यालयका भवनहरू बाँकी छैनन् । ती संरचना यथावत् हालतमा उभ्याउन त सकिन्छ, तर कहिले, कति लागत र कुन स्रोतमा बनाउने ? सम्झँदा अत्यास लागिरहेको छ ।’

सार्वजनिक भौतिक संरचनामा जेन-जी आन्दोलनकारीले काठमाडौँ उपत्यकाभित्र बढी क्षति पुर्याएका छन् । पोखरा, इटहरी, जनकपुरधाम, धनगढी, विराटनगर लगायतमा रहेका दर्जनौँ सरकारी कार्यालयमा पनि अराजक समूहले आगजनी गरेको छ ।
मन्त्रालयका अधिकारीहरूका अनुसार, तत्काललाई सार्वजनिक संरचनाको क्षतिबारे प्रारम्भिक आकलन गरिएपनि सामुदायिक र नीति संरचनामा गरिएको आगजनीबाट पुगेको क्षतिबारे एकीन गर्नसक्ने अवस्था छैन ।
आन्दोलनकारी भन्दै जेन-जीको प्रदर्शनमा मङ्गलबार घुसेको अराजक जत्थाले नेताका निवास, व्यापारिक कम्प्लेक्स, पर्यटकीय पूर्वाधार, अटोमोबाइल सोरूम, सञ्चारमाध्यमका कार्यालय र सामुदायिक संरचना लगायतमा पनि तोडफोड गर्दै आगो झोसेको थियो । आगजनी गरिएका अधिकांश संरचना जलेर खरानी भएका छन् ।
सोमबार आयोजित प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा सोही दिन १९ जनाको ज्यान गएपछि मङ्गलबार आयोजित प्रदर्शन अराजक बनेको थियो । प्रदर्शनको मौका छोपी छिरेका विभिन्न अराजक समूहले बिहानैदेखि सार्वजनिक र नीति संरचनामा आगो झोस्न थालेको थियो ।
यतिखेर देशका प्रमुख तीन अङ्गकै सङ्घीय कार्यालय सेवा दिन नसक्ने अवस्थामा छन् । सर्वोच्च अदालतले टेन्ट टाँगेर सेवा दिन प्रयास गरिरहेको छ । कार्यपालिकाको प्रमुख कार्यालय सिंहदरबार भित्रका अधिकांश कार्यालयमा आगजनी भएको छ ।
मन्त्रालयमा हाजिर भए पनि कार्यकक्ष समेत जलाइएका कारण अधिकांश कर्मचारीले कार्यसम्पादन गर्नसक्ने अवस्था छैन । अन्तरिम सरकार गठन निम्ति भन्दै जङ्गी अड्डामा सेनासँग वार्तामा बसिरहेको भनिएको जेन-जी समूहले सरकार गठन गरिहाले मन्त्रिपरिषद् बैठक बस्ने ठाउँसमेत बाँकी छैन ।
नयाँ बानेश्वरस्थित संसद् भवनलाई जेन-जी प्रदर्शनकारीले बाँकी राखेका छैनन् । संसद् विघटन नभइसकेकाले स्थिति साम्य भएपछि बैठक राख्न त्यहाँ सम्भव छैन । जेन-जी समूहले भने झैँ केही समयभित्रै नयाँ चुनाव भइहाले चुनिएर आउने जनप्रतिनिधिले संसदीय कार्यसम्पादन गर्न उपयुक्त ठाउँ नपाउने अवस्था छ ।
प्रतिक्रिया